दसैं नजिकिएको छ। अरूबेलाभन्दा दसैंका बेला लुगाफाटा, खाद्यान्न लगायत सामानको धेरै किनमेल हुन्छ।
तर बजारमा यतिबेला खोजेजस्ता पर्याप्त सामग्री छैनन्। छ महिना लामो लकडाउन र त्यसपछि निषेधाज्ञाले मात्र होइन नेपाल–चीनको मुख्य नाका रसुवागढी पूर्ण रूपमा सञ्चालनमा नआउँदा सामग्री आयातमा समस्या छ। तीजका लागि अर्डर गरिएका सामग्री अझै काठमाडौं आइपुगेका छैनन्।
दसैंका लागि अर्डर गरेका सामग्री पनि चीनबाट रसुवागढी नाका हुँदै ल्याउन गाह्रो भइरहेको व्यपारीहरूले गुनासो गरेका छन्।
दसैंका बेला बिक्री वितरण गर्ने तयारीसहित आफूले अर्डर गरेका रेडिमेड गार्मेन्टहरू नाकामै रोकिएको व्यापारी बच्चु पौडेल बताउँछन्।
‘हामीले अर्डर गरेका सामग्री नाकामा रोकिएका छन्,’ पौडेलले सेतोपाटीसँग भने, ‘दिनमा चार–पाँचवटा मात्रै गाडीका सामान ल्याउन दिइएको छ।’
अर्डर गरेका सामान नाकामा आइपुगे पनि सहज रूपमा त्यहाँबाट काठमाडौं ल्याउन नसकिएको उनले बताए।
‘चीनबाट सामान बोकेर आएका कन्टेनरहरू सिधै आउन पाएका छैनन्। मितेरी पुलमा सामान झारेर उताको गाडी फर्किन्छ। यहाँबाट गएका गाडीले पुनः लोड गरी सामग्री ल्याउनु पर्दा पनि धेरै समय लाग्ने गरेको हो,’ उनले भने।
रेडिमेड गार्मेन्ट, जुत्ता, चप्पल, इलोक्ट्रोनिक्स, कस्मेटिकलगायत सामग्री अधिकतम चीनबाट काठमाडौं ल्याइने उनले जानकारी दिए।
चीनसँग यसअघि सञ्चालनमा आएको सिन्धुपाल्चोकको तातोपानी नाका पनि केही महिनादेखि बन्द छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार असारपछि बन्द भएको नाका खुलाउने तयारी भइरहेको छ।
'सामान आएर पारि थुप्रिएको छ। लोड गर्ने कामदार र भन्सारका कर्मचारीको पिसिआर परीक्षण भइसकेको छ,’ उनले भने,‘छिट्टै नाका सञ्चालन गर्छौं।’
चीन तिरका दुबै नाकामा अवरोध भएपछि व्यापारीले भने सामान पानीजहाजको बाटो हुँदै ल्याउन थालेका छन्।
‘धेरै सामान नाकामै अड्किएको छ,’ पौडेलले भने, ‘विकल्पको रूपमा पानीजहाजबाट भारत हुँदै ल्याउने गरिएको छ। मैले पनि केही रेडिमेड गार्मेन्टका सामान पानीजहाजबाट ल्याएँ।’
चीनतर्फ सडकमा पहिरो गएकोले पनि केही दिनदेखि सामान आयातमा समस्या भइरहेको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले बताए। दिनमा चार-पाँच कन्टेनरबाट मात्रै सामान आउने गरेको उनको भनाइ छ। रसुवागढी नाकामा सामान्य अवस्थामा दैनिक २५ भन्दा बढी कन्टेनर भित्रिन्थे।
‘चीनतर्फ सडकमा केही पहिरो गएको छ, त्यसले पनि सामान आयातमा समस्या भइरहेको छ,’ खड्काले सेतोपाटीसँग भने।
चीनबाट स्वास्थ्य सामग्री, इलोक्ट्रोनिक सामग्री र चीनले नै सहायता दिएका केही सामग्री आउने गरेको उनले जानकारी दिए।
नेपालका व्यापारीले अर्डर दिएअनुसार लत्ताकपडाजस्ता सामग्री ल्याउन पहिरोले सडक अवरूद्ध हुने गरेकोले पनि आउन ढिला भएको उनले बताए।
उनकाअनुसार पछिल्लो पटक तीन सातादेखि चीनतर्फका सडक पहिरोले राम्रोसँग सुचारू हुन सकेको छैन। आएका सामग्री भने कन्टेनरले मितेरी पुलमा छाड्ने गरेको छ।
‘उनीहरूले पुलसम्म सामान ल्याएर छाडिदिन्छन्,’ उनले भने, ‘नेपालबाट गएका कन्टेनरमा लोड गरेर सामान ल्याउने गरिएको छ।’
चीनले गत माघमा कोरोनाभाइरसको कारण देखाएर रसुवागढी नाकाबाट सामान ल्याउन रोकेको थियो। पाँच महिनापछि गत असार तेस्रो साताबाट नाका खुले पनि स्वास्थ्य सामग्री मात्रै आयात गरिएको थियो।
रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले शुक्रबारसम्म कन्टेनर आएको बताए।
‘पहिरोले चीनतर्फ सडक अवरूद्ध हुँदा शनिबार गाडी आएन। शुक्रबारसम्म आएकै थिए,’ उनले भने।