सप्तरीको महुली गाउँपालिका-६ मोहनपुरका नवीन सार्की अहिले बुवाको किरियामा छन्।
उच्च रक्तचापले भएको बिमारीका कारण उनका बुवाको मृत्यु भयो तर अस्पतालमा तिर्ने पैसा नभएपछि नवीनले तीन दिनसम्म शव उठाउन पाएनन्।
बल्लतल्त शव उठाएर उनले बुवाको दाहसंस्कार गरे। उनी किरिया बसेको तीन दिन पनि पुगेको थिएन, फार्मेसीबाट फोन आइसक्यो- तपाईंले हामीकहाँ रहेको उधारो कहिले तिर्ने?
त्यो फोन आएपछि नवीन र उनको परिवार बेचैन छन्।
उनका बुवा सनमन सार्कीको ६८ वर्षको उमेरमा भदौ १९ गते नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो।
नवीनले छ महिना अस्पतालमा बुवाको उपचार गराए। तर, उनी बाँचेनन्। सुकुम्बासी जग्गामा टहरो बनाएर बसेको सार्की परिवारलाई घरका अभिभावकको मृत्युसँगै ऋणको भार थपिएको छ। सामान्य ज्याला मजदुरी गर्ने नवीनले छ महिनादेखि काम गर्न पाएका छैनन्।
चैत्र ५ गते सनमन सार्की ढले। उनलाई उच्च रक्तचाप थियो। नवीन त्यो बेला काठमाडौं थिए, उनकी बहिनीले बुवालाई अस्पताल पुर्याइन्।
बुवालाई अस्पताल पुर्याउँदा उनीहरूसँग जम्मा १५ हजार रुपैयाँ थियो। तर, अस्पताल बसाइ लामो भयो। त्यसमाथि बुवाको अवस्था सुध्रिएन।
‘सास नजाउन्जेल आश हुँदो रहेछ, अस्पतालमा बचाउने प्रयत्न गरिरह्यौं,’ नवीनले भने।
सनमनलाई १५ दिन आइसियूमा र चार दिन भेन्टिलेटरमा राखेर समेत उपचार गरियो तर डाक्टरले बचाउन सकेनन्। भदौ १९ गते बिहान ५:३० मा उनी बिते।
बाँचुन्जेल उपचारमा केन्द्रित भएको परिवारलाई अब शव अस्पतालबाट निकाल्न समस्या पर्यो।
अस्पताल र फार्मेसीमा गरेर ११ लाख रुपैयाँ बुझाएमात्र नवीनले बुवाको शव लान सक्ने भए।
तर, त्यो बेला नवीनसँग एक कप चिया पिउने पनि पैसा थिएन। अस्पतालमा बुवाको शव छोडेर उनी पैसाको जोहो गर्न भौतारिन थाले।
‘दुई-चार हजार भए पो ल है भन्छन् सरसापटी पनि चल्छ, मलाई त ११ लाख चाहिएको थियो कसले पो दिन्थियो र?,' उने भने।
धरौटी राख्न भएको एउटा छाप्रो पनि ऐलानी जग्गामा छ। त्यही पनि केही आफन्त चिनजानकासँग उनले हात थापे। महुली गाउपालिकाका प्रमुखसँग हारगुहार गरे, तर कतैबाट पैसा जुटेन त्यो दिन बुवाको शव उठाउन सकेनन्।
भोलिपल्ट भदौ २० गते पनि उनी त्यसै गरी सम्झेका र सम्पर्कमा रहेका जतिलाई आफ्नो अवस्था सुनाउन थाले दोस्रो दिन पनि केही लागेन। अस्पतालले छिटो क्लियर गर्नु भन्न थाल्यो।
'बुवा अस्पतालको बेडमा लडिरहँदा बरू केही आस लाग्थ्यो तर बितेर गइसकेपछि त सबैथोक हरायो मेरो, बुवाको मरण निकै भारी पर्यो’, उनले भने।
नवीनले हारगुहार मागेकामध्ये केही पत्रकारसमेत थिए। उनीहरूले नवीनलाई रकम त दिएनन् तर उपचार खर्च तिर्न नसक्दा अस्पतालमा गरीवको शव अलपत्र परेको समाचार छापिदिए।
नवीनले भने समाचारतिर ध्यान दिन भ्याएका थिएनन्।
तेस्रो दिनसम्म एक रुपैयाँ पनि रकम संकलन गर्न नसकेर भौंतारिएका नवीनको मोबाइलमा अस्पताल प्रशासनबाट फोन आयो । नम्बर देखेर उनलाई झनै अत्यास लाग्यो। ढिलो गरी उनले फोन उठाए। फोनमा उनलाई अस्पताल छिटो आउन भनियो।
आत्तिएका नवीनको मन झनै बेचैनीतिर गयो। अस्पतालमा के भनौंला गुन्दै गर्दा कुन सुरमा अस्पताल पुगे उनलाइ नै ख्याल भएन रे। अस्पताल प्रशासनले अस्पतालभित्रको ५ लाख खर्च मिनाहा गरिदिएको जानकारी गरायो।
नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायाण दाहालले सेतोपाटीसँग भने, ‘उहाँको आर्थिक अवस्था बुझेपछि हामीले अस्पताल भित्रको खर्च मिनाहा गरेका हौं।'
अस्पताल प्रशासनको खबर सुनेर उनी खुसीले झन्डै उफ्रिए।
‘म त खुसीले झण्डै कराइनछु, एकछिन त म कस्तो अवस्थामा छु भन्ने पनि भुलें,' उनले भने।
खुसी हुने अवस्था त कहाँ थियो र! बुवाको शव घरसम्म लैजाने समेत पैसा छैन भनेर उनी झसंग भए।
'खर्च मिनाहा भएको सुख र आफूसँग बुवाको शव घर लान पनि पैसा नभएको दु:ख दुबै एक्कैचोटी लाग्यो, सुख र दु:खका दुबै आँशु एकै पटक झरे,' उनले सम्झिए।
उनले अस्पताललाई भने- मसँग त एम्बुलेन्सको भाडासम्म छैन कसरी बुवालाई लगौं?
अस्पतालले आफ्नै शव वाहनमा राखेर घरै पुर्याइ दिने भयो।
भदौ २२ गते बेलुका सनमनको शव उनकै घरमा पुग्यो। मंगलबार उनको दाहसंस्कार भयो।
सनमनका २ छोरा, एक छोरी र श्रीमती छन्। पैसा नहुँदा अस्पतालमै अलपत्र परेको शव त जसोतसो ल्याएर जलाइयो तर फार्मेसीमा तिर्न बाँकी ६ लाख कसरी जुटाउने भन्ने पीरले सबैभन्दा बढी खाएको छ मृतककी श्रीमती सीतालाई।
उनी भन्छिन, 'छोरो किरियामा बसेको दुई दिनमै फार्मेसीबाट पैसा लिन कहिले आउँ भनेर फोन आइसक्यो। कसरी तिरौंला खै?'
मजदुरी गरेर कहिलेसम्म फार्मेसीको ऋण तिर्न सकुँला भनेर नवीनले हिसाब समेत गर्न सकेका छैनन्।