सुनसरीको बर्जु गाँउपालिकाकी ४५ वर्षीया कौशिला मेहता केही दिन अस्पताल बसेपछि सोमबार घर फर्किएकी छिन।
मंसिरमा मिर्गौलाले काम गर्न छोडेपछि अस्पताल धाउन थालेकी उनी समयमा अस्पताल पुग्न नसकेर तीन दिनअघि सिकिस्त भइन्। आइतबार कोशी अस्पताल आइपुगिन्।
बिरामी भएदेखि नै अनेक समस्या झेल्दै आएकी कौशिला हरेक १५ दिनमा डायलोसिसको लागि विराटनगरको कोशी अस्पताल पुग्थिन्।
सुरूसुरूमा उनी डायलासिसको लागि अस्पताल जाँदा अटो चढथिन्।
घरबाट अस्पताल पुग्न एकतर्फी ५ सय भाडा लाग्थ्यो। अर्काको खेतमा बटैया र मजदुरी गर्ने उनका श्रीमानले त्यो खर्चको जोहो जेनेतेन गरेकै थिए।
गत चैतमा लकडाउन भयो। लकडाउनयता उनले सहजै काम पाउन सकेका छैनन्।
अटो चढ्ने पैसा नभएपछि ५० वर्षका लक्ष्मण मेहता दुई घन्टा साइकल चलाएर श्रीमतीलाई अस्पताल पुर्याउँछन्।
'पैसा हुदाँ त अटोमै अस्पताल पुर्याएँ, अब पैसा नभए पनि अस्पताल आउनै पर्यो। ६ महिनादेखि यसरी नै अस्पताल ल्याउँछु। तर अस्ति समयमा पुग्न सकेनौं,' मेहताले सेतोपाटीसँग भने।
गएको शुक्रबार अस्पतालमा कौशिलाको डायलासिसको पालो थियो।
१० बजे अस्पताल पुग्ने गरी उनीहरू समयमै घरबाट निस्केका थिए। तर बाटोमा साइकलको चेन टुट्यो। लकडाउनका कारण साइकल मर्मत गर्ने कुनै पसल खुलेका थिएनन्। दुबै जना बाटोमा निकैबेर अलमलिए।
'केही सीप नलागेपछि नजिकै एउटा ठेला पाएँ, त्यसैमा उनलाई अस्पताल पुर्याएँ। तर अस्पतालले हाम्रो पालोको समय सकिएको भनिदियो,' लक्ष्मणले भने।
अस्पतालमा भनसुन गर्न केहीबेर श्रीमतीलाई अस्पतालबाहिर राखेर उनले यताउता गरे। एउटा कोठाबाट अर्को, अर्कोबाट अर्को। जुन कोठाका डाक्टर-कर्मचारीले पनि उनलाई पन्छाइरहे। कसैले उनको कुरा सुनेन। त्यसपछि उनी श्रीमतीलाई ल्याएर जेनतेन घर फर्किए।
डायलासिस नगरी घर फर्किएकोले अर्को दिनदेखि नै कौशिलालाई समस्या बढ्यो।
आइतबार फेरि लक्ष्मणले कौशिलालाई साइकलमै अस्पताल पुर्याए।
अस्पतालले उनको डायलासिसको व्यवस्था त मिलायो तर रगतको चढाउनु पर्ने भन्यो।
रगतको जोहो गर्न लक्ष्मणलाइ फेरि सकस पर्यो। निकै कसरत पछि नोवेल अस्पतालमा उनले रगत पाए। रगतको बन्दोवस्त भएपछि कौशिलाको राति ८ बजे डायलासिस भयो।
'समयमा अस्पताल पुग्न नसकेर डायलासिस नभएपछि मरिन्छ कि सोचेको थिएँ। तर बाँचेर घर फर्किएँ,' कौशिलाले खुसी हुँदै भनिन्।
उनलाई १५ दिनपछि फेरि अस्पताल बोलाइएको छ।
सामान्य समयमा समेत डायलासिस सेवा लिन मिर्गौला बिरामीलाई सहज छैन। अझ लकडाउनको कारण यातायातसमेत बन्द हुँदा सास्ती थपिएको छ।
पहिलेपहिले समस्या पर्दा ऋण लिएर पनि उपचार गरेको बताउने लक्ष्मण, कमाउने बाटो बन्द भएकोमा दु:खी छन्।
'अब सिकिस्त भइन् भने त पैसाकै बन्दोबस्त गर्न नसकेर उनलाई बचाउन सक्दिनँ होला,' लक्ष्मणले भने।
लक्ष्मण र कौशिलाले घर बसाएको धेरै वर्ष बितिसक्यो। कौशिला घरको काम गर्थिन्, लक्ष्मण बटैया जग्गामा खेती गर्थे। घरको काम सकेर कौशिला पनि सघाउन खेत जान्थिन्। घरमा गाइवस्तु र बाख्रा पनि पाल्थिन्।
घर खेत वस्तुभाउसँगै कौशिलाले तीन छोराछोरी जन्माइन्, हुर्काइन्।
उनका जेठा छोरा अलिक ठूला भएपछि घरहरू बनाउने काम गर्न हिँडे। छोरीको बिहे भयो। कान्छो छोरा भने १० कक्षामा पढ्थे। जब आमा बिरामी भइन् उनको पढाइ पनि छुट्यो।
'ठूलो छोरा र म काम गर्न निस्किनुपर्थ्यो, बिरामी आमाको ख्याल गर्ने घर र वस्तुभाउ हेर्नु पर्ने भएपछि कान्छो छोराको स्कुल छुट्यो,' लक्ष्मणले भने, 'त्यसमाथि यो लकडाउन।'
कौशिला बिरामी भएपछि लक्ष्मणलाई खेती लगाउने बेला हात बटाउने खासै कोही छैनन्। पहिले भए उनलाई खेतसम्मै खाजा बोकेर आउँथिन्।
'अचेल त कामको बेला दिनभरि बिरामी श्रीमतीलाई छोडेर हिँड्नुपर्छ। खेतमा खाजा बनाएर ल्याइदिने पनि कोही हुन्न,' उनले भने।
कहिले मजदुरी त कहिले खेती किसानी गरेर थोरैमोरै जोगाएको पैसा पनि श्रीमतीको उपचारमा खर्च भएको छ। तै श्रीमतीलाई सन्चो नभएको देखेर आत्तिन थालेको लक्ष्मण बताउँछन्।
'चार लाख त सकियो। ऋणपान पनि गर्नुपर्यो। त्यो त केही थिएन श्रीमतीलाई निको भइदिए हुन्थ्यो,' उनले भने,'तर उपचार महंगो छ त्यसमाथि लकडाउन! मैले श्रीमतीलाई बचाउन सक्दिनँ कि भनेर आत्तिइरहन्छु।'