कोरोना भाइरस संक्रमणका कारण पोखरामा मंगलबार दिउँसो एक जना वृद्धाको मृत्यु भएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् ७३ वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
पोखरा १० की वृद्धा बिरामी भएपछि पोखराकै मेडिप्लस अस्पतालमा भर्ना भएकी थिइन्।
उनलाई कोरोना संक्रमण भएको आशंकामा अस्पतालका चिकित्सकले स्वाब परीक्षण गर्न पठाएको थियो।
कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए।
योसहित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ जना पुगेको छ भने गण्डकी प्रदेशमा योसहित २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।