बुधबार राति साढे १ बजेको हुँदो हो। कैलालीको कैलारी-५ का २३ वर्षीय पवन चौधरी ठूलो आवाज आएपछि ब्युझिए। टेबल पंखा लगाएर सुतेका उनी स्टेन्डमा केही ठोकिएर आवाज आए पछि उठेका थिए।
हेर्दा अँध्यारोमा केही देखिएन। मोबाइलको टर्च बालेर हेर्दा त पंखा तल खाटभित्र बिरालो पसेजस्तो ठाने।
‘सुरूमा त के हो सोचें, बिरालो हो किजस्तो लाग्यो,’ उनले सेतोपाटीसँग भने।
पछि खाटमुनि राम्ररी हेरेपछि त कहिले नदेखेको अजिबको चिज देखे। के आयो भनेर उनी डराए। श्रीमतीलाई उठाए। खाटमै बसेर फोटो खिचे। धेरै बेर बस्न डर लाग्यो, उनीहरू झ्यालबाट बाहिर भागे।
‘टोक्ने हो कि, के हो सोचेर फोटो खिचेर झ्यालबाट निस्कियौं,’ उनले भने।
परिवारका अरू पनि बाहिर आए। पवनले छिमेकी अंकललाई फोन गरे। फोन नउठेपछि घरमै गएर डाके।
‘अंकललाई फोटो देखाएँ, उहाँले पनि चिन्नुभएन,’ उनले भने। के हो यो? कहाँदेखि आयो? भनेर अंकलले उल्टै पवनलाई प्रश्न गरे। उनले अर्को घरका सीताराम बाजेलाई पनि बोलाए।
त्यसपछि ढोका खोलेर भित्र पसे। सीताराम बाजेले त्यो अजीवको जीव चिने- यो त साल माछा हो।
‘६५ वर्षका बाजेले पहिले पनि देखेका रहेछन्, चिनिहाले,’ पवनले भने।
घरमा बोलेको सुनेपछि छिमेकी पनि हेर्न आए। रातको साढे दुई बजेतिर सालकलाई तेल राख्ने टिनको ड्रममा राखे। त्यसपछि पवनको परिवार र अरु २-४ जना छिमेकी रातभर नसुतेरै बसे।
‘अब के गर्ने भन्ने सोच्यौं। प्रहरीलाई खबर गरे यसलाई आरक्षमा राख्छन् कि जुमा राख्लान् भन्ने कुरा गर्यौं,’ उनले भने।
बिहान उज्यालो भएपछि त मान्छेहरू कहाँ-कहाँबाट हेर्न आए। उनको घरमा मेला लागेजस्तो भयो।
‘कहाँदेखि मान्छे आए थाहै भएन,’ उनले भने।
६ बजेतिर २ जना प्रहरी उनका घरमा आए। उनीहरुले पनि सालकलाई हेरे र फोटो खिचे।
वनका मान्छे ८ बजेतिर पुगे। दुई जना मान्छे गाडीमा धनगढीबाट आएका थिए। उनीहरुले कहाँदेखि आयो, कसरी आयो, कति बजे आयो? जस्ता कुरा सोधे।
‘के-के सोधपुछ गरे। मेरो नाम पनि लेखे,’ पवनले भने।
कागजमा लेखेर मुचुल्का तयार भएपछि त्यसलाई राखेको ड्रमसहित गाडीमा लगेर हसुलिया प्रहरी चौकीमा लगेर गए।
पवन पनि आमा र अरू केही छिमेकीसँग प्रहरी चौकी गए।
‘घरदेखि त त्यतिकै लगे त्यहाँ केही पुरस्कार दिन्छन् कि भनेर गएका थियौं,’ उनले भने।
उनले वनका कर्मचारीलाई पुरस्कार पाऊँ भनेको बताए। उनीहरूले आफूले दिने होइन हाकिमसावले दिनुहुन्छ भने।
‘दुई हजार पुरस्कार लिन धनगढी पुग्नुपर्ने भनेपछि जाने साधन नभएकाले गइनँ,’ उनले भने।
अहिले पवनलाई गाउँका मान्छेले यो त करोडैंमा बिक्छ भन्दैछन्। तिमीहरूले हल्ला नगरी सुरूमा देखेकाले किन अन्त भनेको भन्न थालेका छन्।
‘अहिले गाउँका मान्छे त्यो बेचेको भए त मालामाल हुन्थ्यौ भन्दैछन् तर कहाँ बिक्छ, कसले किन्छ के थाहा हामीलाई,’ उनले भने।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सालक भेटिएको भन्नेबारे बिहान साढे ७ बजेतिर खबर पाएको बताए।
‘कर्मचारीले फोन गरेर सालक फेला परेको भने। मैले उद्धार गर्नुपर्छ सुरक्षित राख्न भनें,' उनले भने।
सकुशल अवस्थामा भेटिएको दुर्लभ जन्तु भएकाले उद्धार गर्न उनले २ जना कर्मचारी पठाए।
‘त्यो घाइते होइन त्यसैले भेटनरी बोलाउन परेन,’ उनले भने।
कर्मचारीले मुचुल्का बनाई सालकलाई ड्रममै गाडीमा डिभिजन कार्यालय धनगढी ल्याए।
उक्त सालकको तौल तौल ८ किलोग्राम थियो।
‘हामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोड्ने भनेका थियौं तर जनताको माग त्यही जंगलमा छोड्नुपर्छ भन्ने आएपछि बसन्ता जैविक वनमै छोडियो,’ उनले भने।
यताको वन्यजन्तु उता किन पठाउने भनेर बसन्ता जैविक वनमा मानिसहरूको चहलपहल नहुने गरी मुचुल्कासहित बनाई छोडेको उनले जानकारी दिए।
उनले साइटिस अनुसुची १ मा सूचीकृत दुर्लभ प्रजातिका सालक रहेको बताए।
विशेषगरि सालको जंगलमा पाइने सालक संसारभर चोरी शिकारीबाट अति संकटापन्न भएको वन्यजन्तु हो।
नेपालमा समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका जंगलमा सालक पाइन्छ। यस जीवको दाँत हुँदैन र यसको जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ।
सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्दछ। कतैबाट आक्रमण भयो भने यो भाग्दैन तर भकुण्डोको आकारमा गुडुल्किएर बस्दछ।
नेपालमा पाइने स्तनधारीमध्ये यो एउटैमात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो। यहाँ कालो खबटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छ। साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार नेपालमा ४३ जिल्लामा सालक पाइन्छ।
कैलाली, कञ्चनपुर, डडेलल्धुरालगायतका जिल्लामा इन्डियन प्याङ्गोलिन पाइन्छ।
सालक नेपालको संरक्षित वन्यजन्तु हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरीदबिक्री गर्ने वा ओसारपसार गर्नेलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्छ।