रामेश्वर (परिवर्तित नाम) पोर्चुगलका ग्रिनकार्ड होल्डर हुन्। लकडाउनअघि नेपाल आएका उनी दसैंपछि फर्किने योजनामा थिए।
यसैबीच बिहीबार यस्तो घटना भयो, जसमा उनले पाँच लाख रूपैयाँ गुमाए।
उनलाई बिहानै एक जना मान्छेले भेट्न बोलाएको थियो। उनीहरूको पुरानो चिनजान होइन। करिब २० दिनअघि त्यो व्यक्तिले फोन गरेर साइँलो भाइको साथी भन्दै घुमाउरो नाता जोडेको थियो। रामेश्वर पोर्चुगलबाट फर्केको पनि उसलाई राम्ररी थाहा थियो।
उसले भन्यो, 'मेरो गाउँको एक जना मान्छेले अमेरिकी डलर साट्न खोजेको छ। तपाईंलाई चाहिन्छ भने म भेटाइदिन्छु, बजार भाउभन्दा सस्तोमै दिन्छ।'
रामेश्वरलाई डलरको आवश्यकता त पर्थ्यो नै, सस्तो भाउ सुनेर उनी लोभिए।
यत्ति कुराकानी भरमा उनी आफू बस्ने धापासीबाट त्यो मान्छे भेट्न निस्के। श्रीमती पनि सँगै थिइन्। सल्लाघारीको आकाशेपुलमा भेट्ने तय भएको थियो।
'उनीहरूले भनेकै ठाउँमा आउनू भनेपछि हामी त्यहाँ पुग्यौं,' उनले सेतोपाटीसँग भने, 'त्यसपछि चिया खान जाम् भने।'
डलर साट्ने योजना बनाएर भेटे पनि त्यो बेला लेनदेन भएन। मध्यस्थकर्ता बनेको व्यक्तिका अनुसार मध्यपुर, थिमी बस्ने रामकृष्ण तामाङले डलर बेच्न खाेजेका थिए। तामाङको खास घर सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-६ भएको पनि उसले बतायो।
'तामाङसँग डलर कहाँबाट आयो त?' रामेश्वरले सोधे।
जवाफमा त्यो मध्यस्थकर्ताले भन्यो, 'विदेशीहरूले ट्रेकिङ जाँदा अमेरिकी डलर थुप्रै दिएर गएका छन्। गाउँको मान्छेलाई डलर थुपारेर के काम? मलाई कोही छ भने खोज्दिनु न भनेको थियो, त्यही भएर तपाईंलाई भनेको।'
उनीहरू त्यो बिहान सानो पसलमा सामान्य कुराकानी गरेर फर्के।
त्यसै दिन दिउँसो त्यो मध्यस्थकर्ताको फेरि फोन आयो। उसले भेट्न बोलायो।
पहिले तामाङले १६ हजार डलरबापत् १६ लाख रूपैयाँ रामेश्वरसँग मागेका थिए। रामेश्वरले त्यति पैसा छैन भनेपछि पाँच लाख मात्र साट्ने सहमति भयो।
डलर साट्न तामाङले सूर्यविनायक नगरपालिका-२, बालकोट बोलाए। त्यहाँ पुगेपछि सुनसान ठाउँमा लगे।
रामेश्वरले पाँच लाख रूपैयाँको बन्डल तामाङको हातमा थमाए। तामाङले कपडा बेरिएको नोटको बन्डल दिए। उनले त्यस्तै कपडामा बेरिएको सक्कली डलर बिहानको भेटमा रामेश्वरलाई देखाएका थिए।
'म झुक्किएँ। बिहान देखाएकै बन्डल होला भन्ठानेँ। पछि पो प्लास्टिक हो कि कागज हो भन्ने भयो। मलाई कपडाको गाँठो खोलेर हेर्न पनि निकै गाह्रो परेको थियो। खोलेपछि पो थाहा पाएँ, म ठगिएको रहेछु,' उनले नाम नखुलाउने सर्तमा सेतोपाटीसँग भने, 'त्यति बेलासम्म उनीहरू बेपत्ता भइसकेका थिए।'
तै पनि केही समय पिछा गरेको उनी बताउँछन्।
आफू लुटिएको थाहा पाएपछि रामेश्वरले १०० मा फोन गरेर प्रहरीलाई खबर गरे। तत्कालै खोजी सुरू भयो।
'हामीजस्तो मान्छेलाई पनि कति सजिलै मन जितेर लुटे। हामीले पनि विश्वास गर्न हुन्थेन, अलिकति फाइदाको लोभमा पर्दा यस्तो भयो,' रामेश्वरले भने, 'गल्ती त हाम्रो पनि छ।'
यसरी ठगिनेमा रामेश्वर पहिलो होइनन्। असारयता महानगरीय प्रहरी परिसर, भक्तपुरमा यसरी लुटिएको उजुरी चारपटक परिसकेको थियो। कोही पक्राउ परेका थिएनन्।
शुक्रबार भने मध्यपुर थिमी नगरपालिका-९ बाट आठ जना पक्राउ परेको परिसरका प्रवक्ता तथा प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
तीमध्ये तीन जना घरमा आएका पाहुना भएकाले छुटिसकेका छन् भने बाँकी पाँच जना हिरासतमा छन्।
पक्राउ पर्नेमा रामकृष्ण तामाङ, सिन्धुपाल्चोकका खेलबहादुर तामाङ, रेलबहादुर तामाङ, श्यामबहादुर तामाङ र कान्छी तामाङ छन्।
उनीहरूबाट प्रहरीले २ लाख ४२ हजार ९ सय ३५ रूपैयाँ बरामद गरेको छ। झुक्याउन भनेर राखेको दुई बन्डल अमेरिकी डलर पनि फेला पारेको छ।
घटनामा संलग्न मध्यस्थकर्ता भने अझै पक्राउ परिसकेका छैनन्। प्रहरीले नाम गोप्य राखेको छ।
'उनीहरूले यसरी नै अरूलाई पनि ठगेका रहेछन्। व्यवसायी र विदेशबाट फर्किएका व्यक्तिसँग चिनेजस्तै नजिकिने अनि लुट्ने गरेको पायौं,' प्रहरी निरीक्षक बुढाथोकीले भने, 'कसैलाई केटी प्रयोग गर्ने त कसैलाई पहिलेदेखि चिनेको भन्दै प्रलोभनमा पारेर लुट्ने गरेको पीडितहरूले बताएका छन्।'
उनका अनुसार अहिलेसम्म पाँच जनालाई ठगी गरेको खुलेको छ।
यसअघि साउन ८ गते भएको पहिलो घटनामा तीन लाख लुटेका थिए। त्यसपछि साउन १९ गते चार लाख, भदौ ३१ गते पाँच लाख, असोज ६ गते नौ लाख ८० हजार र बिहीबार पाँच लाख लुटेका हुन्।
शृंखलाबद्ध लुटपाटपछि नै प्रहरीले उनीहरूको खोजी बढाएको थियो।