मध्यपहाडी (पुष्पलाल) लोकमार्गको काम जबदेखि सुरू भयो, त्यही बेलादेखि पोखरा-२५ हेमजाका ६७ वर्षीय बलराम तिमिल्सिनाले बस्दै आएको घर छाडे। लोकमार्गले घर खाइदिएर भने उनले छाडेका हैनन्। भइरहेको पक्की सडक फराकिलो बनाउन भत्काउन थालेपछि उनले घर छाडेका हुन्।
पोखरा-बाग्लुङ सडक खण्डअन्तर्गत हेमजामा उनको घर छ। सडक किनारमा भएको घरमा धुँवा, धुलोले बस्न नसकेपछि पुरानो घरमा गएर बसेको उनले बताए।
‘पानी परे हिलो, नपरे धुलो, धुलोले बस्नै नसक्ने भएर बाटोबाट टाढा पुरानो घर गएर बसेको हुँ,’ उनले भने।
पुरानो घर भएकाले बलराम धुँवाधुलोबाट जोगिन त्यहाँ गए। सडककै किनारमा मात्र घर भएकाहरू भने यो धुँवा, धुलो र हिलोबाट जोगिन सकेका छैनन्।
स्थानीय ५० वर्षीया डिलमाया तिमिल्सनाले धुलो उडेर घर छपक्कै छोपिने गरेको बताइन्।
‘धोएर सुकाएको लुगा सुक्दासम्म झनै फोहोर हुन्छ,’ उनले भनिन्, ‘पानी, खानेकुरामा पनि फोहोर आएर बस्छ।’
धुँवा धुलोले बस्न खान नभएपछि स्थानीयले पटक-पटक सडक आयोजना र ठेकेदार कम्पनीलाई छिटो काम गर्न दबाब दिँदै आएका छन्। मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार ६ लेनको सडक बनाउन पुरानो पिच भत्काएको हो। ठेकेदार कम्पनीले धुलो उड्नबाट जोगाउन पानी हाले पनि १ घन्टामै सुक्ने गरेको डिलमायाले बताइन्।
सडकमा दिनहुँ गुड्ने सवारी साधन, सडक आयोजनाका ट्रिपर र ट्रक गुड्दा उड्ने धुलोले सडक वारिबाट पारिको दृश्यसमेत नदेखिने गरेको स्थानीय उजेली सुवेदीले बताइन्।
‘पानी परेन भने त बस्नखान हुँदैन,’ उनले भनिन्।
धुँवा, धुलो र हिलोले मात्र नभई सडक आयोजनाकै कारण वर्षातको पानीले डुबानको समस्या पनि देखिएको पोखरा-२५ का वडाध्यक्ष शोभाकर तिमिल्सिनाले बताए। याम्दीमा निर्माणाधीन सडकको एकातर्फ मात्र ढल बनाएको र पानीले निकास नपाउँदा पटक-पटक डुबान हुने गरेको उनले बताए।
‘हामीले सुरूदेखि पटक-पटक पानीको उचित निकास दिनुपर्यो भनेका थियौं,’ वडाध्यक्ष तिमिल्सिनाले भने, ‘अहिले बल्ल आयोजना पक्षले पानी निकासको व्यवस्था गर्न सहमत भएका छन्।’
धुँवा, धुलो र हिलो सहँदा-सहँदै पनि पानीको निकास नबनाउँदा डुबानको समस्या आएको उनले बताए। सडकमा बग्ने पानीको निकास नबनाए सडक छिट्टै भत्किने भन्दै उनले यसतर्फ आयोजना पक्षले ध्यान दिनुपर्ने बताए।
मध्यपहाडी लोकमार्ग निर्माणाधीन हुँदा उड्ने धुँवा, धुलो र हिलोकै कारण पोखराबाट पर्वत, म्याग्दी, बाग्लुङ, मुस्ताङ जाने सवारी पोखराको सराङकोट हुँदै नौडाँडा निस्कन्छन्। उक्त बाटो साँघुरो भए पनि सहज भएको सवारी चालकहरू बताउँछन्। नौडाँडाबाट फेरि मध्यपहाडी लोकमार्गको काम भइरहेकाले उस्तै धुँवा, धुलो र हिलो सहनु पर्ने वडा अध्यक्ष तिमिल्सिनाले बताए।
मध्यपहाडी लोकमार्गको पोखरा खण्ड निर्माणको सम्झौता असोजमा सकिँदैछ। ३ वर्षको समय दिएर दुई वटा प्याकेजमा १२ किलोमिटर सडक ६ लेनमा बनाउन सम्झौता भएको आयोजनाका इञ्जिनियर अनन्त बरालले बताए। उनका अनुसार पोखरा खण्डको मात्र लागत १ अर्ब ६० करोड रुपैयाँ छ। मध्यपहाडी लोकमार्गको यो खण्डमा पोखराका याम्दीदेखि घट्टेखोलासम्म पर्छ।
यसअघि सडकमा रहेका बिजुलीको पोल सार्न समस्या भएर निर्माणमा ढिलाइ भएको थियो। अहिले कोरोनाभाइरसको महामारीले सडक निर्माणमा समस्या आएको इञ्जिनियर बरालले बताए। निर्माणको काम नसकिँदै आयोजनाको म्याद सकिन लागेपछि म्याद थप्नेबारे छलफल भइरहेको उनले बताए।
आयोजना निर्माण कम्पनीले भने कोरोनाभाइरसका कारण काम ठप्प भएको बताएको छ। आयोजनामा कार्यरत मजदुर घर गएको र काममा फर्कन समस्या भएकाले आयोजनाको ठेक्का लिएको एलाइट कन्ट्रक्सनका सञ्चालक राजु रानाभाटले बताए।
कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले लकडाउनको घोषणा गर्नुअघि उक्त सडक आयोजनामा ६ सय ४२ जनाले काम गर्थे। आयोजनाका अनुसार ७ वटा ठूला मेसिन चल्थे। लकडाउन नभएको भए आधा सडक कालोपत्रे भइसक्ने रानाभाटले बताए। अहिले सडक आयोजनामा २० जना मजदुरले मात्र काम गरेका छन् भने ३ वटा मोटरमात्र चलेका छन्।
लकडाउन भएपछि काम रोकिएको र मजदुर घर गएको उनले बताए। मजदुरलाई केही समय राखे पनि घर जान खोजेपछि आफैंले व्यवस्था गरेर पठाएको रानाभाटको भनाइ छ। अहिले काममा फर्कन भने विभिन्न जिल्लामा भएका निषेधाज्ञा, फर्किपछि गर्नुपर्ने पिसिआर परीक्षण र क्वारेन्टिनमा राख्नुपर्ने जस्ता समस्याले रोकेको रानाभाटले बताए।
‘मजदुर काममा फर्कन तयार छन्, ल्याउन सकेको छैन,’ उनले भने, ‘मधेश र भारतबाट मजदुर ल्याउनु पर्ने भएकाले सरकारले ल्याउने व्यवस्था मिलाइदिनुपर्छ।’ आयोजनामा काम गर्ने मजदुरहरू सम्पर्कमै रहेको उनले बताए।
आयोजनाका इञ्जिनियर बरालले भने मजदुरलाई काममा फर्काउन जिल्ला–जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुरा भइरहेको बताए। आयोजनाले केही समय म्याद थप्ने र मजदुर ल्याउनका लागि सहजीकरण गरिदिने उनले बताए।
सडकमा अहिले ग्राभेल राख्ने काम भइराखेको छ। कोरोनाभाइरसले गर्दा आफूले लिएको ठेक्का घाटामा जाने अवस्था आएको कन्ट्रक्सनका रानाभाटले बताए। ‘बजारमा निर्माण सामाग्री महंगो भयो,’ उनले भने, ‘मजदुरलाई घर पठाउने, ल्याउने, पिसिआर शुल्क, क्वारेन्टिनमा राख्दा झनै खर्च बढ्ने भयो।’