कोरोनाभाइरस महामारीले गत चैतदेखि बन्द रहेका कैलालीका विद्यालयमा पठनपाठनको तयारी गरिएको छ।
यहाँका स्थानीय तहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाई सहजिकरण निर्देशिकाअनुसार पठनपाठन गर्ने तयारी सुरु गरेका हुन्।
दुर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागि सिकाई सहजीकरण प्रणालीका रुपमा उपयोग गरी सरकारले शिक्षण सिकाई कार्यलाई निरन्तरता दिने गरी निर्देशिका ल्याएको थियो।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले त्यसै निर्देशिकाका आधारमा विद्यालयहरुले विद्यार्थी पहिचान, अभिलेखीकरण र वर्गीकरण गरिरहेको बताए।
‘असोज १५ गतेसम्म रेडियो, टिभी, इन्टरनेट आदिमध्ये केमा कसको पहुँच छ या छैन भन्ने तथ्यांक दिने काम हुन्छ र त्यसैका आधारमा वर्गीकरण गरी उपयुक्त विधिबाट पठनपाठन सुरु हुन्छ,’ उनले भने।
कैलारी गाउँपालिकाले भने सुरक्षा सतर्कता अपनाउँदै विद्यालयका कक्षा सञ्चालन गरिसकेको छ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले असोज १ गतेबाटै कक्षा सुरु भएको बताए।
‘अहिले निर्देशिकामै टेकेर पढाइ सुरु गरेका छौं। १५ गतेपछि कसरी जाने भन्ने निश्चित हुन्छ,’ उनले भने।
भजनी नगरपालिकाका केही विद्यालयमा बाढीले भरेको हिलो सफा गरिएको छ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवराज अवस्थीले साउनमा आएको बाढीले एक दर्जनजति विद्यालयका कक्षाकोठामा बालुवा र हिलो थुपारेको बताए।
‘१०/१२ ओटा विद्यालयमा बाढीले गर्दा हिलो पसेको छ,’ उनले भने ।
उनकाअनुसार कसैका पर्खाल भत्किएका, कार्पेट च्यातिएका र पुस्तक भिजेका छन्।
अवरुद्ध रहेका विद्यालयको पठनपाठन सुचारु गर्न पालिकाहरुले प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतसंग छलफल गरिरहेका छन्।
धनगढी–२ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा यसअघि क्वारेन्टिन बनाइएकाले निर्मलीकरण र सरसफाइ गरिएको छ। विद्यालयका प्रधानाध्यापक दानकुमार चौधरीले विद्यालयलाई स्वच्छ बनाई पठनपाठनको तयारी गरिरहेको बताए।
कतिपय विद्यार्थी अभिलेखीकरणका लागि सम्पर्कमा आउन सकेका छैनन्। भाडामा बसेर पढिरहेको, टाढाका र सम्पर्क नम्बर नभएका विद्यार्थीहरु अभिलेखीकरणमा छुट्ने चिन्ता बढेको छ।
दीपेन्द्र चारपाते माध्यमिक बिद्यालय धनगढीका प्रधानाध्यापक भागीराम चौधरीले सञ्चारको पहुँच बाहिर रहेका विद्यार्थीलाई पठनपाठनको सुविधा पुगाउन बढी ध्यान दिनुपर्ने बताए।
लामो समय विद्यालय जान नपाएका बालबालिकालाई क्वारेन्टिन बनाइएका विद्यालय जान डर लागेको, थोरै समय पढेर कसरी परीक्षा दिने जस्ता कुरा मनमा आउने गरेको उनले बताए।
यसवर्ष कक्षा ९ मा गएकी सरिता भाटले अभिभावक, शिक्षक र विद्यालयले आफूजस्ता विद्यार्थीलाई मनोपरामर्शलगायतमा सहयोग गर्नुपर्ने बताइन्।