भद्रपुर-१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरूषको उपचारका क्रममा बुधबार बिहान विराटनगरमा मृत्यु भएको छ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट टिचिङ अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान पौने ६ बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आइसियूमा भर्ना गरिएको थियो।
त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए।
त्यसबेलैदेखि वृद्ध पुरूषको सो अस्पतालमा उपचार भइरहेको थियो।
रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आइसियूमा भर्ना गरेर उपचार गर्ने क्रममा ती वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ।
वृद्धलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मिर्गौलासम्बन्धी समस्या थियो।
अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ ।