पोखराको मणिपाल अस्पतालमा उपचाररत् ७० वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
पोखरा–९ नयाँ बजारका ती वृद्धको गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।
क्यान्सरका बिरामी रहेका वृद्धको नसा च्यापिएपछि भदौ २५ गते अस्पताल भर्ना भएका थिए।
अस्पतालमै गरिएको स्वाब परीक्षणमा भदौ २८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भए पनि सोही अस्पतालमा राखेर उनको उपचार भइरहेको पोखरा–९ का वडा अध्यक्ष रामराज लामिछानेले बताए।
योसहित कास्कीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० जना पुगेको छ।
गण्डकी प्रदेशमा भने योसहित ३१ जना कोरोना संक्रमितले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले बताए।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हालसम्म ३ हजार ११६ जना पुगेको छ। जसमा ५२ जना मंगलबारमात्र थपिएका हुन्।
गण्डकीमा हालसम्म कोरोना संक्रमण निको भएर १ हजार ८ सय ९५ जना डिस्चार्ज भएका छन् ।