संरक्षित बन्यजन्तु सालकको खपेटा, चितुवाको छाला र हड्डीसहित एक युवक पोखराबाट पक्राउ परेका छन्।
धादिङको गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पोखरा–३१ शिशुवाबाट बनपोखरीतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट ८ फिट लम्बाई र ३ फिट चौडाई भएको १ थान चितुवाको छाला, २ फिट ५ इन्च लम्बाई र ११ इन्च चौडाई भएको सालकको खपेटा र चितुवाको हड्डी ३ किलो ७५० ग्राम बरामद गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
लामिछानेले बन्यजन्तुका उक्त अंगहरु प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा जेब्रा झोलामा लुकाएर ओसारपसार गरिरहेका थिए।
बन्यजन्तुको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा मंगलबार साँझ लामिछानेलाई पक्राउ गरेको हमालले बताए। पक्राउ परेका लामिछाने र उनका साथबाट बरामद भएका सामान बुधबार जिल्ला बन कार्यालयलाई बुझाइएको छ।
प्रहरीले लिएको प्रारम्भिक वयानमा बन्यजन्तुका उक्त अंगहरु २७ लाख रुपैयाँमा विक्री गर्न लागेको लामिछानेले खुलाएका छन्। कहाँबाट ल्याएको र कसलाई विक्री गर्न लागेको भन्नेबारे खुलेको छैन। यसबारे डिभिजन बन कार्यालय कास्कीले अनुसन्धान अघि बढाउँदैछ।
बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित बन्यजन्तु सालकको चोरी शिकारी गर्नेलाई १ देखि १० वर्षसम्म कैद र १ देखि ५ लाख रुपैयाँसम्म जरिवाना सजाय तोकेको छ। यस्तै चितुवाको अवैध ओसारपसार गर्नेलाई २० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद सजायको व्यवस्था कानुनमा उल्लेख छ।
मंगलबार बन्यजन्तुका अंगसहित पक्राउ परेका लामिछानेसँग बयान लिन थालेको र केही दिनभित्रै अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर गर्ने डिभिजन बन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए।
‘बन्यजन्तु चोरी शिकारीको गिरोह पत्ता लगाएर मुद्दा दायर गर्छौँ’, उनले सेतोपाटीलाई भने, ‘बयान लिन थालेका छौं, केही दिनमा सबै कुरा पत्ता लाग्ला।’