पोखराका निर्माण व्यवसायी राजु रानाभाट मुटुको नियमित चेकजाँचका लागि गत आइतबार काठमाडौं जानुपर्ने भयो। काठमाडौंमा निषेधाज्ञा थियो, उपत्यका प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य थियो। उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर स्वाब दिए। भोलिपल्ट रिपोर्ट नेगेटिभ आयो, आइतबार काठमाडौं गए।
मुटुको नियमित चेकजाँचको कागजात र पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र आफू काठमाडौं भित्रिन पाएका उनले बताए। पोखरामा पिसिआर परिक्षण गर्दा उनले ४ हजार ४ सय रुपैयाँ तिर्नुपरेको बताए।
‘काठमाडौं आउन पिसिआर रिपोर्ट चाहिने रहेछ,’ उनले भने, ‘अब आउँदैपिच्छे पिसिआर परिक्षण गर्नुपर्ने त होला।’
सरकारले आफुखुसी पिसिआर परिक्षण गर्न चाहनेलाई शुल्क लिएर परिक्षण गर्ने निर्णय गरेपछि पोखरामा पनि शुल्क लिन थालिएको अस्पतालले जनाएको छ। सरकारले पठाएको पत्र अनुसार नै शुल्क लिएर स्वाब परिक्षण गरेको अस्पतालको प्रयोगशाला निर्देशक डा. मोनी सुवेदीले बताइन्।
आफुखुसी पिसिआर परिक्षण गर्न आउनेहरूको पनि केहीको रिपोर्ट भने पोजेटिभ आएको उनले बताइन्। रिपोर्ट पोजेटिभ आएका बिरामीलाई आइसोलेसनमा राख्ने र त्यसपछाडिको परीक्षण भने नि:शुल्क गरेको डा. सुवेदीले बताइन्।
पोखरामा साउन २५ गते मृत्यु भएका ६२ वर्षीय पुरुषले पनि शुल्क तिरेर आफैं स्वाब परिक्षण गराएका थिए। रुघाखोकी र ज्वरोले ग्रस्त भएपछि आफैं अस्पताल पुगेका ती पुरुषलाई कोरोना देखिएपछि अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार भइररहँदा मृत्यु भएका थियो।
सरकारको निर्णय अनुसार साउन १ गतेदेखि शुल्क तिरेर कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको प्रयोगशाला निर्देशक डा. सुवेदीले बताइन्। सुरूमा स्वाब परीक्षण गर्दा सरकारले तोकेको दरअनुसार प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ लिएको उनले बताइन्।
भदौ १७ गते सरकारले अर्को पत्र पठाएर कोरोना परीक्षण शुल्क घटाएर ४ हजार ४ सय रुपैयाँ तोकेको उनले बताइन्।
साउन १ गतेदेखि हालसम्म यसरी शुल्क तिरेर ५०१ जनाले कोरोना परीक्षण गरिसकेको उनले जानकारी दिइन्। कोरोना संक्रमण बढेसँगै परीक्षणको दबाब पनि बढेको उनको भनाइ छ। शुल्क लिएर र नि:शुल्क गरी मंगलबार मात्र अस्पतालमा ९० जनाको स्वाब संकलन गरेको छ।
विदेशबाट आउने मानिसको संख्या बढेको र कोरोना संक्रमण द्रुत गतिमा फैलिएकाले प्रयोगशालामा दबाब बढेको हो। यसका अलवा अस्पतालमा भर्ना हुन जाने बिरामीको पनि आवश्यकता अनुसार कोरोना परीक्षण गरिएको डा. सुवेदीले बताइन्।
गण्डकी प्रदेशमा अहिलेसम्म शुल्क लिएर र नि:शुल्क गरी ५२ हजार ५ सय ९३ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा ४९ हजार ९ सय ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ हजार ६ सय ६० जनाको रिपोर्ट पोजेटिभ छ। संक्रमितमध्ये १ हजार ७ सय ९७ जना निको भएर घर फर्किएका छन्। कोरोनाकै कारण गण्डकीमा अहिलेसम्म १९ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बताए।
उनका अनुसार चैत ११ यता गण्डकी प्रदेशमा भारतबाट १३ हजार ४ सय ३६ जना आएका छन् भने अन्य देशबाट ६ हजार ४ सय २ गरी १९ हजार ८ सय ३८ जना भित्रिएका छन्। गण्डकीका विभिन्न स्थानमा अझै ५ सय ९४ जना क्वारेन्टिनमा रहेको निर्देशक डा. शर्माले बताए।