सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ बाराम्चिकी ४३ वर्षीया सञ्चमाया तामाङको भिरबाट लडेर मृत्यु भएको छ। उनीसहित उनको गर्भको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीका अनुसार बिहीबार बिहान ८ बजेतिर भिरबाट लडेपछि घटनास्थलमै सञ्चमायाको मृत्यु भएको थियो बच्चाको भने ४ घण्टापछि मृत्यु भएको हो।
उनी वस्तुभाउलाई घास काट्न निस्किएकी थिइन्। ५ जना छोराछोरीकी आमा उनी ८ महिनाकी गर्भवती थिइन्।
बिहिबार बिहान ७ बजे घरबाट निस्किँदा दुई छोरा र श्रीमान साथै थिए। श्रीमान फूलबहादुर गोठ स्याहार्नतिर लागे। छोराहरू गाउँतिर खेल्न गए। उनी भने घाँस काट्न भिरतिर लागिन्।
५ सय मिटर टाढाको भिरमा घाँस काट्दा यसअघि पनि उनलाई लडेर चोट लागेको थियो। श्रीमानले अबदेखि भिरमा घाँस काट्न नजानु भनेर सम्झाएको बताउँछन्।
‘पहिला पनि भिरबाट लडेर चोट लागेकाले उनलाई भिरमा नजान भनेको थिएँ,' सेतोपाटीसँग फोनमा कुरा गर्दै उनले भने,'त्यतै कान्लाकुन्ली काट्दै होली भनेर आफ्नो सुरमा लागेँ। उ त भिरमा पो पुगिछ!'
८ जनाको परिवार आम्दानीको गतिलो स्राेत छैन। उनीहरूको दैनिकी जसोतसो चल्दै थियो। पोहोर साल पहिरोले धान खेत बगायो। उब्जाउ हुने खेती बगेपछि उनीहरूको परिवारलाई खानलाउन समेत समस्या छ।
'बेलाबखत ज्याला मजदुरी गर्थे त्यो पनि लकडाउन छ। छोराछोरीलाई के खुवाउँला कसरी जीविका होला भन्ने पीर परेका बेला दशा मैमाथि थपियो,' उनले भने, 'अब यी छोराछोरीलाई म एक्लै के गरी पालौंला?'
सञ्चमाया भिरमा पुग्ने बित्तिकै लडेको प्रहरीको अनुमान छ।
उनलाई लडेको अवस्थामा पहिलोपटक स्थानीय डोरलाल तामाङले देखेका थिए। उनी घरबाट मोटरसाइकलमा धारे बजार जाँदै थिए। भिरमाथिबाट लडेर गाउँ जाने शाखा सडकको भित्तामा घोप्टो परेको मान्छे देखेपछि उनले बाइक रोके।
‘यस्तो त मैले जीवनमै देखेको थिइनँ, मेरै आफन्त पर्ने सञ्चमाया काकी घोप्टो परेर रगतमा ललपतिएर ढलेकी रहेछिन्, २ सय मिटर जति पर सालनालमा बेरिएको बच्चा पनि देखेँ, मेरो त होस नै उड्यो,' उनले भने।
दुवै जिउँदै छन् कि भनेर हतार हतार हेरेको उनले बताए।
'काकीको ढुकढुकी थिएन, बच्चाले श्वास लिइरहेकाे थियाे,' उनले भने, 'म त आत्तिएँ। गाउँलेलाई फोन गरेँ, अनर्थ भएको सुनाएँ।'
एकछिनमा अरू मानिसहरू आए। भुँडी फुटेर बच्चा उछिट्टिएको सबैले अनुमान गरे।
गाउँलेहरूले बच्चा र आमा दुवैलाई घर लगे। बच्चालाई सफा गरिदिए। त्यतिन्जेल बच्चा सकुशल रहेको डोरलालले बताए।
'१ बजे तिर बच्चा पनि रहेन, अहिले डाँडाथोक नै शोकमा डुबेको छ। यस अघि यो गाउँमा यस्तो भएको थिएन,' उनले भने ।
डाडाथोकमा झण्डै दुइसय तामाङ समुदायको बसोबास छ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङका अनुसार गाउँमा गरीबी, अशिक्षा तथा अज्ञानता धेरै छ।
'सञ्चमायाको घर हेल्थपोष्ट नजिकै छ। उनले स्वास्थ्य जाँच पनि गरिरहेकी थिइन्, भिरसम्म जानुहुँदैन भन्ने थाहा नपाएर भन्दा पनि हेलचेक्राइँले गएको पाइयो,' उनले भनिन्, '८ महिनाको भारी जिउ बोकेर भिरमा घाँस काट्न जान्छु भन्दा परिवारका सदस्य गम्भीर हुनुपर्नेमा त्यो देखिएन।'
गर्भवती महिलाको अस्पतालमा पहुँच पुर्याउन ४ पटक अस्पतालमा जँचाउन जाने महिलालाई सुत्केरी हुँदा १ माना घ्यु र एक क्रेट अण्डा दिने गरेको पनि उपाध्यक्ष तामाङले बताइन्।
'वडावडामा, टोलटोलमा महिलास्वास्थ्य स्वयम्सेविकाहरू खटिएका छन्। सचेतना जगाएका छन् तर आज यस्तो घटनाले हामीलाई निकै पीडा र लज्जित बनाएको छ,' उनले भनिन्।
आफूहरूले पनि ३ वर्षको अवधिमा मानिसको दिनचर्यामै परिवर्तन देखिनेगरी भने काम गर्न नसकेको उपाध्यक्ष तामाङको भनाइ छ।
'आज ८ महिने गर्भवतीले दाउराघाँस गर्न नपर्ने अवस्थामा पुर्याउन सकेको भए सायद यो घटना घट्ने थिएन,' उनले भनिन्।
वडाध्यक्ष सनत अधिकारी भने बच्चाले बेलैमा उपचार नपाएर मरेकोमा पछुतो लागेको बताउँछन्।
‘समयमै मात्र मलाई खबर गरिदिएको भए बच्चालाई बचाउन सकिन्थो, मैले खबर पाउँदासम्म १ बजिसकेको थियो। साढे ८ बजेको घटना धेरैबेर बच्चा घाममै रहेछ त्यसपछि फेरि उहाँहरू घर लगेर नुहाइदिन थाल्नुभएछ,' उनले भने।
आफूले खबर पाउने बित्तिकै बच्चा लिएर रोडतिर झर्दै गर्नु भनेको उनले बताए। गाउँलेले बच्चा लिएर रोडमा आइपुग्दा उनी पनि पुगेका थिए।
'उनीहरू आइपुग्दा म पनि पुगेँ त्यसैबेला बच्चाले श्वास फेर्न छोड्याे, मलाई असाध्यै पछुतो भयो,' उनले भने, '४ घण्टा बाँचेको बच्चालाई समयमै अस्पताल पुर्याउन नसकेकोमा हामी चुक्यौं कि भनेर पछुतो भइरहेको छ।'
सिन्धुपाल्चोकमा गत आर्थिक वर्षमा भिरबाट लडेर ३ जनाले ज्यान गुमाएका थिए। यो वर्ष भने अहिलेसम्म ४ जनाको भिरबाट लडेरै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रमुख राजन अधिकारीले बताए।