गत शनिबार ह्याम्स अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भयो। यो खबर उनकी छोरीलाई सुनाउन पुगेका डा. राजु पंगेनी आफैं स्तब्ध थिए।
मलिन स्वरमा उनले छोरीलाई भने, 'आमालाई बचाउन सकिएन।'
त्यो सुनेर छोरी त्यहीँ भक्कानिइन्। केही समयअघि उनको दाइको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। अर्की दिदीको पनि संक्रमण भएपछि अर्को अस्पतालमा अक्सिजन पाइप राखेर उपचार भइरहेको परिवारका सदस्यले सुनाएको डा. पंगेनी बताउँछन्।
यसरी परिवारको पीडा र संक्रमितको भोगाइको साक्षी बनिरहेका उनलाई सामाजिक सञ्जालमा कोरोनालाई हल्का रूपमा प्रचार गरिएको देखेर चित्त बुझेको छैन।
'आइसियूमा ठाउँ नभएर संक्रमितहरूलाई उपचार गर्न सकिएको छैन। कतिलाई धेरै बचाउन प्रयास गर्दा पनि सकिएको छैन,' उनले सेतापाटीसँग भने, 'यो कस्तो हो भन्ने कुरा त फिल्डमा खटिएका स्वास्थ्यकर्मी र पीडा भोग्ने परिवारलाई मात्र थाहा हुन्छ।'
तर अहिले सामाजिक सञ्जालमा कोरोना केही हैन भन्ने खालका भ्रमहरू फैलिएको भन्दै त्यस्ता कुराहरूलाई विश्वास गर्न नहुने उनी सुझाउँछन्।
'अहिले सामाजिक सञ्जालमा त्यस्तै कुराहरू धेरै लाइक, सेयर हुनेगर्छ। कोरोनाबारे बाहिरबाट जसरी हल्का रूपमा बुझिएको छ स्वास्थ्यकर्मीको हिसाबले हेर्दा दृश्य त्यस्तो छैन।'
उनले केही दिनअघि प्रसारण भएको एक टेलिभिजन कार्यक्रममा एकजना राजनीतिकर्मीले कोरोनाबारे दिएको हल्का टिप्पणीमा असन्तुष्टि पोखेका छन्। 'भरिभराउ कोभिड आइसियूको एक कुनामा एकएक सासको लागि छट्पटाइरहेको तन्नेरी केटोलाई भेन्टिलेटरमा राखेर र आफ्ना दाजु र दिदी गुमाइसकेकी छोरीलाई तिम्री आमा पनि रहिनन् भनेर सुनाएर घर फर्केको मलाई यो अन्तर्वार्ता हेरेर आफ्नो पेशाप्रति नै घृणा जागेर आयो,' उनले उक्त अन्तर्वार्ताको तल ट्वीट गरेका छन्।
उनले आफूले संक्रमितहरूको भोगाइ र परिवारका पीडा समेत देखेकाले बाहिर मानिसले सोचेजस्तो कोरोना हल्का नभएको बताए।
पछिल्लो डेढ महिनामा संक्रमण दर जसरी बढिरहेको छ त्यो त्यसरी नै कायम रहे गम्भीर प्रकृतिका संक्रमितलाई पनि वार्डमै राखेर उपचार गर्नुपर्ने स्थिति आउने सक्ने उनी बताउँछन्।
अहिले स्वास्थ्यकर्मीको मुख्य डर नै संक्रमितहरूले राम्रो उपचार सेवा नपाउने हो कि भन्ने रहेको उनको बुझाइ छ।
अहिले पनि अस्पतालको आइसियू भरिरहेको र दैनिक तीन चार जना बिरामीलाई रिफर गर्ने गरिएको डा. पंगेनीले जनाए।
उनले भने, 'निजी अस्पतालमा त यस्तो हालत छ भने सरकारी अस्पतालको के कुरा गर्ने? काठमाडौंकै धेरै अस्पतालहरूमा बेडको हाहाकार छ। आइसियूमा बेड पाइरहेको छैन।'
अहिले दैनिक औसत एक हजार जना संक्रमितमध्ये ५ देखि १० प्रतिशत बिरामी हुँदा त उपचारमा कठिनाइ भइरहेको भन्दै उनले संक्रमण नबढे पनि यही स्थिति केही समय कायम रहे खराब हालत भोग्नुपर्ने बताए।
उनले अहिले मृत्युदर पनि 'क्वालिटी अफ केयर' ले गर्दा नियन्त्रण भइरहेको भन्दै भोलि गम्भीर बिरामीहरूलाई पनि वार्डमै राखेर उपचार गर्नुपर्ने स्थिति आए मृत्युदर बढ्ने जनाए।
'इटाली, ब्राजिलमा जस्तै भोलि ८० वर्षामाथिका जेष्ठ मानिसहरूलाई भेन्टिलेटरमा राख्न नसकिने अवस्था आउनसक्छ। वार्डमै राखेर उपचार गर्नुपर्ने हुन्छ जसले गर्दा सोचेजस्तो सेवा दिन सक्दैनौं। त्यो भयो भने मृत्यु दर पनि बढ्छ,' उनले भने।
गत दुई महिनादेखि संक्रमितको उपचारमा खटिँदै आएका छाती रोग तथा सघन उपचार विशेषज्ञ रहेका डा. पंगेनीले भेन्टिलेटरमा कहिलेकाहीँ संक्रमितको अवस्था देखेर हरेस लाग्ने गरेको सुनाए।
'भेन्टिलेटरमा राखिसकेपछि कतिपयको धेरै दिनसम्म पनि अक्सिजन लेभल बढ्दैन। सबै औषधि दिँदा पनि सुधार हुँदैन। त्यसमाथि मुटु, किड्नी, फोक्सोमा समस्या थपिँदै जान्छ,' उनले भने, 'कहिलेकाहीँ त एउटा अवस्थामा पुगेर ओहो फलानो बिरामीलाई त सुधार गर्न नसकिने हो कि भन्ने ‘फिल’ पनि हुन्छ।'
यस्तै, कति संक्रमितलाई दुई हप्तासम्म मेहेनत गर्दा बीचमा अलिअलि सुधार देखिए पनि पछि नयाँ समस्या थपिँदै जाँदा त्यो बेलामा हरेस खाएको महशुस हुने उनको भोगाइ छ।
अहिले पनि भेन्टिलेटरमा ४ देखि ६ जना बिरामीहरूको उपचार भइरहने उनले बताए।
उनले सेतोपाटीसँग भने, 'अहिले पनि बुवाको भेन्टिलेटर र छोराको वार्डमा उपचार भइरहेको स्थिति छ। एउटै परिवारको दुई तीन जना संक्रमित उपचाररत् छन्। यस्तो अवस्थामा कोरोना कस्तो हो भन्ने उहाँहरूलाई थाहा हुन्छ। त्यसैले यो सामाजिक सञ्जालमा लेखेजस्तो वा सोचेजस्तो छैन।'
डा. पंगेनीले अहिले अस्पतालको आइसियू पनि भरिएको भन्दै दैनिक चार जनासम्म बिरामीलाई अन्यत्र रिफर गर्नुपरिरहेको जनाए।
उनले वार्डमा पनि दैनिक ३० देखि ४० जना संक्रमितको उपचार भइरहेको बताए। यसरी वार्डमा उपचार भइरहेकामध्ये एक तिहाइलाई अक्जिनको सहायता दिनुपरेको उनी बताउँछन्।
'कतिलाई त वार्डमा उपचार गर्दा अक्सिजन नपुगेर आइसियूमा सिफ्ट गर्नुपर्ने हुन्छ। त्यस्ता बिरामीहरू बढी मधुमेह, रक्तचाप, मुटु र दमका रोगी हुन्छन् तर स्वास्थ्य मानिसहरूमा पनि उक्त समस्या देखिने गरेको छ,' उनले भने।
यस्तै, स्वास्थ्य मानिहरूलाई पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको डा. पंगेनी बताउँछन्।
उनले धेरै संक्रमितहरू भने कोभिड निमोनियाका कारणले गर्दा नै भेन्टिलेटरमा भर्ना गर्नुपरेको जनाए।
उनी भन्छन्, 'अरू मधुमेह, रक्तचाप, मुटु र दीर्घ रोगको पनि समस्या होला तर मुख्य भेन्टिलेटरमा राख्नुपर्ने अवस्था चाहिँ कोभिडले फोक्सोमा असर गरेरै हो।'
डा. पंगेनी थप्छन्, 'मधुमेह र रक्तचापले मरे पनि कोभिडको नाम जान्छ भनेर बाहिर बोलेको सुनिन्छ। तर त्यस्तो हैन। दीर्घ रोग हुने र रोगसँग लड्ने क्षमता कम भएकाले पनि त्यो जटिलता आउनसक्छ तर मृत्यु हुने मुख्य कारण र भेन्टिलेटरमा राख्नुपर्ने कारण कोभिड निमोनिया नै हो।'
वार्डमा रहेका संक्रमितहरूमा भने धेरै समस्या नरहे पनि अक्सिजन लेभल घटेको बिरामीले महशुस गर्ने नहुँदा समस्या रहने उनी बताउँछन्।
उनले वार्डमा रहेका संक्रमितहरूले अक्सिजन लेभल कम हुँदा पनि सास फेर्न गाह्रो महशुस नगरेको भन्दै यसले थप जोखिम बढाएको जनाए।
'हाम्रो अक्सिजन लेभल सामान्यतया ९५ भन्दा बढी हुन्छ तर कतिपयले ८० वा त्योभन्दा कम हुँदा पनि अप्ठ्यारो महशुस गर्नुहुन्न जुन डरलाग्दो कुरा हो,' उनले भने, 'पछि एक्कासि थाहा पाएपछि थप अक्सिजन सहायता दिन आइसियूमा भर्ना गर्नुपर्ने हुन्छ।'
डा. पंगेनीले अहिले आइसियूमा भर्ना भएकाहरूमध्ये धेरै ५० वर्ष माथिका रहेको जनाए।
आइसियूमा भर्ना गरेपछि संक्रमितलाई सास फेर्न अप्ठ्यारो हुनेबित्तिकै स्थिति गम्भीर हुने उनी बताउँछन्।
त्यस्तो अवस्थामा चिकित्सकले निरन्तर निगरानी राख्नुपर्ने उनले बताए।
'कतिपयलाई अलिक सहज होला भनेर घोप्टो पारेर सुताउँछौं। कतिले त घोप्टो परेर सुत्न पनि सक्नुहुन्न। एकदम छट्पटिनुहुन्छ,' उनले भने, 'यस्तो दृश्यहरू देख्दा हामी स्वास्थ्यकर्मीलाई नै नराम्रो लाग्छ। बाहिर चाहिँ यो केही हैन भनेर प्रचार गरेको देख्दा झन् दुःख लाग्छ।'
उनले अहिले आउने बिरामीहरू लक्षणसहित अलिक जटिल अवस्थाका रहेको भन्दै बाहिर मानिसहरूले देखिरहेको बिरामीभन्दा संक्रमितको अवस्था जटिल हुने उनी बताउँछन्।
पछिल्लो समय भने उपत्यकामा संक्रमण बढेसँगै संक्रमितहरू पनि बढी उपत्यकाकै रहेको उनले जनाए।
सुरूमा भने पर्सा, जनकपुर र बुटवलबाट धेरै बिरामीहरू रिफर भएर आउने गरे पनि अहिले भने बढी संक्रमित काठमाडौंकै रहेको डा. पंगेनी बताउँछन्।
साथै अहिले अस्पतालले लक्षण भएका संक्रमितहरूलाई मात्र भर्ना गर्ने गरेको उनले जनाए।
'लक्षणविहीन बिरामीलाई राख्नसक्ने अवस्था छैन। अहिले भर्ना गरिरहेको भनेको लक्षण भएकालाई मात्र हो।'
डा. पंगेनीले लक्षण सहितको कोरोना संक्रमितहरू बढिरहेको भन्दै यसलाई हल्का रूपमा बुझ्न नहुने उनको सुझाव छ।
अहिले पनि दैनिक संक्रमण दर उकालो लागेको भन्दै उनले थप सतर्कता अपाउनुपर्ने जोड दिए। त्यसका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य लागू गर्नुपर्ने उनी बताउँछन्।
साथै सामाजिक सञ्जालमा कोरोना केही हैन भन्ने खालका भ्रम र दुष्प्रचार नगर्न उनको आग्रह छ। त्यस्ता भ्रमहरूलाई विश्वास नगर्न समेत डा. पंगेनीको सुझाव छ।