कक्षाकोठामा जम्मा दुई जना विद्यार्थी एउटै डेस्कमा बसेका। उनीहरूलाई नै सिकाउँदै थिइन्, शिक्षिका निरशोभा गुरूङ।
कास्कीको भुर्जुङखोलास्थित माछापुच्छ्रे मावि कक्षा–६ मा पढ्ने ती दुई विद्यार्थी ढिलो गरी भर्ना भएका थिए।
ढिलो भर्ना हुँदा छुटेको पढाई पुरा गराउन दुई जनालाई विद्यालयमा नियमित बोलाइएको थियो। उनीहरू एकसाता अघिमात्र भर्ना भएका थिए।
हप्ताको तीन दिन भने सबै विद्यार्थी विद्यालयमा हाजिर हुन्छन्। त्यतिबेला उनीहरू दुई जना पनि आउँछन्।
हामी पुगेको दिन अरू विद्यार्थी घरमै स्वअध्यन र विद्यालय शिक्षा लिइरहेका रहेछन्।
‘अरूले घरमै पढिरहेका बेला कोर्स पूरा गर्न दुई जनालाई नियमित छुट्टै कक्षामा बोलाइएको हो, शिक्षिका गुरुङले भनिन्।
विद्यालयमा अहिले यसरी भर्ना हुनेको संख्या पहिले भन्दा बढी छ।
पढाइ राम्रो भएका कारण सहरका बोर्डिङ स्कुल पढ्ने विद्यार्थी गाउँकै यो सरकारी स्कुलमा भर्ना हुने क्रम बढेको हो। लकडाउनका कारण शहरका विद्यालय बन्द छन्। गाउँ फर्किएका विद्यार्थी यही स्कुलमा भर्ना भए।
पछिल्लो उदाहरण, कक्षा ३ मा पढ्ने अक्षत आचार्य हुन्।
उनी यसअघि काठमाडौंस्थित ह्वाइट हेभन एकेडेमीमा पढ्थे। लकडाउन भएपछि अक्षत अभिभावकसँगै गाउँ फर्किएका थिए। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला फर्किएका अक्षतले गाउँकै स्कुल मन पराए।
पोखराको लामाचौरस्थित सरस्वती आदर्श विद्याश्रममा कक्षा–८ मा पढ्ने सहारा बज्राचार्य पनि अहिले गाउँकै स्कुल जान थालेकी छिन्। लकडाउनका कारण गाउँ फर्केकी सहारा भन्छिन्, ‘गाउँकै स्कुलमा राम्रो पढाइ छ, अब यहीँ पढ्ने हो।’
भुर्जुङखोलास्थित माछापुच्छ्रे माविमा अक्षत र सहाराजस्तै २० जनाबढी विद्यार्थी सहरका बोर्डिङ छाडेर भर्ना भएका छन्। उनीहरूका अभिभावकले पनि आफ्ना छोराछोरी गाउँमै पढाउने निर्णय लिएको विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले बताए।
सहरमा पढेका विद्यार्थीलाई गाउँको स्कुलसँग जोड्न विद्यालयले लकडाउन पछि धेरै कसरत गर्यो।
लकडाउनको समयमा पनि विद्यार्थीलाई सिकाइमा उत्सुक बनाइराख्न स्कुलले पहिलो चरणमा वैशाख १० देखि जेठ ३ गतेसम्मका लागि घरमै बसेर गर्न सकिने अभ्यास दिएको थियो।
विद्यार्थीले गरेका अभ्यासको परीक्षण गर्न विद्यार्थीले फरक( फरक समयमा स्कुल गएर शिक्षकलाई बुझाउने गर्थे।
यही सिकाइ अभ्यास विद्यालयले आफ्ना विद्यालयमा पढ्ने विद्यार्थीलाई मात्र दिएनन्, नजिकका छिमेकी विद्यालयका विद्यार्थी र लकडाउन छल्न सहरबाट गाउँ फर्केका विद्यार्थीलाई पनि दिए। त्यही सिकाइ अभ्यासले बालबालिकालाई गाउँको विद्यालयमा तान्यो, अभिभावकको मन पगाल्यो।
‘हामीले हाम्रो क्षेत्रभरिका बालबालिकालाई सिकाइ अभ्यासमा सहभागी गरायौं,’ प्रधानाध्यापक आचार्यले भने, ‘विद्यार्थी र अभिभावकले हामीले दिएका अभ्यास मन पराइदिए।’
लकडाउन भएपछि यो विद्यालय एक महिना पनि बन्द भएन। शिक्षकहरू सधैं विद्यालय गइरहे। बालबालिकालाई सिकाइमा कसरी सामेल गराइराख्ने भनेर सोच्न थाले। एसइई परीक्षा स्थगित र चैत ११ गतेदेखि लकडाउन भएपछि विद्यालयले पहिलो प्राथमिकता एसइई दिने विद्यार्थीलाई दिए। उनीहरूलाई घरमै बसेर परीक्षाको तयारी गर्न एक महिने अभ्यास सामग्री बनाएर दिए। विद्यालयमा एसइई दिने विद्यार्थी ६४ जना थिए।
सरकारले एसइई परीक्षा नलिने भयो। विद्यालयहरूलाई आन्तरिक मूल्याङ्कन गरेर पठाउन शिक्षा मन्त्रालयले निर्देशन दियो। माछापुच्छ्रे माविले भने परीक्षा लियो। जेठ १६ गतेदेखि एसइई दिने विद्यार्थीसँग आठ वटै विषयको परीक्षा लियो। त्यही परीक्षाका आधारमा अंक दिएर पठाएको प्रधानाध्यापक आचार्यले बताए।
अन्य कक्षाका विद्यार्थीलाई जेठ ११ देखि साउन ६ गतेसम्मका लागि दोस्रो चरणको पाठ्य सामग्री बनाएर वितरण गरे। पहिलो चरणमा दुई वटा कक्षालाई एउटै पाठ्य सामग्री थियो। दोस्रो चरणदेखि कक्षागत रूपमा र विषयगत रूपमा छुट्टाछुट्टै पाठ्य सामग्री तयार गरे। कक्षामा पढ्नुपर्ने किताबमै आधारित भएर पाठ्य सामग्री तयार गरेको विद्यालयका गणित विषयका शिक्षक निलराज अधिकारीले बताए।
गणित विषयको स्वअध्ययन सामग्री बनाउन अन्य विषयमा जस्तो सजिलो थिएन। गणितका फर्मुला र उदाहरण राखेर स्वअध्ययन सामग्री बनाएको शिक्षक अधिकारीले बताए। विद्यार्थीले उक्त फर्मुला कस्ता समस्या समाधान गर्न प्रयोग हुन्छ भनेर अहिले कक्षामा पढिरहेका छन्।
विद्यालयले बनाएका स्वअध्ययन सामग्रीमा धेरै प्रश्नहरू छन्। उक्त प्रश्नका उत्तर विद्यार्थीले कापीमा लेखेर स्कुलमा गई शिक्षकलाई बुझाउनुपर्छ। यसका लागि विद्यालय समयमा विद्यार्थी जुनसुकै समयमा जान सक्ने वातावरण बनाएको प्रधानाध्यापक आचार्यले बताए।
स्वअध्ययन सामग्री वितरण गर्न अलग(अलग कक्षाका विद्यार्थी र अभिभावकलाई छुट्टाछुट्टै समयमा वितरण गरेका थिए। यी प्रश्नका उत्तर किताबमा छन्, किताब पढेर उत्तर लेख्नु भनेर वितरण गरेको आचार्यले बताए।
विद्यार्थीले नजाने के गर्ने तरु
प्रअ आचार्यले भने, ‘जुनसुकै बेला विद्यार्थी समूहमा वा एक्लाएक्लै विद्यालय आउने, सम्बन्धित शिक्षकलाई सोध्ने।’
प्रश्न सोध्नकै लागि लकडाउनमा पनि हप्ताको दुई दिन फरक–फरक समय पारेर विद्यार्थीलाई विद्यालय बोलाएको आचार्यले बताए।
यसरी तयार पारिएका प्रश्न र स्वअध्ययनमा विद्यालयमा पढ्ने सबै विद्यार्थी सहभागी भएको आचार्यले बताए। उनका अनुसार कक्षा १ भन्दा तलका विद्यार्थीलाई भने पुस्तिकामै लेख्न सक्ने गरी स्वअध्ययन सामग्री तयार पारेर वितरण गरिएको थियो।
कोरोना भाइरसको संक्रमण तत्काल टुङ्गिने अवस्था नभएकाले यसरी पठन–पाठन अघि बढाएको उनले बताए।
सहरमा जस्तो गाउँका विद्यार्थी इन्टरनेटको पहुँचबाट टाढा छन्। त्यसमाथि गरिबीलगायत कारण सबै विद्यार्थीले अनलाइन कक्षा पढ्न सक्दैनन्। रेडियो र टिभीबाट हुने पढाइले पनि सिकाइ उपलब्धीमूलक नहुने ठानेर आफूहरूले घरघरमै विद्यार्थीले पढ्न सक्ने गरी वैकल्पिक अभ्यास गरेको आचार्यले बताए।
विद्यालयले बनाएका स्वअध्ययन सामग्री सबै विषय शिक्षकले कक्षा र पाठ्यक्रम हेरेर बनाएका छन्। प्रश्नहरू सजिला राखिएका छन्, विद्यार्थीले किताब पढ्नेवित्तिकै सम्झन सक्छन्। अन्य स्कुलबाट नयाँ भर्ना हुन आएका विद्यार्थीलाई समेत सजिलो होस् भनेर प्रश्न नेपाली र अंग्रेजी भाषामा राखिएका छन्।
माछापुच्छ्रे माविले आफूले बनाएको पाठ्यसामग्री अहिले देशभरका विद्यालयहरूमा पुर्याउने लक्ष्य राखेको छ।
पोखरा महानगरले मात्र कक्षा–१ देखि कक्षा–१० सम्मका पाठ्य सामग्रीको इकपी पोखरा महानगरले विद्यालयसँग एक लाख रुपैयाँमा खरीद गरेको छ। पोखराभरिका सार्वजनिक विद्यालय पढ्ने ४१ हजार विद्यार्थीलाई प्रिन्ट गरेर वितरण गरिसकेको छ।
हाम्रो विद्यालयले बनाएको यस्ता सामग्री कास्कीमा मात्र नभई म्याग्दी, बाग्लुङ, स्याङ्जा, तनहुँलगायत तराईका जिल्लाहरू नवलपरासी, रुपन्देही, कैलालीसम्म पुगेका छन्। अहिलेसम्म २६ वटा भन्दा बढी स्थानीय तहले उक्त सामग्री खरिद गरेका छन्। ती सामग्री बिक्री गरेर हालसम्म ८ लाख रुपैयाँ जम्मा भइसकेको छ।
ुउक्त रकमबाट विद्यालयमा आउने विद्यार्थी र अभिभावकलाई मास्क र सेनिटाइजर साथै केही स्वास्थ्य सामग्री समुदायमा लगेर वितरण गर्यौं,ु आचार्यले भने,ुबाँकी रकम भने शिक्षकलाई उनीहरूको श्रम अनुसार वितरण गरिएको छ।ु
लकडाउनमा स्वअध्ययन सामग्री बनाएपछि छपाइ गर्न भने पोखराको ‘राइट फर चिल्ड्रेन’ नामक गैरसरकारी संस्थाले सहयोग गरेको आचार्यले बताए।
विद्यालयका शिक्षकहरूले आ–आफ्ना विषयमा स्वअध्ययन सामग्री तयार पारेपछि आचार्यले उक्त संस्थालाई प्रकाशित गरिदिन प्रस्ताव गरे। संस्थाले उक्त पाठ्य सामग्री हेरेपछि छापिदिने बचन दिए। माछापुच्छ्रे माविसहित उक्त संस्थाको कार्यक्षेत्र रहेका विद्यालयहरुलाई सोही संस्थाले निस्शुल्क विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरे।
माछापुच्छ्रे माविमा अहिले ६ सय ४० जना विद्यार्थी अध्यनरत् छन्। विद्यालयमा सरकारी दरबन्दीमा कार्यालय सहायकसहित २२ जनाको दरबन्दी छ भने १३ जना शिक्षक निजी दरबन्दीमा छन्। अहिले विद्यालय नियमित चलेका छन्। कक्षामा विद्यार्थीहरू पूरा उपस्थित छन्, शिक्षकले नियमित अध्यापन गराइराखेका छन्।
कोरोना भाइरसको महामारी फैलिन नदिन सबै विद्यार्थी एकै पटक स्कुल आउँदैनन्। नर्सरीदेखि कक्षा–१, २, ३, ४, ६ र ९ का विद्यार्थी आइतबार, सोमबार र मंगलबार मात्र स्कुल आउँछन् भने नर्सरी, एलकेजी, युकेजी, कक्षा–५, ७, ८ र कक्षा १० का विद्यार्थी बुधबार, बिहीबार र शुक्रबार मात्र विद्यालय हाजिर हुन्छन्।
विद्यार्थीलाई स्कुल आउन पोशाक अनिवार्य गरिएको छैन। मास्क, सेनिटाइजर र भौतिक दुरी राखेर अध्ययन–अध्यापन गराइएको आचार्य बताउँछन्। उनका अनुसार आवश्यकता अनुसार कहिलेकाहीँ बिहानसमेत कक्षा चलाइएको छ।
‘शिक्षक–विद्यार्थी दोहोरो संवाद नहुँदासम्म सिकाइ हुँदैन,’ आचार्य भन्छन्, ‘अनलाइन, रेडियो वा टिभी कक्षाबाट सम्भव नहुने देखेर नै हामीले समुदाय र विद्यालयमा शिक्षक–विद्यार्थी संवाद गराएका हौं।’
विद्यालयले घरमै बसेर अध्ययन गर्न र उत्तर लेख्न दिएका सामग्रीमा पनि विद्यार्थीलाई नै धेरै सहभागी गराएको उनी बताउँछन्।
घरमा उत्तर लेखेर ल्याउनु भनेका प्रश्नहरू विद्यार्थीले नजानेर छाडेका धेरै उदाहरणहरू छन्। यस्तो समस्या विद्यार्थीले नै समाधान गरोस् भनेर एक जना विद्यार्थीले नजानेका प्रश्नको उत्तर मिलाएका अर्का विद्यार्थीलाई सोध्न विद्यालयमै विद्यार्थीहरू भेला हुन्छन्, प्रश्नहरूको उत्तर खोज्छन्। त्यस्तो अवस्थामा विषय शिक्षकले सहजीकरण गरिदिने उनले बताए।
विद्यार्थीलाई पाठ्यपुस्तक पढ्न र पाठमा आधारित प्रश्नको उत्तर लेख्न लगाएर सिकाइमा पहुँच पुर्याएको उनले बताए। यति काम गर्दासम्म सरकारले वैकल्पिक शिक्षाका नीति बनाएकै थिएन। शिक्षा मन्त्रालयले असोज १ गतेदेखि लागू गर्न भन्दै वैकल्पिक शिक्षा निर्देशिका ल्याएको छ। निर्देशिकामा अनलाइन, रेडियो वा टिभी कक्षालाई जोड दिइएको छ।
तर, माछापुच्छ्रे माविले चलाएको वैकल्पिक शिक्षा भने फरक छ। लकडाउनकै समयमा पनि अभिभावक बोलाएर वैकल्पिक शिक्षाका बारेमा शिक्षकले अन्तरक्रिया गरेका छन्। विद्यालयले फरक–फरक दिनमा फरक–फरक कक्षाका अभिभावक भेला बोलाएर वैकल्पिक शिक्षाबारेमा अभिभावकलाई जानकारी गराएका छन्। कतिपय अभिभावकलाई नै स्वअध्ययन सामग्री प्रदान गरिएका छन्।
विद्यालयले बनाएका स्वअध्ययन सामग्री देशका विभिन्न विद्यालयमा पुगेपछि अन्यत्रका शिक्षकले उक्त सामग्रीप्रति टिप्पणी गरेका छन्। धेरैले सजिला प्रश्नहरू राखियो भनेका छन् त कतिले अप्ठ्यारा। विद्यार्थीले पाठ्यपुस्तक पढोस् र केही लेखोस् भनेरै सजिला प्रश्न राखिएका गणित विषयका शिक्षक अधिकारीले बताए।
‘शिक्षकले सिकाउन पाएका छैनन्, विद्यार्थी आफैं पाठ पढेर उत्तर खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यस्तो बेला किन अप्ठ्यारो प्रश्न राख्ने।’
विद्यार्थी सिकाइमा सक्रिय हुनु नै उपलब्धी मान्नुपर्ने उनले बताए।
पाठ्यपुस्तक बनाउन पनि शिक्षकले धेरै नै मेहनत गरेका छन्। लकडाउन हुने भएपछि सोही विद्यालयमा अध्यापन गराउने एक जना शिक्षक रुपन्देही घर गए। विद्यालयले पाठ्य सामग्री बनाउने भनेपछि ती शिक्षकले घरमै बसेर तयार पारे। मोबाइलले फोटो खिचेर विद्यालयमा पठाए। बाहिर भएका शिक्षकले बनाएको सामग्री विद्यालयका अन्य शिक्षकले टाइप गरेर वितरण गरे। अहिले भने सबै शिक्षक विद्यालयमा हाजिर भइसकेका छन्, नियमित अध्यापन गराइरहेका छन्।
लकडाउन भएपछि देशका धेरैजसो विद्यालय क्वारेन्टिन र केही आइसोलेसन बनेका छन्। भुर्जुङखोलास्थित माछापुच्छ्रे माविलाई पनि क्वारेन्टिन बनाउन स्थानीय जनप्रतिनिधिदेखि स्थानीय लागिपरेका थिए।
विद्यालयमा शिक्षक नियमित काम गरेको देखेपछि गाउँमै रहेको आमा समूहको भवनलाई क्वारेन्टिन बनाइयो।
बरू क्वारेन्टिन बनाउन शिक्षकहरूले चन्दा संकलन गरेर २० हजार रुपैयाँ प्रदान गरे।
अहिलेसम्म भुर्जुङखोलामा देश–विदेशबाट फर्कने कोही पनि कोरोना संक्रमित छैनन्। यसले पनि विद्यालयलाई आफ्नो वैकल्पिक सिकाइ अघि बढाउन सहयोग पुगिरहेको छ।
विद्यालयमा अभिभावक बोलाउने, विद्यार्थी बोलाउने काम गर्दा कतिपय स्थानीयले लकडाउनमा विद्यालय खोलेको भन्दै आलोचना गरे। स्वास्थ्य मापदण्ड अपनाएर धेरै जना भेला हुन नदिई सिकाइ अघि बढाउन वडा अध्यक्षलगायत जनप्रतिनिधि सहमत भएपछि वैकल्पिक सिकाइ अभियान अघि बढेको प्रअ आचार्यले बताए।
माछापुच्छ्रे मावि मात्र होइन, अन्यत्र पनि विद्यालय यसरी सञ्चालन गर्न सकिन्छ। विद्यार्थीलाई सिकाइमा प्रेरित गर्न सकिन्छ। तर, त्यसतर्फ सरकार, शिक्षक र स्थानीय जनप्रतिनिधिले ध्यान दिएका छैनन्। प्रअ आचार्यले स्थानीय सरकारले आफूले शिक्षामा पाएको अधिकार प्रयोग नै गर्न नसकेको बताए। उता, शिक्षा मन्त्रालय भने निर्देशन जारी मात्र गरिरहेको छ।
माध्यमिक तहको शिक्षा स्थानीय तह मातहत गएको छ। तर, बजेट छुट्याउने बेला विद्यालय शिक्षा जहिल्यै उपेक्षामा पर्ने गरेको उनको अनुभव छ।
‘हेर्दा शिक्षामा धेरै बजेट देखिन्छ,’ उनले भने, ‘तर, त्यो सबै शिक्षक तलब र विद्यार्थीलाई वितरण गरिने निस्शुल्क किताब खर्च हो, सिकाइ अभ्यास बढाउन लगानी नै छैन।’
माछापुच्छ्रे माविका शिक्षकहरू अहिले नियमित पठन–पाठनका साथै अर्को काममा पनि व्यस्त छन्। उनीहरूले आ–आफ्ना विषयका पाठ्यपुस्तक मर्ज गरिरहेका छन्। कसरी थोरै समयमा धेरै सिकाइ उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उनीहरूको योजना छ।
सरकारले के निर्देशन जारी गर्ला र काम गरौंला भनेर माछापुच्छ्रे माविका शिक्षक कुरेर बसेनन्। कोरोना महामारीलाई उनीहरूले सिर्जनशील सिकाइ अभ्यासको अवसर ठाने।
‘विद्यार्थीलाई निरन्तर सिकाइमा इन्गेज गरिएन भने उनीहरूले विद्यालय छाड्न सक्छन्,’ प्रध्यानाध्यापक आचार्यले भने, ‘कोरोना महामारीमा तर्किने होइन, आफ्नो सिर्जनशीलता देखाउने हो।’
विद्यालयका शिक्षकहरूमा पनि आपसी समझदारी र सहकार्य उदाहरणीय छ। विद्यालय प्रशासनबाट कोही पनि शिक्षक असन्तुष्ट छैनन्। यस्तो हुनुको कारण सामूहिक छलफल र निर्णयले हो। विद्यालयका सम्बन्धमा कुनै पनि निर्णय प्रधानाध्यापक एक्लैले लिँदैनन्।
‘मलाई एकदम मन परेका कुरा पनि म एक्लै निर्णय गर्दिनँ,’ उनले भने, ‘एकछिन भनेपनि स्टाफ मिटिङ बोलाएर सबै साथीहरू सहमत भए मात्र निर्णय गर्छौं।’
उनले शिक्षकहरूलाई पनि अध्ययन–अध्यापनमा आवश्यक निर्णय लिन भनेका छन्। कक्षा कोठामा चाहिने शैक्षिक सामग्री खरिद गर्नुपरेमा प्रधानाध्यापकलाई सोधि राख्नुपर्दैन। आफैं किनेर बिल पेश गरे पुग्छ। अन्य शिक्षकलाई राम्रोरनराम्रो लागेका विषय पनि सहजै छलफल गर्ने र निर्णय गर्ने परिपाटी प्रअ आचार्यले मिलाएको बताए।
माछापुच्छ्रे माविले आफ्नै मौलिकतामा वैकल्पिक सिकाइ अभियान चलाएको हो।
विद्यालयले अंग्रेजीको शब्दकोष आफैंले तयार गरेर विद्यार्थीलाई वितरण गरेको छ। प्रअ आचार्य आफैंले अंग्रेजीमा निबन्ध लेखेर विद्यार्थीलाई पढ्न दिएका छन्।
अंग्रेजी शब्दकोष बनाउन पनि उनले विद्यार्थीलाई नै सहभागी गराएका छन्। किताबभरि रहेका अप्ठ्यारा शब्द खोज्न विद्यार्थीलाई लगाए। कक्षगत रुपमा ती शब्दको सूची तयार भयो। त्यसपछि फेरि तिनका अर्थ खोजेर ल्याउन भने। विद्यार्थीले ल्याए।
विद्यार्थीले खाजेका अप्ठ्यारा शब्द र तिनका अर्थलाई केही सुधार गरेर विद्यालयस्तरका शब्दकोष तयार पारे, विद्यार्थीलाई वितरण गरे। यस्तै, अभ्यास अन्य विषयमा पनि लकडाउनअघिदेखि हुँदै आएको थियो। माछापुच्छ्रे माविमा कोही पनि विद्यार्थी अहिले शिक्षकसँग डराउँदैनन्, निर्धक्क सोध्न सक्ने वातावरण बनेको छ।
कोरोना भाइरस महामारीले माछापुच्छ्रे माविका शिक्षकलाई झनै धेरै काम गर्नुपर्ने बनाइदिएको छ। वैकल्पिक अध्ययन सामग्री तयार गर्नेदेखि एउटै कक्षाका विद्यार्थीलाई फरक(फरक समूह बनाएर अध्यापन गराउनुपर्ने जिम्मेवारी छ।
प्रअ आचार्य भन्छन्, ‘शिक्षकले जति मेहनत गर्छ विद्यार्थी उति नै सिकाइमा प्रेरित हुन्छन्।’