महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार बिहान भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो।
वीरगन्जबाट आएको ना ३ ख ९८९ नम्बरको कन्टेनर चेकिङ गर्ने क्रममा प्रहरीले ४० देखि ४५ लाख रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको हो।
निषेधाज्ञाको समयमा नेपाल सरकारले खाद्यान्नका गाडी आवतजावत गर्नको लागि कुनै रोक लगाएको छैन। त्यसकै मौका छोपी लागुऔषध कारोबारीले खाद्यान्न बोक्ने कन्टेनरको प्रयोग गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।
‘अहिले लकडाउन तथा निषेधाज्ञाको बेलामा खाद्यान्नका सामाग्रीलाई छुट दिइएको छ,’ उनले भने, ‘त्यही भएर उनीहरूले कन्टेनरमा हर्लिक्स बोके भने अगाडि आफूहरु बस्ने क्याबिनमुनि लागुऔषध लुकाएका रहेछन्।’
प्रहरीले विशेष सूचनाका आधारमा थानकोट नाकाबाट प्रवेश गर्ने वित्तिकै उनीहरूको पिछा गर्न थालेको थियो। एसएसपी थापाका अनुसार पक्राउ परेका सिन्धुपाल्चोकका ३६ वर्षीय चालक विष्णु प्रधान र ३७ वर्षीय डम्बरबहादुर प्रधान सल्लाघारीमा बस्ने गर्थे।
सल्लाघारीमै पुगेर उनीहरूले कन्टेनर रोकेपछि प्रहरीले खोजतलासी गरेको हो। ‘खोजतलासी गर्दा क्याबिनको सिटमुनिबाट जेब्रा झोला फेला पर्यो र त्यसमा लागू औषध थियो,’ एसएसपी थापाले भने, ‘त्यसपछि उनीहरू दुबैलाई पक्राउ गरी सोधपुछ गर्यौं।’
प्रहरीले उनीहरुसँग सोधपुछपछि लागुऔषधका मुख्य डिलर ३२ वर्षीय शंकर खड्कालाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले डाईजापाम २ हजार ९ सय ५० एम्पुल, तीन हजार एम्पुल नाईट्रोभेट, २ हजार ९ सय ५० एम्पुल प्रोमाथाजिन, १५ सय
एम्पुल बुप्रिनोरफाइन र १४ सय एम्पुल नुफिन बरामद गरेको हो।
उनीहरूबाट बरामद भएको लागुऔषध ४५ लाख बराबरको भएको एसएसपी थापाले बताए। उनीहरूले लागुऔषध बेचबिखन गर्न पार्टनरसिपमा काम गर्न थालेका थिए।
‘तीनै जना पार्टनरहरू हुन्। उनीहरूले ल्याएर कोठामा राख्ने अनि चाहिने जति बेच्ने गरेका रहेछन्’ एसएसपी थापाले भने।
यो अपरेशनमा महानगरीय प्रहरी परिसर, भक्तपुरले पनि सहयोग गरेको थियो। अहिले पक्राउ परेका तीनै जनालाई प्रहरीले परिसरमा बुझाएको छ।