पोखरा–३३ भरतपोखरीका डा. अञ्जन तिवारीको अमेरिका गएर एमडी गर्ने चाहनामा कोरोना भाइरसको महामारीले पानी फेरिदियो।
महामारी हुन्थेन भने उनी वैशाखमै अस्पताल छोडिसकेका हुने थिए, एमडी अध्ययनको तयारीका लागि।
उनको अर्को योजना पनि थियो- बिहेपछि पत्नीसँग घुम्न जाने। माघ २९ गते उनको र कृष्मा गिरीको बिहे भएको थियो।
कोरोनाले गर्नु गर्यो, हनिमुन जान नपाएको यो जोडीलाई संक्रमित बस्ने आइसोलेसनमा खटिने बनाइदियो। उनकी पत्नी कृष्मा नर्स हुन्।
उनीहरूले बिहेपछि पनि १ महिना छुट्टी लिएका थिए। तर कोरोनाभन्दा पहिले नेपालमा यसको भय पस्यो। देशभित्र र बाहिर सबैतिर घुम्न जान समेत डरमर्दो भैसकेको थियो।
अस्पताल छाडेर यसै बस्न उनको मनले मानेन।
‘यत्तिकै बस्दा समाजमा नराम्रो असर पर्छ भनेर अस्पताल छाडिनँ,’ उनले भने।
उनीहरू दुबैले पोखराको लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा काम गर्थे। त्यो बेला यो अस्पतालले कृष्मालाई वेतलबी बिदामा राख्यो। जेठदेखि बिरामीको चाप बढ्न थालेपछि फेरि बोलायो।
साउन १ गतेदेखि प्रदेश सरकारमातहत संक्रामक तथा सरूवा रोग अस्पतालमा रूपान्तरण भएको छ। त्यसअघि उक्त अस्पतालमा कोरोना संक्रमणका बिरामी आउँथेनन्। सरकारले पनि पठाउँदैनथ्यो।
जब अस्पताल सरकारमातहत आयो, अस्पतालमा कोरोना संक्रमित पठाउन थालियो। अस्पताल भवनको सबभन्दा माथिल्लो तलामा रहेको कोठाहरूलाई अस्पतालले आइसोलेसन बनायो।
अस्पतालले बिरामीसँगै डाक्टर, नर्स, सहयोगीसहितका स्वास्थ्यकर्मीको समूह राख्ने निर्णय गर्यो। पहिलो पटक कोरोना संक्रमित ल्याउँदा स्वास्थ्य समूहको नेतृत्व नै डा. तिवारीले गरे।
अन्यत्रका आइसोलेसनमा बिरामीलाई फोनमार्फत् सोध्ने र समस्या परेमा सकेसम्म फोनमार्फत् नै स्वास्थ्य सुझाव दिन्थे। अन्यत्रका आइसोलेसनमा आवश्यकताअनुसार संक्रमितलाई चेक गर्न डाक्टर जान्थे फेरि फर्कन्थे।
लेखनाथको संक्रामक तथा सरूवा रोग अस्पतालको आइसोलेसनमा भने स्वास्थ्यकर्मी एक क्षण पनि आइसोलेसन बाहिर जाँदैनन्। उनीहरू बिरामीसँगै बिरामीकै फ्ल्याटमा बसे।
निरन्तर संक्रमितसँग अन्तर्क्रिया गरे। उनीहरूका समस्या समाधानमा लागिपरे। बिरामीसँग छुट्टाछुट्टै कुरा गर्ने र आवश्यकताअनुसार पूरा सेट पिपिई लगाएर स्वास्थ्य परीक्षण गर्ने गरेको डा. तिवारीले बताए।
पहिलो पटक उक्त अस्पतालमा कोरोना संक्रमित लैजाँदा डा. तिवारी बिरामीसँगै १४ दिन आइसोलेसन बसे। उनीसँगै आइसोलेसनमा काम गर्थिन् कृष्मा पनि।
उक्त अवधिमा उनीहरूले ४८ जना कोरोना संक्रमितको सेवा गरे। त्यतिबेला ३४ जना संक्रमित निको भएर डिस्चार्ज भए। बाँकी संक्रमितलाई अरू स्वास्थ्यकर्मीको भरमा छोडेर उनीहरू दुबै १० दिन पोखराकै लेकसाइडस्थित होटल क्वारेन्टिनमा गए।
होटल क्वारेन्टिनमा बस्दा पनि दिनरात कोठामै बिताउने हो। बाहिरका समाजले नराम्रो ठान्छ भनेर बाहिर निस्कन होटलवालाले नै दिँदैनन्।
‘क्वारेन्टिनमा बसेका मान्छे बाहिर घुम्न पनि त भएन,’ डा. तिवारी भन्छन्, 'तर हामी दुवै जनासँगै भएकाले साह्रै गाह्रो पनि भएन।'
आइसोलेसनमा जस्तै होटलमा पनि कोठामा नै खाना प्याकिङ आउँछ, त्यही खायो, बस्यो। क्वारेन्टिनमा बसेर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर जान पाएको उनले बताए।
डा. तिवारीको अब केही समयपछि फेरि आइसोलेसनमा बस्ने पालो आउँदैछ। उनी यसका लागि तयार भएर बसेका छन्।
आइसोलेसन, क्वारेन्टिन त्यसपछि मात्र घर। अहिले अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका डा. तिवारीलाई कोरोना संक्रमितको उपचारमा नखटिन परिवार र समाजले दबाव दिएका थिए।
‘परिवार र समुदायलाई आश्वस्त पारेर उपचारमा खटिएँ,’ उनले भने, ‘सबैलाई सम्झाइबुझाइ गरेपछि उहाँहरू पनि मान्नुभयो।’
अस्पतालमै क्वारेन्टिन बनाएर बिरामी राख्दा सुरूमा केही गुनासा आएका थिए। बिरामीले गरेका गुनासो पूरा गरेपछि भने अहिले समस्या नभएको उनले बताए। आइसोलेसनमा बस्नेहरू अहिले खुसीले बसेका छन्।
लेखनाथको संक्रामक तथा सरूवा रोग अस्पतालमा एउटा भेन्टिलेटर र आइसियू पनि छ। भेन्टिलेटर र आइसियू चलाउने जनशक्ति छैन।
भेन्टिलेटर र आइसियूमा राख्नु पर्ने बिरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पठाउँछ। आइसोलेसनमा बस्ने बिरामीको सुविधाका लागि फ्री वाइफाई र नाचगानका लागि लाउड स्पिकरको व्यवस्था मिलाइएको छ।
आइसोलेसनमा बस्ने बिरामी धेरै आत्तिने गरेको डा. तिवारीको अनुभव छ।
‘केही भइहाल्ने पो हो कि’ भनेर आत्तिने गरे पनि सम्झाएर राख्ने गरेको उनले बताए।
कोरोना निको भएर डिस्चार्ज भएका बिरामी र कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई देशका विभिन्न ठाउँमा भएका नराम्रा व्यवहार उनले पढेका छन्।
पोखरामै पनि लेखनाथका उक्त अस्पतालको आइसोलेसनमा बसेर डिस्चार्ज भएका संक्रमितलाई नराम्रो व्यवहार भएको उनले थाहा पाएछन्।
‘यहाँबाट डिस्चार्ज भएका बिरामीलाई उनका बुवाको मृत्यु हुँदा समेत शव छुन दिएनछ,’ उनले भने, ‘माया र सद्भाव बाँड्नु पर्ने बेला निको भएर गएकालाई पनि नराम्रो व्यवहार गरेछन्।’
यस्तो व्यवहारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल गिर्ने उनको भनाइ छ । समुदायका मानिस जसलाई पनि कोरोना लाग्न सक्ने भन्दै उनले स्वास्थ्यकर्मी र निको भएर फर्केका बिरामीलाई भेदभाव नगर्न उनले सुझाव दिए।
कोरोना संक्रमितको उपचारमा बिरामीमा देखिने निराशा र खुसी उनले राम्रोसँग अनुभव गरेका छन्।
‘उहाँहरू आउँदा जति निराश देखिनुहुन्छ, जाँदा उत्ति नै खुसी भएर जानुहुन्छ,’ उनले भने, ‘त्यो खुसी देख्दा राम्रो काम गरेछुजस्तो लाग्छ।’
तिवारीलाई खासमा डाक्टर बन्ने चाह नै थिएन। उनलाई त इञ्जिनियर बन्नु थियो। पुल्चोक क्याम्पसमा इञ्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा पास गरेका थिए।
परिवारमा जुम्ल्याहा २ दाजुभाइमात्र भएका उनी जेठा हुन्। उनलाई परिवारले नै एक जना त डाक्टर बन्नुपर्यो भनेर दबाब दिएका थिए।
काठमाडौंको धापाखेलस्थित जिइएमएस स्कुलमा पढेका तिवारीलाई त्यही स्कुलले फिलिपिन्सको एङ्गलस युनिभर्सिटी फाउण्डेसनमा भर्ना हुन तारतम्य मिलाइदिएको थियो।
उनी सन् २०१० मा डाक्टर बन्न फिलिपिन्स हानिए। फिलिपिन्स गएर बिएस्सी गरे, त्यसपछि एमबिबिएस।
एमबिबिएस पढाइ सकेर सन् २०१७ मा फर्किएपछि उनी लेखनाथको तत्कालीन ‘लेखनाथ सामुदायिक लायन्स अस्पताल’मा काम गर्न थालेका थिए, आफ्नै समुदायमा काम गरौं भनेर।