सुर्खेत जिल्ला अदालतले आफूमाथि बलात्कारको आरोप लगाउने एक युवतीलाई एक महिना कैद सजायको फैसला गरेको छ।
जिल्ला अदालतले भदौ १४ गते गरेको फैसला अनुसार ती युवतीलाई एक महिना कैद र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए।
बाँस्कोटाका अनुसार युवती भने फरार छिन्। फैसला भएदेखि ती युवती सम्पर्कमा नआएको उनले बताए।
उनको कैद भुक्तान र जरिवाना असुलीका लागि जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न पत्र पठाउन थालिएको उनले बताए।
सजाय फैसला भएकी सुर्खेतकै बराहताल गाउँपालिकाकी १८ वर्षीया युवती हुन्।
तत्कालीन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सुर्खेत शाखाका प्रमुख रामप्रसाद गुप्ताले आफूलाई बलात्कार गरेको भन्दै ती युवतीले उजुरी दिएकी थिइन्।
गुप्ताले जागिर लगाइदिने प्रलोभन देखाएर २०७६ असोज २८ र ३० गते आफ्नो निवासमा बोलाएर आफूलाई बलात्कार गरेको भन्दै ती युवतीले २०७६ मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन्।
ती युवतीले जागिर लगाइदिने भनेर प्रमुख गुप्ताले यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेको र उक्त बकपत्र झूटो भएको ठहर गर्दै अदालतले फैसला गरेको बाँस्कोटाले बताए।
जिल्ला अदालतका अनुसार पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २, खण्ड (क) अनुसार फैसला भएको हो।
दफा ४४ (२) मा ‘सबुत प्रमाण वा उजुरीका आधारमा अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सबुत वा प्रमाण झूटा वा बनावटी देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी आफ्नो कारबाही अगाडि बढाउन सक्ने’ उल्लेख गरिएको छ।
उपदफा २ को खण्ड (क) मा झूटो कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने, तर तर त्यसरी सजाय गर्दा कसूरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिवाना गर्न नसकिने उल्लेख छ।