दाङकी ३० वर्षीया कविता चौधरी कोरोनाअघि घर सम्हाल्थिन्। दुई सन्तानकी आमा भएपछि घरमै भ्याइनभ्याइ हुन्थ्यो।
अहिले कोरोना र लकडाउनले उनलाई काठमाडौं उपत्यकामा मजदुर बनाएको छ। दाङबाट उनी मजदुरी गर्नै भनेर आफ्नी १२ वर्षकी छोरी र ७ वर्षीय छोरालाई एक्लै छाडेर आएकी छन्।
'छोराको हेरचाह छोरीले गर्छे। छोरीको छोराले,' उनी भन्छिन्।
कविताका श्रीमान पनि उनीसँगै काठमाडौं आएका छन्। उनीहरू दुवै ललितपुर, झम्सिखेलस्थित एक निर्माणाधीन भवनमा ज्याला मजदुरीको काम गर्छन्। ३४ वर्षीय मनिराम चौधरी पहिले पनि मजदुरी गर्थे। दुई वर्षअघि कतार गएका उनले त्यहाँ पनि मजदुरी नै गरे।
मनिराम विदेश हुँदा कविताले सोचेकी थिइन्- पैसा जम्मा गरी थोरै भए पनि जग्गा किन्ने र टहरो बनाइ बस्ने।
तर कम्पनीले मनिरामलाई पैसा दिएन। १८ महिना जसोतसो काम गरेर बचेखुचेको पैसाले गाउँका साहुको ऋण भने तिरे। कविताका अनुसार मनिरामले काम गरेको ठाउँबाट १ लाख ४५ हजार जति पैसा नपाएको कतार प्रहरीलाई पनि भने। तर उनलाई कतैबाट सहयोग मिलेन।
मनिराम रित्तै घर फर्किए। न कविताको पैसा जम्मा भयो, न सपना पूरा भयो।
'श्रीमान विदेश गए केही पैसा जोगाउन सकिन्छ होला भन्ने सोचेकी थिएँ। तर रित्तै भयो,' कविताले भनिन्, 'नेपाल फर्केपछि मजदुरी नै गर्न थाल्नुभयो।'
विदेशबाट फर्किँदा पनि परिवारमा पैसा कमाउने मनिराम मात्रै थिए। केही समय मजदुरीकै कमाइले परिवार जसोतसो धानियो। तर पछि मुश्किल भयो।
'छोराछोरीको पढाइ, खाना लगायत खर्च टार्न नसक्ने अवस्था आइसकेको थियो,' कविताले भनिन्।
त्यही बेला एकाएक कोरोना र लकडाउन आइपर्यो। कवितालाई लकडाउन के हो र किन भएको भन्ने समेत थाहा थिएन। उनले यस्ता शब्द पनि पहिलो पटक सुनेकी थिइन्। लकडाउनपछि मनिरामको काम फेरि रोकियो।
'के, किन रोकिएको हो भन्ने अत्तोपत्तो थिएन। भइरहेको काम सबै बन्द हुन थाल्यो,' कविताले सुनाइन्, 'काम पाउनै मुश्किल भएको थियो।'
त्यतिबेला सम्म उनीहरू दाङमै थिए। भोकैले मरिन्छ कि भन्ने समेत सोचे। एक छाक खानै मुश्किल भएपछि मनिरामले काठमाडौंमा चिनेका एक ठेकेदारलाई सम्पर्क गरे। ती ठेकेदारले दैनिक ज्यालादारी मजदुरीको ७ सय रूपैयाँ दिने वाचा गरे। काठमाडौं आउन गाडी पनि मिलाइदिए। लकडाउनबीच उनीहरू छोराछोरी छाडेर ३ हजार रूपैयाँ, नागरिकता र केही लुगाफाटो बोकेर आए।
कविता पहिले कहिल्यै काठमाडौं आएकी थिइनन्। बाटामा बीचबीचमा प्रहरी चेकिङ हुन्थ्यो। उनलाई अचम्म लाग्थ्यो।
'कोरोनाबारे मलाई खास थाहै छैन। मुखभरी पसिना बग्नेगरी मास्क लगायो भने यो अनौठो रोग लाग्दैन होला भन्ने बुझेकी छु,' उनी भन्छिन्।
उनीहरूलाई ठेकेदारले निर्माणाधीन भवनमै बस्ने र खाने व्यवस्था मिलाइदिए।
'म श्रीमानको विश्वासमा काठमाडौं आएकी हुँ। श्रीमानलाई कहाँ बस्ने हो भनेर सोध्दा ठेकेदारले नै मिलाउँछ भन्थे,' कविताले भनिन्, 'हामी बसेको भवनमा १५/१६ जना छन्। त्यसमध्ये म एक्लै महिला हुँ।'
उनी आएको पाँच दिनसम्म काम सुरू भएन। छैठौं दिन ठेकेदार आएर काम दिए, बिहान ७ बजेदेखि बालुवा चाल्ने र ओसार्ने। मनिराम भने प्लास्टर लगाउने काम गर्छन्।
'पहिलो दिन बालुवाको भारी बोकेकी थिएँ। धेरै तला चढ्दा र ओर्लिँदा रोटेपिङ खेलेजस्तै टाउको घुमाउँथ्यो,' उनले भनिन्, 'श्रीमानले गाह्रो भए नगर पनि भन्नु भएको थियो।'
उनको मन मान्दैन। छोराछोरीको झलझली याद आउँछ र काम गर्न थप ऊर्जा मिल्छ।
साँझ र बिहान उनको अर्को काम पनि हुन्छ- त्यहाँ काम गर्ने १५-१६ जनाका लागि उनैले खाना बनाउँछिन्। तर त्यसको थप पैसा भने पाउँदिनन्।
'म यता खाँदै गर्दा छोराछोरीको याद आउँछ,' उनले भनिन्, 'घरमा एउटा फोन छोडिदिएकी छु। बेलाबेला गरिरहन्छु।'
उनले त्यसैमा थपिन्, 'म यहाँबाट के खायौ भनेर सोध्छु। छोरी कहिले आउनु हुन्छ भनेर सोध्छिन्।'
हरेक पल्ट उनको उनको जवाफ एउटै हुन्छ- छिट्टै फर्किन्छु।
अहिले उनलाई छोराछोरी र घरको यादले होला, काठमाडौं मन पर्न छाडिसकेको छ। रात परेपछि भुँइमा पल्टाइएको फर्मामा 'प्लाइ वुड' राखेर त्यसमाथि एक सरो ओढ्ने ओछ्याएर पल्टिन्छन्।
दिनभर कामले थाके पनि निदाउन सकस हुने उनी सुनाउँछिन्। दुखाइ कम गर्न मल्हम लगाउँछिन्। भिटामिन कमी भएको छ, झोल दबाइ खाइरहेकै छिन्।
भन्छिन्, 'अरू सपना त मरिसके। अबको एउटै चाहना भनेको घरमा एक्लै भएका छोराछोरी भेट्नु हो। कोरोना सकियोस्, नसकियोस् तर मलाई उनीहरूसँगै दसैं मनाउनु छ।'