अहिले काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन्।
बिहीबार देशभर एक हजार ४ सय ९७ जना संक्रमित थपिँदा उपत्यकाका मात्र ६ सय ९ जना छन्। विज्ञहरूले त उपत्यकामा संक्रमण समुदारस्तरमा पुगिसकेको बताउँदै आएका छन्।
उपत्यकामा संक्रमण बढ्न थालेपछि संक्रमितको व्यवस्थापनका लागि पूर्वाधार तयार गर्न भन्दै भदौको पहिलो साता स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित तीनवटै तहका प्रतिनिधिले छलफल गरेका थिए।
उक्त छलफलले तत्काल काठमाडौंमा कम्तिमा ५ हजार क्षमताको आइसोलेसन बेड बनाउने निर्णय गरेको थियो।
यसको जिम्मा सांसदहरू जीवनराम श्रेष्ठ, कृष्ण राई, बागमती प्रदेश सभा सदस्य दीपक निरौला र स्वास्थ्य मन्त्रालयलका सल्लाहकार डा. खेम कार्कीलाई दिइयो।
अनौपचारिक रूपमा गठन भएको उक्त समितिले आइसोलेसन बेड बनाउन भनेर काम सुरू गरेको एक महिना भयो।
तर अहिले आउँदा जम्मा ८ सयको हाराहारीमा मात्र आइसोलेसन बेड तयार भएको छ।
बागमती प्रदेश सभा सदस्य दीपक निरौलाले सेतोपाटीसँग भने, 'अहिले झन्डै ८ सयको हाराहारीमा आइसोलेसन बेड तयार भएको छ। तर आवश्यकता पर्दा २४ घण्टाभित्र ५ हजार संक्रमितलाई राख्नसक्ने अवस्थामा छौं।'
उनले पाँच हजार संक्रमितलाई व्यवस्थापन गर्नका लागि काठमाडौंका ३ सय लजलाई प्रयोग गरिने बताए।
'तीन सय वटा लजसँग कुराकानी भएको छ। जतिबेला चाहियो त्यतिबेला नै लिन सक्छौं,' उनले भने, 'सुरक्षाका लागि नेपाली सेना र मेडिकल टिम व्यवस्थापन गर्नेबित्तिकै लजलाई आइसोलेसनको रूपमा सञ्चालनमा ल्याउन सक्छौं। त्यसैले हामी रेडी पोजिसनमा छौं।'
उनले होटल एसोसियसन नेपालसँग आबद्ध नभएका लजहरूलाई आइसोलेसन बनाउनका लागि प्रयोग गर्न लागिएको बताए।
उनले भने, 'व्यवसायीहरूले त चार सय वटा लज दिन तयार हुनुभएको छ तर हामीले आवश्यक परे तीन सयलाई लिने भनेका छौं।'
त्यसरी लिन लागिएको लजहरू भने एउटै क्षेत्रको रहने उनले जनाए।
अहिले सञ्चालित आइसोलेसनहरू नै नभरिएकाले नयाँ आइसोलेसन नबनाइएको उनी बताउँछन्।
त्यसैले संक्रमितहरूको व्यवस्थापन गर्ने कुरामा तत्काल समस्या नदेखिएको उनको भनाइ छ।
'त्यति धेरै लजहरू छन्। आवश्यक परे एकैदिन १५ हजार संक्रमित राखिदिनसक्छौं,' निरौलाले दाबी गरे।
उपत्यकामा संक्रमित संख्या बढी भए पनि धेरै संक्रमितहरू 'होम आइसोलेसन' मै बसिरहेकाले आइसोलेसनहरू पनि नभरिएको उनी बताउँछन्।
भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा ५ सय बेडको आइसोलेसन सञ्चालनमा रहे पनि संक्रमितहरू नभरिएको उनले जनाए।
उनले काठमाडौं उपत्यकामा हाल २५ सय हारहारीमा आइसोलेसन बेड तयार रहेको भन्दै त्यहाँ पनि बेडहरू खाली भएको बताए। यद्यपी काठमाडौंका सबै स्थानीय तहहरूलाई कम्तिमा सय बेडको आइसोलेसन तयार गर्न भनिएको उनी बताउँछन्।
'अहिलेको स्थितिमा सबै स्थानीय तहहरूले ३० देखि ४० वटा बेड क्षमताको आइसोलेसन तयार गरेर सञ्चालनमा ल्याएका छन्। आवश्यक परे उहाँहरूले त्यसलाई विस्तार गर्दै लैजाने कुरा छ,' निरौलाले भने।
आइसोलेसन विस्तार गर्नका लागि सबै स्थानीय तहलाई प्रदेशले १० देखि २० लाख रुपैयाँसम्म रकम दिएको छ।
सरकारले आइसोलेसन व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएसँगै त्यसलाई संक्रमितहरूको व्यवस्थापन गर्न पनि सहज हुने सदस्य निरौला बताउँछन्।
उनले भने, 'प्रदेशले आइसोलेसन व्यवस्थापन गर्यो भने कीर्तिपुरको संक्रमित बुढानिलकण्ठको आइसोलेसनमा पनि बस्न पाउँछन्।'
सरकारले कोभिड अस्पतालको व्यवस्थापन केन्द्रले, आइसोलेसन व्यवस्थापन प्रदेश र क्वारेन्टिनको व्यवस्थापन स्थानीय तहलाई गर्न भनेको छ।
सोही अनुसार बागमती प्रदेश सरकारले काठमाडौंमा तत्काल पाँच हजार क्षमताको आइसोलेसन बेड बनाउने भनेको हो।
यद्यपी कामले गति लिन नसक्दा एक महिनामा एक हजार बेड पनि तयार हुन सकेको छैन।
अहिले हरेक नगरपालिकाले ३० देखि ४० बेडको आइसोलेसन सञ्चालन गर्दै आएका छन्।
केही आइसोलेसन केन्द्र भने केन्द्र सरकारले समेत व्यवस्थापन गर्दै आएको छ। जसमा कीर्तिपुरमा एक हजार र नागर्जुनमा ५ सय बेड क्षमताको आइसोलेसन छन्।
यो सबै गरेर उपत्यकामा २५ सय बेड क्षमताको आइसोलेसन रहेको निरौला बताउँछन्।
उनले काठमाडौंका सबै स्थानीय तहसँग समन्वय गरेर काम अघि बढिरहेको भए पनि गोकर्णेश्वर नगरपालिकाले भने प्रदेशको प्रस्ताव अस्वीकार गरेको उनले जनाए।
'उहाँहरूले प्रदेशको प्रस्तावलाई स्वीकार गर्नुभएन। हामीले पनि सोधिखोजी गरेनौं,' उनले भने।
काठमाडौं महानगरपालिकाको हकमा भने नेसनल मेडिकल कलेजलाई प्रयोगमा ल्याउन सम्झौताको चरणमा पुगेको उनले बताए। त्यसका लागि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति चाहिने माग गरेको भन्दै मन्त्रालयसँग पनि कुराकानी भएको उनले बताए।
'आजै मात्र मन्त्रालयसँग कुराकानी गरेको थिएँ। अनुमति दिन्छौं भन्नुभएको छ। अलिकति व्यवस्थापनको कुराले काम अड्किएको छ,' उनले भने।
अहिले काठमाडौं उपत्यकामा संक्रमित संख्या धेरै देखिए पनि अधिकांश संक्रमितहरू घरमै 'होम आइसोलेसन' मा बसिरहेकाले व्यवस्थापन तत्काल समस्या नदेखिएको निरौलाको भनाइ छ।
उनले भने, 'अहिले धेरै संक्रमितहरू आइसोलेसनभन्दा पनि 'होम आइसोलेसन' मा बसिरहेका छन्। तर भोलि घरमा नभएर आइसोलेसनमा बस्ने स्थिति आयो भने पनि हामी तयारी अवस्थामा छौं।'