सरकारले नेपालमा कोरोना संक्रमण सुरू भएलगत्तै यसको नियन्त्रण र उपचारका लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता दिने निर्णय गरेको थियो।
उक्त निर्णयको कार्यावन्यन भने सरकारी अस्पतालमै भएको छैन। कुनै विकट ठाउँमा रहेको अस्पताल होइन राजधानी काठमाडौंको मुटुमै रहेको वीर अस्पतालका नर्सहरूले नै भत्ता पाएका छैनन्।
अस्पतालको कोभिड वार्डमा खटिएकी एक नर्सले सेतोपाटीसँग भनिन्, 'तीन महिना बढी आइसोलेसन वार्डमा खटिएँ तर जोखिम भत्ताको नाममा एक पैसा पाएको छैन।'
अस्पतालले आफ्ना कर्मचारीलाई साउनको आइरहेको तलब पनि रोक्का गरेको पाइएको छ। ती नर्स भन्छिन्, 'जोखिम भत्ता त परै जाओस्, आइरहेको तलब पनि साउनदेखि रोकिएको छ।'
अस्पतालले नियमित तलब पनि रोक्का गरिदिएपछि मानसिक तनाव झेल्नु परेको नर्सहरूको गुनासो छ। यसको मर्का भाडामा बस्ने र परिवारलाई समेत हेर्नुपर्ने नर्सहरूले खेपिरहेका छन्। कतिले परिवारलाई खर्च पठाउन पाएका छैनन्।
कोभिड वार्डमै खटिएकी अर्की नर्सले नियमित तलब पनि रोकिँदा आर्थिक समस्या परेको सुनाइन्। परिवारलाई समेत हेर्दै आएकी उनले सेतोपाटीसँग भनिन्, 'परिवारले स्वास्थ्यकर्मीहरूले भत्ता पायो रे भन्ने सुन्नुहुँदो रहेछ। अनि मलाई पनि फोन गरेर भत्ता पाइयो रे हो भनेर सोध्नुहुन्छ। आफूले भने यहाँ एक पैसा पाएको छैन।'
उनले यो बेला परिवारका सबै सदस्यको काम ठप्प हुने भएकाले नियमित तलब आउने स्वास्थ्यकर्मीहरूले अहिले परिवारलाई पनि हेर्नुपर्ने भएकाले भत्ता नपाउँदा समस्या हुने जनाइन्।
'यो बेला सबै जनाको काम ठप्प छ। नियमित काम भइरहेको भनेको हाम्रो मात्र छ। अब हाम्रो पनि नियमित तलब नआएपछि घरमा कसरी पैसा पठाउने?,' उनले दु:खेसो पोखिन्।
धेरै साथीहरूलाई यस्तो समस्या भएको उनले सुनाइन्। त्यसमा पनि अधिकांश भाडामा बस्ने साथीहरूमा यस्तो समस्या भएको उनी बताउँछिन्। कतिले त भाडाकै कारण घरबेटीको तनाव झेलिरहेको उल्लेख गर्दै उनले भनिन्, 'घरमा पैसा के पठाइदिने भन्ने तनाव हुन्छ। त्यसमाथि घरबेटीले अर्को तनाव दिइरहेका हुन्छन्। रोग सर्ने हो कि भन्ने तनाव अर्को तिर हुन्छ। यो सबै सम्झिँदा मानसिक तनाव भइरहेको हुन्छ।'
उनले गाउँपालिकाहरूमा काम गर्ने आफ्नो साथीहरूले भने भत्ता पाइरहेको सुनाइन्। 'साथीहरूले फोन गरेर भत्ता पाएको कुरा सुनाउँछन्। स्थानीय तहमा काम गर्ने उनीहरूले पाइसके तर केन्द्रमा काम गर्ने हामीले अहिलेसम्म पाएका छैनौं।'
अर्की एक नर्सले पनि तलब नियमित नआउँदा साथीहरूले दु:खेसो पोख्ने गरेको सुनाइन्। उनले भनिन्, 'म त परिवारसँगै बस्ने भएर तलब नआउँदा धेरै फरक पर्दैन। तर कति साथीहरू भाडा तिरेर बस्ने हुनुहुन्छ। कतिले परिवारलाई समेत हेर्नुपर्ने हुन्छ। कतिपय त घरमा पैसा पठाउन पाइएन भनेर दुःख पोख्नुहुन्छ।'
उनका अनुसार कतिपय नर्सले त आफू कोभिड वार्डमा काम गर्छु भनेर परिवारलाई भनेका पनि छैनन्। यसरी परिवारलाई ढाँटेर काममा खटिँदा पनि तलब र भत्ता नपाउँदा मन खिन्न भएको उनीहरू बताउँछन्।
'कतिको परिवारले त काम छोड्दिनु भन्नुहुन्छ तर पनि परिवारलाई ढाँटेर काम गरिरहनु भएको छ। अनि यसरी जोखिम मोलेर काम गर्दा पनि तलब र भत्ता नपाउँदा कस्तो हुन्छ?,' उनले प्रश्न गरिन्।
अहिले कोभिड-१९ संक्रमितको उपचारमा खटिएका नर्सहरू क्वारेन्टिनमा बस्दा पनि तलब र भत्ताकै कुरा गरेर बस्छन्। अस्पतालले १४ दिन कोभिड वार्डमा खटिएका नर्सहरूलाई १४ दिन होटल क्वारेन्टिनमा राख्दै आएको छ।
क्वारेन्टिनमै रहेकी एक नर्स भन्छिन्, 'हामीलाई एउटा होटलमा क्वारेन्टिनमा राखेको छ। साथीहरूसँग कुरा हुँदा पनि तलब र भत्ता पाइएन भनेरबारे नै हुन्छ।'
सरकारले कोभिड उपचार र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता दिने भनेपछि कतिपय नर्सहरू त सुविधा सम्झेर पनि कोभिड उपचारमा खटिन आएका थिए। सुरुमा काम गर्ने हौसला पनि आएको भन्दै एकजना नर्सले अहिले भने भत्ता नपाउँदा काम गर्ने हौसला पनि पहिल्यैको जस्तो नआएको सुनाइन्।
'हामीलाई पनि सुरूमा कोभिडमा खटिने भनेपछि डर थियो। त्यहाँ गएपछि सुविधा अलिक राम्रो हुन्छ र परिवारलाई पनि सहज हुन्छ भनेर जोखिम मोलेरै गइयो तर अहिले केही पाइएन,' उनले भनिन्।
कोभिड वार्डमा काम गर्दा समन्वयमा पनि एकदमै समस्या रहेको नर्सहरू बताउँछन्। कोभिड वार्डसँग समन्वय गर्ने कुरामा अन्य वार्डका स्वास्थ्यकर्मी वा कर्मचारीले असहज मान्ने गरेको उनीहरूको भोगाइ छ।
एक नर्सले भनिन्, 'कोभिड वार्ड भन्नेबित्तिकै अरू डिपार्टमेन्टका मान्छेहरू डराउनुहुन्छ। त्यसैले एउटा सानो कामको लागि पनि धेरैचोटी फोन गर्नुपर्छ। त्यसमथि तुरुन्तै हुने काम पनि ढिला गर्दिनुहुन्छ।'
यसरी तितो अनुभव र जोखिम मोलेर काम गर्दा पनि नियमित तलब र भत्ता नपाउँदा मानसिक तनाव हुने उनी बताउँछिन्।
'अब त झन् अस्पताल नै कोभिड अस्पताल बनाएको छ। जोखिम पनि बढी छ। हामी काम त गर्छौं नै तर भत्ता पो कहिले पाउने हो?,' उनले भनिन्।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले अस्पतालसँग पैसा नै नभएकाले भत्ता दिन नसकिएको बताए।
'सरकारबाटै पैसा आएको छैन। स्वास्थ्य मन्त्रालयले आज आउँछ भोलि आउँछ भन्दाभन्दै अहिलेसम्म आएको छैन,' उनले सतोपाटीसँग भने, 'हामीले कुराकानी गरिरहेका छौं। आउनेबित्तिकै वितरण गर्छौं।'
निर्देशक सेञ्चुरीले अघिल्लो आर्थिक वर्षको अलिकति रकम बाँकी रहेको भएपनि त्यसलाई पिपिईलगायत सुरक्षा सामग्री खरिद गर्न खर्च गरिएको जनाए। उनले साउन महिनाको नियमित तलब भने निकासामा केही समस्या भएको र अब केही दिनमै समाधान हुने बताए।