सामूहिक बलात्कारमा न्याय नपाएपछि सप्तरी डाकनेश्वरी नगरपालिका-७ की संगीता मण्डलले सोमबार राति घरमै आत्महत्या गरिन्। नगरपालिकाभित्र नै बलात्कारजस्तो गम्भीर अपराधमा पीडित हुँदा कानुनी बाटो अपनाउन नपाई आत्महत्या गर्न बाध्य भएको देखिएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको शव परीक्षणको विस्तृत रिपोर्ट आइसकेको छैन। प्रारम्भिक रिपोर्टमा बलात्कार भएको पुष्टि भइसकेको छ।
उनलाई बलात्कार गर्ने चार जना फरार छन्। आरोपितहरू सोही ठाउँका ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, रञ्जित मण्डल (१८) र बब्लु मण्डल (१९) छन्।
उनीहरूमध्ये धर्म र विष्णुले बलात्कार गरेको र अरू दुई युवाले प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटना सोमबार बिहानको ९ बजेको हो।
घरदेखि करिब पाँच सय मिटर टाढा खेतमा लगेर उनीहरूले संगीतालाई बलात्कार गरेका थिए। हतपत कसैले नदेख्ने र बोलेको पनि नसुनिने ठाउँमा लगेर उनीहरूले संगीतालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलात्कार हुँदा दुई युवाले उनको मुख हातले छोपेका थिए।
बलात्कारपछि रक्ताम्य भएर संगीता घर पुगेकी थिइन्। आमाले सोधेपछि उनले घटनाबारे सबै बताइन्।
घरमा आमा, संगीता र उनका भाइमात्र छन्। संगीताका बाबु बितिसकेका छन्। दाजु वैदेशिक रोजगारीमा छन्। उनीहरू अति विपन्न परिवारका हुन्।
सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीका यो खबर तत्काल प्रहरीमा आइनपुग्दा युवतीले आत्महत्या गर्ने परिस्थिति सिर्जना भएको बताए।
सो वडामा प्रहरी कार्यालय छैन। वडा नम्बर ८ मा प्रवाहामा प्रहरी चौकी छ। तर, त्यहाँ खबर गर्नुको सट्टा गाउँलेले ‘पञ्चायती’ राखेर घटना प्रहरीमा पुग्न नदिएको देखिएको छ।
युवतीकी आमाले पनि सुरूमा न्यायको अपिल समुदायस्तरबाटै खोजिन्। ‘भद्रभलाद्मी’लाई अनुरोध गरिन्। उनी प्रहरीमा सिधै रिपोर्ट गर्न गएको भए ‘अप्रिय’ परिस्थिति सिर्जना हुँदैनथ्यो।
ती ‘भलादमी’ले युवतीको बेइज्जत हुने भन्दै घटना प्रहरीसम्म पुग्न दिएनन्। बरू क्षतिपूर्ति तिराउँदा उचित हुने भनेर पीडितलाई डरत्रास देखाए।
प्रहरीका अनुसार पञ्चायती गराउने आठ जना थिए। तीमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक भारतीले उनीहरूलाई बलात्कार मुद्दामा मतियारको भूमिका खेलेको, प्रमाण नष्ट र आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरिएको बताए।
बलात्कार भएको दिन दिउँसो २ बजे गाउँमै ‘पञ्चायती’ भेला राखिएको थियो। सो भेलाले चारै युवाबाट जनही २५/२५ हजार जरिवाना तिराउने ‘फैसला’ गरेको थियो।
यो निर्णयको आमाछोरी दुवैले विरोध गरेका थिए। भोलिपल्ट प्रहरीमा जाने तयारी गर्दागर्दै संगीताले राति १० बजे सलको पासो लगाएर आत्महत्या गरिन्।
वडाध्यक्ष रामनारायण चौधरीका अनुसार आत्महत्या गरेपछि मात्र प्रहरीलाई खबर पुगेको थियो। प्रहरी आएर सोधपुछपछि शवको मुचुल्का उठायो। यसबेलासम्म संलग्न चारै युवा फरार भइसकेका थिए।
‘मृतककी आमाले जाहेरी लिएर आउँदै हुनुहुन्छ, फरारहरूको खोजी भइरहेको छ,’ डिएसपी भारतीले भने।
प्रहरीले त घटनाबारे थाहा पाएन तर स्थानीय जनप्रतिनिधिले पनि पीडितलाई कानुनी उपचार दिन बेवास्ता गरेको देखिएको छ।
तराई-पहाडमा विभिन्न रुढिवादी परम्परा छन्। यहाँको सामाजिक संरचनामा पहिला व्यक्ति, परिवार, समाज अनि मात्र अन्य निकाय हुन् भन्ने ‘मान्यता’ छ।
‘आफ्नो घरगाउँको कुरा आफैं मिलाउने खालको सामाजिक संरचनाले पनि यस्तो घटना निम्तिन सक्छ, पञ्चायतीजस्तो रुढिवादी परम्परा अझै पनि जारी हुनु दु:खद् हो,’ पूर्वएआइजी देवेन्द्र सुवेदी भन्छन्, ‘अपराध-हिंसा हुँदा कानुन कार्यान्वयनको बाटो अपनाउनुपर्छ भन्ने ज्ञान हामीले पुर्याउन सकेनौं। प्रहरीले चलाउने कार्यक्रमको बीचमा ‘ग्याप’ छ।’
पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार सामाजको तल्लो तह वा कम पढेलेखेका समुदायमा प्रहरीको अभियान पुगेको छैन। त्यस्तो समुदायमा प्रहरीकहाँ कसरी जाने ज्ञान पनि छैन।
‘पढेलेखेकै ठाउँमा पनि गाउँघरका पञ्चायतीले आवाज दबाएको छ, त्यसको असर छ,’ मल्लले भने, ‘गाउँको सामाजिक संरचनामा कार्यक्रम पुर्याउन सकिएको छैन। प्रहरीले पुर्याउन नसकेको र जनताले प्रहरीलाई विश्वास गर्न नसकेको देखिन्छ।’
कतिपय ठाउँमा त प्रहरीमा सुनुवाइ हुँदैन कि भनेर जाँदै नजाने प्रवृत्ति पनि छ।
प्रहरी प्रधान कार्यालयले भने घटना ‘नोटिस’मै नआउनुलाई प्रहरीको कमजोरी मान्न नमिल्ने बतायो।
‘यस्ता घटनामा अन्य निकाय पनि जिम्मेवार हुनुपर्छ,’ प्रहरी प्रवक्ता कुबेर कडायतले भने, ‘जानकारीमा आउननासाथ प्रहरीले पञ्चायती गर्नेलाई पक्राउ गरेको छ, फरारको खोजी थालेको छ।’