सुदूरपश्चिममा पिसीआर मेसिनको संख्या बढेपनि कोरोना परीक्षणको दायरा बढ्न सकेको छैन।
प्रदेशमा कोरोनाको दैनिक ६ हजार वटा नमुना परीक्षण गर्ने क्षमता रहेको स्वास्थ्य निर्देशनालयको दावी छ। तर, दैनिक तथ्यांकले बढीमा एक हजार वटा नमुनाको मात्र जाँच हुने गरेको देखाएको छ।
अहिलेसम्म एकैदिन सबैभन्दा बढी भदौ १६ गते १ हजार २ सय २ स्वाव नमूना परीक्षण भएको थियो।
पछिल्लो सात दिनमा ५ हजार १ सय १५ ओटा मात्र स्वाब नमूना परीक्षण गरिएको छ ।
परीक्षणको दायरा बढाउने भन्दै प्रदेशका पाँच जिल्लामा ६ वटा पिसिआर मेसीन सञ्चालनमा आए पनि परीक्षण निकै कम हुने गरेको तथ्यांकले देखाएको छ।
निर्देशनालयका प्रमुख गुणराज अवस्थीले विद्युत अवरुद्ध नभए दैनिक ६ हजार परीक्षण गर्नसक्ने क्षमता रहेको बताए।
‘क्षमता बढी भएपनि अहिले कहिले ३ सय, कहिले ७ सय कहिले ९ सयको संख्यामा परीक्षण हुने गरेको छ,’ उनले भने ।
स्थानीय तहहरूले स्वाव संकलन पर्याप्त मात्रामा नगर्दा परीक्षण कम हुने गरेको उनको भनाइ छ।
‘प्रयोगशालामा स्वाव नमुना आए पो परीक्षण हुन्छ,’ उनले भने ।
उनका अनुसार स्वाव संकलन गरी स्थानीय तहले पठाउनुपर्ने हुन्छ।
प्रदेशका ८८ ओटा स्थानीय तहबाट निकै कम मात्रामा स्वाव नमूना प्राप्त हुने गरेका उनले बताए।
प्रदेशमा सबैभन्दा बढी संक्रमण देखिएको स्थानीय तह धनगढी उपमहानगरपालिकाले दैनिक एकसय देखि एकसय ५० जनाको स्वाव नमुना संकलन गर्ने गरेको छ।
धनगढी मेयर नृप बहादुर वडले दैनिक एकसय ५० जति नमुना संकलन गरी परीक्षण गर्न पठाउने गरेको बताए।
अहिले कैलालीमा रहेको सेती प्रादेशीक अस्पताल, डडेल्धुरा अस्पताल, डोटी जिल्ला अस्पताल, बैतडी जिल्ला अस्पताल र बझाङ जिल्ला अस्पतालमा कोरोना परीक्षण भइरहेको छ।
प्रदेशमा स्वाव नपाएपछि निर्देशनालायले अन्य प्रदेशबाट परीक्षण हुन बाँकी नमुना यहाँ माग गर्दै माथिल्ला तहमा पत्र पठाएको छ।
अहिले नै बाहिरका नमुना माग गर्नु भन्दा प्रदेशमै परीक्षणको प्रदेश सभा सदस्य डिल्लीराज पन्तको भनाइ रहेको छ।