दसैंतिहार लाग्यो। धन कमाउन भारत जानेहरू मनभरि उमंग बोकेर घर फर्किने बेला। कैलालीको त्रिनगर नाका होस् कि कञ्चनपुरको गड्डाचौकी सामान्य अवस्था भएको भए दसैंतिहारका बेला घर फर्किनेहरूको रौनकले गुलजार हुन्थ्यो। तर यो वर्ष कोरोना महामारीले संसारको ‘जिना हराम’ गरेको छ।
कैलालीको गौरीगंगा–७ की रम्बादेवी विष्टका श्रीमान पोहोरपरार यसैबेलातिर झोलाभरि नयाँ सामान बोकेर घर आउँथे।
यो पालि पनि दसैं आउन थालिसक्यो।
मंगलबार त्रिनगर नाकामा रम्बादेवी पनि थिइन्। उनी श्रीमान लिन गएकी होइनन्, श्रीमानसँगै भारत जानेको लाइनमा उभिएकी।
कोरोना लकडाउन सुरू भएपछि गएको चैतमा उनका श्रीमान भारतबाट आएका थिए। ६ महिना घरमा बेरोजगार बसेर घरखर्च चलाउन नसकिएपछि उनी भारत जाने निष्कर्षमा पुगे।
उनीसँगै रम्बादेवी पनि कामकै खोजीमा भारत जान हिँडिन्।
'पोहोर साल त दसैंमा श्रीमान आउने बाटो हेरेर बसेकी हुन्थें। अहिले त आफैं उता हिँड्नुपर्यो,' उनले भनिन्।
गौरीगंगा नगरपालिका–७ मसुरियाका धन बहादुर बम पनि मंगलबार भारत पसे। कैलालीको त्रिनगर नाकामा भारत जानुअघि सेतोपाटीसँग कुरा गर्दै उनले महामारी भए पनि भारत जानुपर्ने बाध्यता परेको बताए।
‘गरिब मान्छेलाई चाडबाड के, महामारी के? भारत कमाउन जानै पर्ने बाध्यता हुन्छ,’ उनले भने, 'रोगभन्दा भोक ठूलो हुँदो रहेछ।'
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ८ का सीताराम राना भारतको रत्नागिरि भन्ने ठाउँमा माछा मार्ने काम गर्थे। वैशाख अन्तिमतिर भारतबाट आएका उनले घरमा समस्या परेपछि फेरि भारत जानेको लाइन उभिन मंगलबार नाका आइपुगेका थिए।
‘सबैतिर समस्या छ। घरको समस्या झन् ठूलो हुने। नेपालमा न जागिर छ न केही। नत्र हामी किन जान्थ्यौं?’ उनले भने ।
उनका घरमा बुढीआमा र भाइ छन्। भाइ पनि भारतमै गएर कमाइ गर्छन्। उनले घरबासबाहेक आफूहरूको केही नभएको बताए।
कैलालीको टीकापुर नगरपालिका–९ का दिनेश डगौरा चार महिना अघि नेपाल आएका थिए। उनी त्यसअघि भारतको सुरतमा ‘पानीपुरी दिने कचौरा’ बनाउने कम्पनीमा काम गर्थे। उनीसँगै ६ जना गाउँले त्यहीँ काम गर्थे।
कोरोना महामारी सुरू भएपछि उनी घर आए।
‘उताबाट आउने बेला देशमै केही गर्नुपर्छ भन्ने सोचाइ थियो,’ उनले सम्झिए।
देश भित्रिँदा यस्तै आश बोकेर आएका उनी दु:खी हुँदै फेरि भारत हानिए।
‘आफ्नै जमिन जग्गा छैन। अरू काम पाएन,' भारत पस्नुअघि मलिन स्वरमा उनले भने।
घरमा उनकी श्रीमती बिमारी छन्। गोजीमा दबाइ किन्ने पैसा छैन।
‘बुढी बिमार छ। उपचार गर्न पैसा छैन। यता काम पाइरहेको छैन त्यसैले मजबुरीले जाँदैछु,’ उनले भने, ‘सरकारले लकडाउन खोलेको भए म भारत जाने थिइनँ। गाडी चलाउने वा घर बनाउने काम गरिहाल्थें तर पाएन,’ उनले भने।
कोरोनाबाट बच्न उनले साथमा सय रुपैयाँको सेनिटाइजर बोकेका छन्। मास्क लगाएका छन्। दूरी कायम भने गर्न सकेका छैनन्।
पहलमानपुरका नवीन गिरीले भारतमा दैनिक कोरोनाका ७०/८० हजार संक्रमित भेटिने गरेको कुरा आफूलाई जानकारी रहेको बताए।
‘कोरोनाको डर त लाग्छ तर आर्थिक समस्या त्यो भन्दा ठूलो हुँदो रहेछ,’ उनले भने।
उनी पनि अब स्वदेशमै केहीगरी खानुपर्छ भन्ने सोचले भारतबाट पाँच महिना अगाडि फर्केका थिए।
‘सोचे जस्तो कहाँ हुन्छ र ? न आफूसँग लगानी छ न त यहाँ काम पाइन्छ,’ उनले भने।
आफ्नो देश छोडेर जाँदा उनलाई निकै नरमाइलो लागेको छ रे।
‘मिति तोकेर जाने निर्णय गर्छौं। जब जाने दिन आउँछ, त्यो दिन एकदमै मनमा गाह्रो हुन्छ,’ उनले भने, ‘बोर्डरबाट पार गर्दा पनि मन सिरिङ्ग हुन्छ।’
उनीहरू जस्तै सयौं नेपाली यो नाका हुँदै भारत गइरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले राखेको तथ्यांकअनुसार यस भदौ महिनामा मात्र त्रिनगर नाका हुँदै ८ हजार ४ सय ४६ जना भारत गए।
माछा मार्ने र स्याउ टिप्ने सिजन सुरू भएकाले यी काम गर्नेहरू बढी जाने गरेका छन्।
यस्तै कम्पनीमा सामान बनाउने, मजदूरी गर्ने र घरायसी विभिन्न काम गर्न पनि भारत जान लागेको उनीहरू बताउँछन्।
भारत जान त्यहाँको आधार कार्ड नभएका, नेपाली नागरिकता नभएका वा अरू कागजपत्र नपुगेकाहरू लुकीछिपी मोहना नदी तरेर पनि भारत जान थालेका छन्।
भारत जान वडा कार्यालयको सिफारिस
केहीलाई त वडा कार्यालयले सिफारिस गरि भारत पठाउने गरेका छन्। कैलालीको गौरीगंगा नगारपालिकाको वडा नम्बर ५ को कार्यालयले स्थानीय ६ जनालाई भारत जान सजिलो होस् भनेर सिफारिस गरिदिएको छ।
स्थानीय राजाराम चौधरी, धनबहादुर बोगटी, राजबहादुर थापामगर, मनिष थापा मगर, जित बहादुर साउद र खडक पुलामीलाई आतेजातेमा आवश्यक सहयोग गरिदिन कार्यालयले सिफारिस सहित अनुरोध गरेको छ। ती मध्येका राजाराम चौधरीलाई भारतमा कसैले सोधे यही कागज देखाउँदा सजिलो होला जस्तो लागेको छ ।
स्थानीय सरकारले दिने भनेको रोजगारी कहिले ?
टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलले भारतबाट फर्केका र कोरोना प्रभावितका लागि यस वर्ष ५० लाख बजेट छुट्याइएको बताए।
उनले मागका आधारमा उक्त बजेट दिइने बताए।
तर उक्त बजेटबारे प्रशासनिक काम सञ्चालन हुन कात्तिक महिना लाग्ने उनको भनाइ छ।
अहिले यस नगरपालिकाका थुप्रै स्थानीय फेरि भारत गइरहेका छन्।
उनले भारतबाट फर्केका सबैलाई समेट्न नसकिने बताए।
‘भारत जाने पुरानै प्रचलन हो, नजाऊ भने पनि रोकिन गाह्रो छ,’ उनले भने।
यहाँका अरू स्थानीय तहले पनि बजेटमा भारतबाट फर्केकाहरूलाई भनेर व्यवस्था गरेको बताएका छन्। यी कार्यक्रमको कार्यान्वयन हुन भने समय लाग्ने देखिन्छ।
भारत जानेलाई सरकारले समातेर राख्न नसकिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताइन्।
‘भारत जानेलाई सरकारले समातेर रोक्न सक्दैन,’ उनले भनिन्।
भारतबाट फर्केकालाई लक्षित गरेर रोजगारीका लागि १५ करोड छुट्याएको छ। सरकारले ल्याएको कार्यक्रममा सहभागि हुन भने मन्त्री चौधरीको आग्रह छ।
कृषि, भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा रोजगारीका प्रशस्त आधार सरकारले बनाएको उनले दाबी गरिन्।
'केहिले लकडाउनमै व्यवसाय गर्न सुरू गरिसकेका उदाहरण छन्। स्वदेशमै गर्न चाहनेले गरिहेकै छन्,' उनले भनिन्, ‘अहिले बजेट छ, कार्यक्रम छ र उपभोक्ताबाट काम गर्ने भनेर सरकारी निर्देशन पनि छ।’
भारतमा गर्ने काम यहाँ पनि गर्न सकिन्छ भन्ने धारणा हुनुपर्ने उनको भनाइ छ। अहिले गौरीफन्टामा कामदार लैजान भनेर भारतका ठेकेदार बसेका हुन्छन् भन्ने जानकारी उनलाई रहेछ।
‘उनीहरू लैजान आउँछन् यताबाट पनि जान्छन्,’ मन्त्री चौधरीले भनिन् ।
सबै दोष सरकारलाई दिनुभन्दा पनि आफू पनि यहीँ काम गर्न इच्छुक हुनुपर्ने मन्त्री चौधरीको भनाइ छ।