गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाइफसका १ सय ५९ जना संक्रमण देखिएका छन्। जसमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु १०५ जनालाई देखिएको छ भने एक प्रकारको किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफसको संक्रमण ५४ जनालाई देखिएको छ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार यो तथ्यांक गत माघ ६ गतेदेखि भदौ ३१ सम्मको तथ्यांक हो।
गण्डकी प्रदेशमा सबभन्दा धेरै म्याग्दीमा ६४ जनालाई डेंगुको संक्रमण देखिएको छ भने ४३ जनालाई स्क्रब टाइफसको संक्रमण देखिएको छ।
त्यसपछि कास्कीमा २० जनालाई डेंगु र २ जनालाई स्क्रब टाइफसको संक्रमण देखिएको शर्माले बताए । तनहुँ, मनाङ र मुस्ताङमा भने दुबै संक्रमण नदेखिएको उनले बताए।
कोरोना भाइरस संक्रमणका कारण डेंगु र स्क्रब टाइफसको संक्रमण ओझेलमा परेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।