पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ।
शनिबार साँझ जहाजलाई क्रेनले तानेर संग्रहालयमा पुर्याइएको हो। विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली हुँदै जहाज संग्रहालयसम्म पुर्याइएको थियो।
भित्र राख्ने ठाउँ नमिलेपछि आइतबार दिउँसो भने जहाज सडकको छेउमै राखिएको थियो।
सडक छेउमा सेनाको जहाज देखिएपछि आगन्तुकहरूले फोटो खिचेका थिए।
दुई वर्षदेखि थन्किएको एभ्रो कम्पनीको यो जहाज ४६ वर्षअघि बेलायतबाट ल्याइएको थियो।
लामो समयसम्म राजपरिवारले प्रयोग गरेको यो जहाज पछिल्लो समय सेनाले प्रयोग गर्दै आएको थियो। राजदरबारसँग सम्बन्ध रहेकाले यो जहाजलाई नारायणहिटी संग्रहालयमा राखिएको सेनाले जनाएको छ।
सोमबार भने उक्त जहाजलाई संग्रहालयभित्र लिइसकेको सेनाले बताएको छ।