कोरोना भाइरस संक्रमणका कारण पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसियुमा एक जनाको मृत्यु भएको छ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
दमका कारण स्याङ्जा जिल्ला अस्तालमा भर्ना भएका ती वृद्धलाई अस्पतालले पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरिदिएको थियो।
भारतीय सेनाबाट अवकाश लिएर घरमै बसिरहेका उनलाई उपचारका लागि पोखरामा ल्याएपछि कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।
उनी भदौ १७ गते अस्पतालको आईसियु कक्षमा भर्ना गरेर उपचाररत थिए।
वृद्धलाई लिएर पोखरा आएका उनका छोरालाई पनि कोरोना संक्रमण भएको पुतलीबजार–१ का वडा अध्यक्ष शेषराज ढकालले बताए।
उनलाई अहिले स्याङ्जाकै कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा मा राखिएको छ।
उनीहरूलाई कोरोना संक्रमण स्याङ्जा जिल्ला अस्पताल वा पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको हुन सक्ने वडा अध्यक्ष ढकालले बताए।
यसअघि ती वृद्धाका परिवारमा कोही पनि कोरोना संक्रमण नदेखिएको उनको भनाइ छ।
यो सहित गण्डकी प्रेदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१० उपचार केन्द्रमा मात्रै १० जना संक्रमितको मृत्यु भइसकेको डा. आचार्यले बताए।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको हालसम्मको संख्या २ हजार ८ सय २० जना रहेका छन्। जसमा १ हजार ८ सय ५१ जना निको भएर डिस्चार्ज भइसकेका छन्।