त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएका डाक्टर गोविन्द केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो।
जुम्लामा अनशन बसेका डाक्टर केसी आठौं दिनमा काठमाडौं ल्याइएको थियो। जुम्लाबाट सोमबार नेपालगञ्ज जहाजबाटै पुर्याइएका केसीलाई मंगलबार बुद्ध एयरबाट काठमाडौं ल्याइएको हो।
उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अस्वीकार गरेपछि केसीलाई काठमाडौं ल्याइएको हो।
जहाजबाट उत्रेका डाक्टर केसीलाई शिक्षण अस्पतालबाट पठाइएको गाडीमा राखियो। उक्त गाडीका चालक हुन्- मिठराम थापा।
अस्पताल प्रशासन प्रमुख माधवप्रसाद घिमिरेले डाक्टर केसीलाई शिक्षण अस्पताल ल्याउनु भनेपछि आफू एम्बुलेन्स लिएर विमानस्थल पुगेको उनले जानकारी दिए।
जब डाक्टर केसीलाई एम्बुलेन्समा राखियो तब त्यहाँ प्रहरीहरू पनि बसे। विमानस्थल गेटबाट केही अगाडि पुगेपछि थप प्रहरी एम्बुलेन्समा चढे।
‘डाक्टर केसीले विमानस्थल गेटबाट बाहिर लागेपछि म टिचिङ नै जाने होभन्नुभएको थियो,’ चालक थापाले सेतोपाटीसँग भने, ‘प्रहरीहरू मानेनन्, जबरजस्ती ट्रमा सेन्टर लैजाने भनिरहे।’
प्रहरीले भनेपछि आफू शिक्षण अस्पतालतर्फ नगई ट्रमा पुगेको उनले बताए।
‘ट्रमा पुगेपछि जवरजस्ती डाक्टर केसीलाई प्रहरीले एम्बुलेन्सबाट निकाल्यो,’ उनले भने, ‘डाक्टर केसी मान्नुभएको थिएन। मैले काम गरेको टिचिङमा हो म त्यहीँ जाने हो भन्नुभएको थियो। बसेको ठाउँबाट उठाएर लगेका हुन्।’
टिचिङ अस्पतालमा कोरोना संक्रमणका बिरामी भएको भन्दै प्रहरीले ट्रमा सेन्टरमा डाक्टर केसीलाई राखिएको प्रहरीले जनाएको छ।
‘डाक्टर केसीको इच्छविपरीत उहाँलाई प्रहरीले ट्रमा लगेको हो,’ उनले भने, ‘विमानस्थलबाट हिँड्दा टिचिङ जाने भने पनि रिङरोडमा पुगेपछि प्रहरीले ट्रमामा लिएर हिँड्न भनेका हुन्।’
टिचिङमै पहिले कार्यरत रहेकोले डाक्टर केसीलाई लिन आफू विमानस्थल पुगेको उनको भनाइ छ।
प्रहरीले जबरजस्ती एम्बुलेन्सबाट निकालेर ट्रमा सेन्टरभित्र लिन खोजेपछि डाक्टर केसीले ‘यो ओलीको गुन्डागर्दी तानाशाहीतन्त्र-मुर्दावाद! भन्दै नारा लगाएका थिए।
प्रहरीले भने डाक्टर केसीलाई अनुरोध गर्दा पनि नमानेपछि जबरजस्ती गर्नु परेको बताएको छ।
'उहाँलाई किन ट्रमा लगिएको कुरामा मैले बोल्ने कुरा होइन। तर वीर र टिचिङलाई कोभिड डेडिकेटेड अस्पताल बनाएको भएर त्यहाँ लगिएको हुन पर्छ,' महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने,'उहाँ जाँदै जानुहुन्न भनेर प्रहरीले बाटोमै छाड्न मिल्छ र? दुई हात जोडेर नमस्कार गरेको छ। त्यो पनि खिच्दिनु पर्यो नि। झर्नै नखोज्नु भएपछि त्यस्तो भएको हो।'
उनको रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। मांसपेशीहरू बाउँडिने समस्या छ। मुटुको धड्कन पनि अनियमित छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको माग छ।
गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरू गर्न उनले माग गरेका छन्।
प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन्।
मागको दोस्रो बुँदामा मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने उल्लेख छ।
कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने केसीको माग छ।
२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीको अर्को माग छ।
यस्तै, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन्।
बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो नि:शुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न केसीले माग गरेका छन्।
उनले बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारूढ दलका नेतामाथि छानबिन र कारबाही चलाउन माग गरेका छन्।
यी सबै प्रकरणका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि छानबिन र महाभियोग लगायतका कारबाही गर्न उनले माग गरेका छन्।