पोखराका निर्माण व्यवसायी राजु रानाभाटलाई गत साता काठमाडौं जानुपर्ने भयो।
काठमाडौं जान पिसिआर परीक्षणको रिपोर्ट चाहिने भएपछि उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर स्वाब दिए। भोलिपल्ट रिपोर्ट नेगेटिभ आयो, काठमाडौं गए।
आफुखुसी पिसिआर परीक्षण गर्न चाहनेलाई अस्पतालले शुल्क लिने गरेको छ। रानाभाटले गत साता पिसिआर परीक्षण गर्दा ४ हजार ४ सय रुपैयाँ तिरेको बताए। ‘काठमाडौं आउन त पिसिआर रिपोर्ट चाहिने रहेछ,’ उनले भने, ‘अब आउँदैपिच्छे पिसिआर परिक्षण गर्नुपर्ने होला।’
सरकारले आफुखुसी पिसिआर परीक्षण गर्न चाहनेलाई शुल्क लिएर गर्ने निर्णय गरेपछि पोखरामा पनि शुल्क लिन थालिएको अस्पतालले जनाएको छ। सरकारले पठाएको पत्र अनुसार नै शुल्क लिएर स्वाब परीक्षण गरेको अस्पतालका प्रयोगशाला निर्देशक डा. मोनी सुवेदीले बताइन्।
आफुखुसी पिसिआर परिक्षण गर्न आउनेहरुको पनि केहीको रिपोर्ट भने पोजेटिभ आएको उनले बताइन्। रिपोर्ट पोजेटिभ आएका बिरामीलाई आइसोलेसनमा राख्ने र त्यस पछाडिको परीक्षण भने निशुल्क गरेको डा. सुवेदीले बताइन्।
पोखरामा साउन २५ गते मृत्यु भएका ६२ वर्षीय पुरुषले पनि शुल्क तिरेर आफुखुसी स्वाब परीक्षण गराएका थिए। रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि आफै अस्पताल पुगेका ती पुरुषलाई कोरोना देखिएपछि कोरोना उपचार केन्द्रमा उपचाररत रहँदा नै मृत्यु भएको थियो ।
सरकारको निर्णय अनुसार साउन १ गतेदेखि शुल्क तिरेर कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको प्रयोगशाला निर्देशक डा. सुवेदीले बताइन्।
शुरुमा स्वाब परीक्षण गर्दा सरकारले तोकेको दर अनुसार प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ लिएको उनले बताइन्। भदौ १७ गते सरकारले अर्को पत्र पठाउँदा कोरोना परीक्षण शुल्क घटाएर प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँ तोकेको उनले बताइन्।
साउन १ गतेदेखि हालसम्म यसरी शुल्क तिरेर ५०१ जनाले कोरोना परीक्षण गरिसकेको उनले बताइन्। कोरोना संक्रमण बढेसँगै परिक्षणको दबाब पनि बढेको उनको भनाई छ। शुल्क लिएर र निशुल्क गरी मंगलबार मात्र अस्पतालले ९० जनाको स्वाब संकलन गरेको छ।
विदेशबाट आउने मानिसको संख्या बढेको र कोरोना संक्रमण द्रुत गतिमा फैलिएकाले प्रयोगशालामा दबाब बढेको हो। यसका अलवा अस्पतालमा भर्ना हुन जाने बिरामीको पनि आवश्यकता अनुसार कोरोना परीक्षण गरिएको डा. सुवेदीले बताइन्।
गण्डकी प्रदेशमा अहिलेसम्म शुल्क लिएर र निशुल्क गरी ५२ हजार ५ सय ९३ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा ४९ हजार ९ सय ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ हजार ६ सय ६० जनाको रिपोर्ट पोजेटिभ छ।
संक्रमितमध्ये १ हजार ७ सय ९७ जना निको भएर घर फर्किएका छन्। कोरोनाकै कारण गण्डकीमा अहिलेसम्म १९ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।
उनका अनुसार चैत ११ यता गण्डकी प्रदेशमा भारतबाट १३ हजार ४ सय ३६ जना आएका छन् भने अन्य देशबाट ६ हजार ४ सय २ गरी १९ हजार ८ सय ३८ जना भित्रिएका छन्। गण्डकीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा अझै ५ सय ९४ जना रहेको निर्देशक डा. शर्माले बताए।