बर्दिया बाँसगढीकी पूजा परियार काखमा डेढ वर्षको बच्चा च्यापेर कैलालीको त्रिनगर नाका हुँदै भारत जानेहरूको लाइनमा उभिएकी थिइन्।
आधा दिन चर्को घाममा उभिएकी उनी दुबै देशका सुरक्षाकर्मीले मागेका कागज पत्र देखाएर भारत पसिन्।
देशमा रोजगारी नभएपछि भारत जानु परेको उनले बताइन्।
‘नेपालमै रोजगारी पाएको भए किन बच्चा बोकेर भारत जानुपर्थ्यो र,’ उनले भनिन्। परिवार, देश छोडेर अर्काको ठाउँमा जानुपर्दा उनलाई नराम्रो लागेको छ।
‘कोरोनाको डर त लाग्छ तर के गर्ने रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि जानु पर्ने आफ्नै पीडा हुन्छ,’ उनले भनिन्।
गएको फागुनमा भारतबाट गाउँ फर्किएका कैलालीको भजनी नगरपालिका-५ का दीपबहादुर बुढा पनि त्यही दिन ज्वेलरी दोकानमा काम गर्नका लागि भारत गए।
११ वर्षदेखि भारतमै काम गर्ने गरेका उनी वर्षमा एक-दुई पटक चाडबाड पारेर परिवारसँग भेट्न आउने गरेका छन्।
उनी भारत नगए परिवारमा के खाने भन्ने समस्या पर्छ।
होलीमा परिवार भेट्न आएका उनी लकडाउन भएपछि पाँच महिना घरमै बसे।
महामारीका बेला उनलाई भारत जान मन थिएन। परिवारले पनि अहिले नजान भन्थे।
यहाँ उनले आर्थिक उपार्जन गर्ने अरू बाटो देखेनन्।
‘घरको समस्या त्यस्तै छ। पहिल्यैदेखि भारत गएरै गुजारा चलेको छ। त्यसैले, उतै जान लागें,’ उनले भने।
उनले घरमा खेतीपाती गर्न जमिन नभएको बताए। केही वर्षअघि ऋण गरेर घर बनाएका छन्।
‘संस्थाहरूको कर्जा, खर्चपानी जुटाउन आम्दानी छैन। त्यसैले भारत जानैपर्यो,’ उनले भने।
संस्थाबाट ऋणको ब्याज माग्न आइरहन्छन्। ऋण तिर्न र परिवारको खर्च पनि नचल्ने भएपछि महामारीकै बीच घर छोड्नै पर्ने बाध्यता आइलागेको उनले सुनाए।
‘यता पनि मर्नु छ, उता पनि मर्नु छ, नगई त नहुने,’ उनले भने।
उनको गाउँका चार-पाँच जना अरू पनि कमाउनका लागि उनीसँगै भारत गएका छन्।
यस्तै, बर्दियाका कुवँरसिंह थारू स्याउ टिप्ने काम गर्न भारतको सिम्ला गए।
घर चलाउनै समस्यामा परेका उनलाई यतिका दिनसम्म कामै नपाइएपछि महामारी फैलिएकै बेला खर्चपानीको जोहो गर्न भारत जानुपर्ने बाध्यता पर्यो।
‘आर्थिक अवस्था कमजोर छ, पैसासैसा छैन त्यसैले भारत जानैपर्यो,’ उनले भने।
बीचमा उनले नेपालगन्जको एक इँटाभट्टामा काम गर्न सुरू गरेका थिए।
अहिले जान-आउन नमिल्ने भएकाले त्यो पनि छुट्यो। नेपालमा अरू काम नपाएकाले उनी भारत जानु परेको उनी बताउँछन्।
लम्कीचुहा–७ चाकावाडीका रमेश टमट्टा पनि महामारी भए पनि परिवार पाल्न भनेर कमाइ गर्न भारत गए।
‘यहाँ रोजगार छैन। सरकारले काम दिन सक्दैन भनेर हामी २५ जना जाँदैछौं,’ उनले भने।
सिम्लाका साहूसँग टेलिफोनमा कुरा गरेर उनीहरू स्याउ टिप्ने, गोडमेल गर्ने काम गर्न गएका हुन्।
‘मलाई कसैले रोजगार दिए अहिले यहीँबाट फर्किन्थें,’ उनले भने, ‘रोजगार छ भन्न सजिलो छ तर कहाँ छ काम देखाउनुस्!’
भदौ महिनाको १८ गतेसम्म त्रिनगर नाका हुँदै दुई हजार चार सय नेपाली रोजगारीकै लागि भारत गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
परिवारकै पेट पाल्नका लागी भारत जाने क्रम जारी छ।
कोरोनाले शैक्षिक संस्था बन्द भएकोले १४-१५ वर्ष उमेरका कतिपय बालबालिकाहरू समेत अभिभावकसँग भारत गइरहेका छन्।
स्वदेशमा रोजगारीका अवसर नभएकोले जानु परेको उनीहरूले बताउने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
नेपालबाट जानेहरू या त भारतीय नागरिक हुनु पर्ने कि त भारतबाट काम गर्न साहूले सिफारिस गरी डाकेको हुनुपर्ने हुन्छ।
एक जना भारतका सीमा सुरक्षा अधिकारीले भारतमा रोजगार दिनेवालाले आफ्नो कामदार हो भनी लिखित रूपमा सरकारी निकायलाई दिएको नामका आधारमा नेपालीलाई प्रवेश गराइने गरिएको बताए।
चैतयता कोरोना महामारी फैलिएपछि भारतमा कमाउन गएका दुई लाख ७० हजार नेपाली स्वदेश फर्किएका थिए।
उनीहरूमध्ये कैयौंले कोरोनाको त्रासले काम छुटेपछिको दु:ख सम्झेर अब फेरि भारत नजाने अडान पनि लिएका थिए।
‘कोरोनासँग डराएर देश सम्झेर फर्कियौं, अब भोकै बस्नुपर्ने अवस्था आएपछि फेरि देश छोड्दैछौं,’ टीकापुर नगरपालिका-१ की पार्वती विकले भनिन्।
भारतबाट कमाएर ल्याइएको पनि सकिएपछि फेरि उतै जानुपरेको उनले भनिन्।
‘सुरू-सुरूमा अलिअलि बचाएर ल्याएको पैसाले घरपरिवारमा समस्या भएन। त्यो पैसा सक्किएपछि कमाउने आधार भेटिएन,’ उनले भनिन्।
भारत जाने लाइनमा लागेका अधिकांशको भनाइ ‘परिवार पाल्ने आधार नपाएपछि महामारीमा देश छोड्नु परेको,’ भन्ने छ।
यसरी भारत जानेहरूमा पुरुष मात्र नभई महिला पनि उतिनै छन्। कतिपय त स–परिवार नै भारत जान थालेका छन्।
कैलालीको टिकापुरकी विष्णा विक पनि परिवारकै घर खर्च चलाउने आधार जुटाउन भारत गएकी छन्। कोरोनापछि देशमै रमाउने सोचेर फर्किएकी उनी फेरि मजदुरी गर्न भारत नै जानु पर्यो।