कुरा अढाइ वर्षअगाडि हो। आमा-बाबुबाट छुट्टिएपछि नवलपरासीपूर्व गैंडाकोट नगरपालिका-१८ हुर्चिलका ४२ वर्षीय धनबहादुर सुगुरपाक मगर वैदेशिक रोजगारीका लागि दुबई गए।
आमा-बाबुसँग अंशबण्डा हुँदा घर बनाउन पाएको जमिनमा एउटा सानो घर बनाए।
घर बनाएपछि आर्थिक समस्या आइलाग्यो। पारिवारको आर्थिक दुरावस्था सुधार गर्न उनी विदेश जानुपर्यो।
४० का धनबहादुर दुबई गए। झन्डै अढाई वर्ष दुबई बसेर बिदामा फर्के।
उनी जानुअघि नै दुई छोरी बिहे गरेर आफ्नो घर गइसकेका थिए।
दुई छोरीको बिहे भइसकेकाले धनबहादुर घरायसी समस्या टार्दै श्रीमतीसँग बाँकी जीवन बिताउन चाहन्थे।
फर्किएको पुगनपुग छ महिना चल्दैथियो। २०७६ साल असार १९ गते दिउँसोसम्म उनी गाउँमा हिँडडुल गरिरहेका थिए। तर, अचानक भोलिपल्टबाट हराए।
मगर कहाँ गए भन्ने न उनका बाबुआमाले थाहा पाए न छिमेकीले। एक-दुई दिन, हप्ता दिन त्यतिकै बित्यो। मगरलाई गाउँलेले देख्न छोडे। कहिलेकाहीँ आउजाउ हुँदा उनका आमाबाबुले पनि देख्न छोडे।
घरमा एक्लै देखेपछि ३८ वर्षीया बुहारी फूलमायालाई सोधे- धनबहादुर खोई?
फूलमायाले जवाफ दिइन्- खै २० गते बिहानै भारत जान्छु भनेर हिँडेका थिए।
नवलपरासीपूर्वको यो बस्ती नेपाल-भारत सिमाना नजिकैको हो। मगर सिमावर्ती बाटो हुँदै भारततिर पो रोजगारीमा गए होलान् भनेर आमाबाबुले ठानेछन्। त्यसबेला कुरा यतिमै सीमित भयो।
६-७ महिना बित्यो, मगर न घर आए न परिवारको सम्पर्कमै।
यो बीचमा आमाबाबु र गाउँलेले बुहारीलाई सोधीखोजी नगरेका हैनन्। तर, फूलमायाको जवाफ हुन्थ्यो - खै मसँग पनि सम्पर्क भएको छैन।
श्रीमान् ‘हराएको’ महिनौं बित्दा पनि फूलमाया चिन्तित नभइकन साधारण जवाफ फर्काउँथिन्। श्रीमान् हराएको शोक-सुर्ता फूलमायाको अनुहारमा झल्किँदैनथ्यो।
श्रीमान् ‘भारत गएको’ जवाफ दिने फूलमाया भने घरमा ‘हाइसञ्चो’मा दिन कटाउँथिन्।
गाउँलेहरू धनबहादुर हराएकोमा फूलमायामा ‘पिर-सुर्ता’ नदेखेर आश्चर्य मान्थे।
शंका पनि गर्थे यसकारण कि घरीघरी सोही ठाउँका ४० वर्षीय मेखबहादुर सुनारी मगर फूलमायालाई भेट्न घरमा आउने गरेको देख्थे।
गत चैतमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन सुरू भयो। भारतमा गएका नेपालीहरू धमाधम फर्किन थाले। तर, धनबहादुर फर्किएको कसैले देखेनन्।
फूलमायालाई गाउँलेले जिज्ञासा राख्न थाले - खै तिम्रो श्रीमान्?
फूलमाया भन्थिन् - खै.. खै..।
श्रीमान् हराउँदा सुर्ता नलागेकी फूलमायालाई भेट्न त्यही ठाउँका मेखबहादुर भने बाक्लै गरी आउँदा गाउँलेले धेरथोर ‘समस्या’ देख्थे।
मेखबहादुरसँगको ‘मिलाप’ देखेर गाउँलेले लख काटे- केही गडबड पो हो कि!
धनबहादुर ‘हराउनु’ र फूलमायाको घरमा मेखबहादुरको गतिविधि बढ्नुले गाउँलेमा ‘शंका’ बढ्दै गयो।
यही ‘शंका’ निवारणका लागि एक साताअघि केही गाउँले इलाका प्रहरी कार्यालय गैंडाकोट पुगे।
उनीहरूसँग निवेदन पनि थियो- ‘बेपत्ताֺ’ धनबहादुरको खोजी गरिपाऊँ।
धनबहादुरप्रति गाउँलेको जति चिन्ता उनीहरूको थियो, स्वाभाविक रूपमा फूलमायालाई यो घटनाले के कति पिरोलेको होला भनी प्रहरी उनको पछि लाग्न थाल्यो।
एकाधचोटि फूलमायालाई सोध्यो पनि- यति समयसम्म श्रीमान् घरमा नहुँदा किन रिपोर्ट नगरेको?
फूलमायाको उस्तै सहज उत्तर- खै कहाँ गएको हो, आउलान् नि भनेर!
प्रहरीले फूलमायामाथि ‘शंका’को दृष्टिले व्यवहार गर्न थाल्यो।
गत शनिबार दिउँसो फूलमायालाई केही कुरा बुझ्नु पर्यो भनी प्रहरीले समात्यो र कार्यालयमा ल्यायो।
प्रहरी कार्यालयमा आएपछि भने फूलमायाको अनुहारको रंग उड्न थाल्यो। अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक चन्द्र थापाले प्रश्न गर्न थाले- श्रीमान् बेपत्ता भएको खबर किन नगरेको त यतिञ्जेल?
यो प्रश्न गरेपछि भने फूलमाया डराइन्। उनले श्रीमान ‘बेपत्ता’ घटनाबारे मेखबहादुरसँग बुझ्दा सजिलो हुने प्रतिक्रिया दिइन्, अनुहारमा पसिना छुटाउँदै।
आखिर फूलमायाले प्रहरीको शंकास्पद प्रश्नको उत्तरमा विस्तारै ‘रहस्य’ खोल्न थालिन्।
शंकाको ‘सुई’ फूलमाया र मेखबहादुर दुबैतिर सोझिँदै गयो। प्रहरी निरीक्षक थापाले मेखबहादुरको ‘लोकेसन’ सोध्दा फूलमायाले जवाफ दिइन्- मेरो घरभन्दा आधा घन्टा टाढा।
‘बेपत्ता’ भनिएका धनबहादुरको अवस्था बुझ्नैका लागि पनि प्रहरी मेखबहादुरकहाँ पुग्नैपर्ने थियो। प्रहरी निरीक्षक थापा टोली लिएर मेखबहादुरको घरमा आइतबार पुग्यो। उनी घरमै थिए।
मेखबहादुरलाई पक्रेर कार्यालय ल्याए। फूलमायासँग आमनेसामने बनाएर खेर्न थाले। दुबैले घटनाबारे मौखिक रूपमा खुलाउन थाले।
प्रारम्भिक बयानमा उनीहरूले धनबहादुरलाई हत्या गरेको स्वीकारोक्ति बयान दिए।
प्रहरी निरीक्षक थापाका अनुसार दुबैले २०७६ सालको असार १९ गते राति नै धनबहादुरको हत्या गरेका रहेछन्।
‘उनीहरू प्रेमी-प्रेमिका बनिसकेको र त्यो सम्बन्ध थाहा पाएपछि धनबहादुरलाई बाटोबाट पन्छाउन हत्या गरेका रहेछन्,’ थापाले दुवैको बयान उद्धृत गर्दै भने।
सम्बन्धमा उतारचढाव
प्रहरीको अनुसन्धान अनुसार दुबईबाट नफर्किँदै फूलमाया-धनबहादुरको सम्बन्धमा उतारचढाव आइसकेको भने थियो। फोनमा कुरा हुँदा फूलमाया धनबहादुरबाट कमाएको सबै पैसा माग्ने गर्थिन्। एक्लै बसिरहेकी फूलमायालाई बढी खर्च पठाउन धनबहादुर अन्कनाउँथे।
धनबहादुर उनको मागलाई अस्वाभाविक ठान्थे। घरायसी खर्चका निम्ति पुग्ने पैसा मात्र पठाइदिन्थे। अधवैंशे फूलमायाले मेखबहादुरसँग सम्बन्ध विस्तार गर्न थालिन्।
मेखबहादुरले फूलमायासँग ‘पारिवारिक’ नाता र अन्य ‘आवश्यकता’बारे कुराकानी अघि बढाउँथे। फूलमायाले ‘सहज’ मान्न थालेपछि मेखबहादुरले सम्बन्ध कस्न सुरू गरेका थिए।
तर, धनबहादुर नेपाल फर्केपछि मेखबहादुर र फूलमायाको सम्बन्धमा ‘दूरी’ बढ्यो।
यसैक्रममा एक दिन धनबहादुरले फूलमाया मेखबहादुरसँग फोनमा बोल्ने, हाँसीमजाक गर्ने गरेको थाहा पाए।
त्यसपछि उनीहरूबीच सामान्य ‘खटपट’ सुरू भयो। धनबहादुरले फूलमायालाई धेरै खेदेनन्।
समय बित्दैजाँदा यदाकदा धनबहादुरले मेखबहादुरलाई घरमै आएर श्रीमतीसँग कुराकानी गरिरहेको अवस्थामा फेला पारे।
त्यसपछि सोधे- सम्बन्ध के हो?
फूलमायाले सामान्य रूपमै मेखबहादुरसँगको सम्बन्धबारे ‘पारिवारिक सम्बन्ध’ भनेर टारिन्।
धनबहादुरले बढी वास्ता नगरीकन श्रीमतीको कुरा पत्याए।
धनबहादुर नहुँदा फूलमायासँग मेखबहादुरले भेटिरहेको थाहा पाएका गाउँलेले पनि धनबहादुरलाई उचालेछन्- तिम्रो श्रीमतीको चालचलन खासै निको छैन।
गाउँलेबाट पनि यस्तो कुरा सुनेपछि धनबहादुर श्रीमतीप्रति आक्रोशित हुन थालेका थिए। श्रीमान-श्रीमतीबीच कहिलेकाहीँ सोही विषयमा झगडा हुन्थ्यो।
मेखबहादुरसँगको सम्बन्धबाट चिढिएका धनबहादुरले श्रीमतीलाई भन्न थाले- अब यो मेखबहादुरलाई म छाड्दिनँ, यसमा तँ पनि पर्छेस्।
यसरी भयो हत्या
प्रहरीको अनुसन्धानअनुसार दुबैबीचको सम्बन्धबारे धनबहादुरले शंका गर्न थालेपछि फूलमाया जति आत्तिन थालिन्, मेखबहादुरलाई पनि पिरलो उतिकै भयो।
मेखबहादुरले फूलमायालाई उक्त सम्बन्धबारे कुरा बाहिर नआउँदै धनबहादुरलाई ‘सिध्याउनु पर्ने’ योजना सुनाए।
उनको योजनामा साथ दिँदै फूलमायाले अनुकूल समय खोज्न थालिन्। २०७६ असार १९ गते राति श्रीमान् सुतिसकेको मौकामा मेखबहादुरलाई बोलाइन्।
राति १२ बजेको थियो। मेखबहादुर र फूलमायाले सुतिरहेका धनबहादुरको अण्डकोषमा सुरूमा हथौडा प्रहार गरे।
प्रहारबाट धनबहादुर बेहोस् भएपछि दुबैले घाँटीमा डोरीले कसे।
धनबहादुरको प्राण उडेपछि दुबै शव व्यवस्थापनमा जुटे।
फूलमायाले मेखबहादुरलाई डोको दिइन्। मेखबहादुरले धनबहादुरको शव डोकोमा हालेर हिँडे। पछिपछि फूलमाया कोदालो बोकेर लागिन्।
घरभन्दा झन्डै तीन किलोमिटर उत्तर-पश्चिम-दक्षिणस्थित सुन्दरी सामुदायिक वनभित्र धनबहादुरको लास पुर्याए। त्यहीँ खाल्डो खनेर धनबहादुरको शव पुरेर व्यवस्थापन गरे।
यो अनुसन्धानले परपुरुष र परस्त्रीबीचको सम्बन्धले हत्या निम्त्याएको देखाएको छ। दुवैले बयानमा हत्या स्वीकार गरिसकेका छन्।
दुबैले घटनाबारे सविस्तार लाएपछि प्रहरीले सोमबार सुन्दरी सामुदायिक वनमा धनबहादुरको शव पुरेको ठाउँ उत्खनन् गर्यो। मेखबहादुर र फूलमायाले बताएको ठाउँमा उत्खनन् गर्दा धनबहादुरको कंकाल फेला परेको छ।
‘हामीले पाँच फिट गहिरो, पाँच फिट चौडाइ र छ फिट लम्बाइमा खोतल्दा कंकाल फेला पार्यौं,’ प्रहरी निरीक्षक थापाले भने, ‘यो कंकाल परीक्षणपछि मात्र बाँकी अनुसन्धान अघि बढ्दैछ।’
थापाका अनुसार धनबहादुरको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। प्रहरीले सो कंकालको डिएनए परीक्षणका लागि धनबहादुरका आमाबाबुबाट रगत झिकेको छ।
‘डिएनए प्रोफाइलिङ सकिएपछि यो हत्याको अन्तिम अनुसन्धान सकिन्छ,’ थापाले भने।
फूलमाया र मेखबहादुरलाई कर्तव्य ज्यानमुद्दाको अनुसन्धानका लागि जिल्ला अदालतबाट थुनामा राख्ने समय लिइसकिएको छ।