दसैं-तिहार नजिक आइसक्यो, लमजुङकी वीणा भने घर जानुपर्ला भनेर डराउन थालेकी छन्।
दुई वर्षदेखि बलात्कार प्रयास गर्ने छिमेकी मोहन त्रिपाठीलाई अदालतले धरौटीमा छाडेपछि उनको डर बढेको हो।
सुन्दरबजार नगरपालिकाकी वीणा (नाम परवर्तन) झन्डै एक महिनाअघि अंकलसँग चितवन झरेकी थिइन्। अहिले काठमाडौं आइपुगेकी छन्।
यसबीच जिल्ला अदालत लमजुङले असोज पहिलो साता त्रिपाठीलाई दुई लाख धरौटीमा छाड्ने निर्णय गर्यो।
आफूभन्दा झन्डै २० वर्ष जेठा छिमेकीको ज्यादतीबारे उनी पहिल्यै प्रहरीलाई उजुरी गर्न चाहन्थिन्। तर, पीडकको परिवारको दबाव र त्यसमाथि गाउँलेहरूको साथ नपाएर उनी एक्लै परिन्। गाउँलेहरूले त 'अहिलेसम्म बलात्कारै गरेको रहेनछ' सम्म भने।
'त्यो बैठकमा वडाध्यक्ष पनि हुनुहुन्थ्यो। गाउँलेहरूले 'बलात्कारै' त गरेको रहेनछ नि भनेर प्रहरीमा जान दिएनन्,' वीणाले भनिन्।
भदौ ११ गते राति १० बजे उनी कोठामा सुतिरहेकी थिइन्। त्रिपाठी झ्यालबाट पस्न खोजे। त्यसपछि भने वीणाको धैर्यको बाँध टुट्यो। उनले प्रहरीमा जाहेरी दिइन्। तर, प्रहरीले पनि पीडककै कुरा सुनेर पक्राउ नगरी फर्कियो।
जिल्ला प्रहरी प्रमुख गंगाबहादुर थापाले पक्राउ गरेरै ल्याउन भनेपछि मात्र मोहन पक्राउ परे।
'सारा गाउँले उसैको पक्षमा छन्,' वीणाले भनिन्, 'प्रहरीले पनि सुरूमा त पक्राउ गर्न र उजुरी लिन मानेको थिएन। मैले दुई वर्ष अघिदेखिका घटना सुनाएपछि भने उसलाई पक्राउ गरेको हो।'
लमजुङका जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले पनि यो विषय गाउँमै मिलाउन लागेको थाहा पाएर आफूले पीडकलाई पक्राउ गरेको पुष्टि गरे।
'गाउँलेहरूले मिलाउन लाग्या छन् भन्ने सूचना पाएपछि मैले महिलामाथिको दुर्व्यवहार गाउँमा मिलाउन दिन हुन्न, फौजदारी केस बनाउनुपर्छ भनेर पहिले पीडकलाई पक्राउ गर्न लगाएको हो,' उनले भने, 'पीडितले भोलिपल्ट जाहेरी दिनुभयो। आरोपीलाई गाउँलेको हातबाट उम्काउने प्रयास गरे उसले भोलि अरू महिलालाई पनि हेप्छ, नराम्रो व्यवहार र अपराध नै गर्ने आँट पाउँछ भन्नेमा म सधैं सचेत छु।'
उनका अनुसार २०/२२ दिनको अनुसन्धानपछि जबर्जस्ती करणी उद्योगको मुद्दा लागेकोमा अदालतले अहिले २ लाख धरौटीमा मोहनलाई छाडिसकेको छ।
आमने-सामने घर भएका पीडक र उनैलाई साथ दिने गाउँलेहरूका कारण आफूलाई घर जान डर लागेको वीणाले बताइन्।
'अदालतले नै छाडिदिएपछि त अब म गाउँ नगए पनि हुन्छ। गाउँले पनि उसैको पक्षमा छन्। मेरा बुवाआमा निकै सोझा हुनुहुन्छ। म र परिवार नै सुरक्षित छैनौं,' उनले भनिन्।
दुई वर्षअघि पहिलोपटक मोहनले आफूमाथि बलात्कार प्रयास गरेको उनले बताइन्।
त्यो दिन उनी घरमा एक्लै थिइन्। उनकी आमा घाँस काट्न र बुवा गाउँतिर गएका थिए। उनका दाइ भने काठमाडौंमा बस्थे।
साँझ बेला थियो। मोहन आएर कति बज्यो भनेर सोधे। उनले मोहनलाई अंकल भन्थिन्। मोहनका छोराछोरी उनका साथी थिए। सबभन्दा नजिकको घर भएकाले उनीहरूको आउजाउ नहुने कुरै भएन।
'पख्नु ल अंकल, घडी हेरेर आउँछु भन्दै म आफ्नो कोठामा गएँ। ऊ त पछिपछि आयो। रक्सी खाएको रहेछ। आएर सिधै मलाई समात्यो,' उनले सम्झिइन्, 'ऊ रक्सीले मातेको रैछ। मैले सजिलै उसलाई लडाइदिएँ र भागेँ।'
त्यो दिन यो कुरा उनले कसैलाई भन्न सकिनन्। उनको मनमा डर, संकोच सबै कुराले घर गरिरह्यो धेरै दिन।
त्यसको दुई महिनापछि कोही नभएको मौका पारेर मोहनले बाटैमा वीणालाई भने- मलाई तँसँग एकपटक सुत्न मन छ।
वीणा झन् झन् डराउन थालिन्। उनलाई एक्लैदुक्लै आफ्नो घरमा बस्न, बाटोमा हिँड्न पनि गाह्रो भयो।
'यस्तो कुरा कसैलाई भन्न मिल्ने हो कि होइन भनेर म निकै अलमलिएँ। भनेँ भने त मेरो इज्जत जान्छ होला वा कसैले पत्याएन भने के गर्ने भनेर मलाई डर लाग्यो,' उनले भनिन्।
पाँच महिनासम्म उनको मन खाइरह्यो। एकदिन उनले आफ्नी साथीलाई भनिन्। उनकी साथी थिइन्, मोहनकी भतिजी।
उनले वीणालाई सबै कुरा मोहनकी श्रीमतीलाई भन्न सुझाइन्।
मोहनले उनलाई निगरानी गरिरहन्थे। बाटोमा, बाहिर निस्किन लाग्दा, धारामा नुहाउँदा, घर आउँदा जतिखेरै आफूलाई उनले हेरिरहेको देखेर वीणा निकै आत्तिइन्।
उनले एकदिन मौका हेरेर मोहनकी श्रीमतीलाई सबै कुरा भनिदिइन्।
उनकी श्रीमतीले भनिन्, 'तिमीलाई केही गरी त हालेको रहेनछ। यो कुरा बाहिर नभन, तिम्रो बिहे हुन्न। मेरा छोराछोरीको पनि मुख हेरिदेऊ।'
उनकी श्रीमती आफैं दिनहुँ रक्सी खाएर आउने पतिसँग हैरान थिइन्।
यसबीच एक वर्षअघि आमा बजार गएका बेला वीणा घरको बाहिरपट्टि बसिरहेकी थिइन्। मोहन देखा परे। उनलाई डर लाग्यो र हत्तपत्त भित्र पसिन्। त्यो दिन मोहनकी श्रीमती पनि माइत गएकी थिइन्।
'म कोठामा पसेर चुकुल लगाउँदा लगाउँदै ऊ आएर मलाई बेडमा सुतायो। बेडको छेउमा एउटा डन्डी थियो। मेरो हात कसरी त्यो डन्डीमा परेछ। मैले त्यही डन्डीले उसको टाउकोमा हानिदिएँ,' उनले भनिन्, 'ऊ रन्थनियो, म भागेँ। म एकैचोटि तल सडकमा पुगेँ र सास फेरेँ।'
उनका अनुसार त्यो दिन भने मोहनले रक्सी खाएका थिएनन्।
उनले सडकमा आएपछि माइत गएकी मोहनकी पत्नीलाई फोन गरिन्।
मोहनले आफ्नो पिछा गरिरहेपछि उनले आफ्नी आमालाई पनि सुनाएकी थिइन्। आफ्ना बुवाआमा निकै सोझा भएकाले प्रतिवाद गर्न नसक्ने आफूलाई थाहा भएको उनले बताइन्।
त्यो दिनपछि त झन् उनलाई निकै गाह्रो भयो। बाहिर आँगनमा निस्किनसमेत डर लाग्न थाल्यो।
त्यो बेलासम्म उनले एउटा एनजिओमा जागिर पाएकी थिइन्। कलेज र जागिरमा जाँदा दिनभरि उनलाई केही पीर थिएन। जब घर जाने बेला हुन्थ्यो, उनको ज्यान काम्थ्यो।
'म आमालाई फोन गरेर उहाँ घर हुँदा मात्र जान्थेँ,' उनले भनिन्, 'घर बस्दा पनि म भित्र मात्रै बस्न थालेँ।'
उनी घर हुँदा ट्वाइलेट जान पनि नसक्ने गरी डराउन थालिन्। गाउँको घरमा ट्वइलेट, बाथरूम घरबाहिर हुन्छ। उनलाई त्यहीँ जान पनि डर लाग्न थाल्यो।
'अनि मैले घरभित्रै दिसापिसाब गर्न थालेँ,' उनले भनिन्, 'कोपरा भित्रै राख्थेँ। मैले धेरै समय त्यसो गरेँ।'
एकपटक उनकी साथी घर आएकी थिइन्। उनी यति डराइन्, साथीलाई समेत ट्वाइलेट जान दिइनन्।
उनले यो कुरा मोहनका छोरालाई फेसबुकमा सुनाइन्। उनका छोराछोरीले भने वीणालाई सपोर्ट गरे।
'उनीहरूलाई आफ्नो बुवाले रक्सी खाएर आमालाई दु:ख दिएको थाहा छ। मेरो कुरा पनि उनीहरूले पत्याए,' उनले भनिन्, 'तिमीले यस्तो कुरा सहन हुन्न त भन्थे। सानैदेखि सँगसँगै हुर्केकाले मैले उनीहरूलाई अब के गरूँ भनेर सोध्थेँ पनि।'
तर प्रहरीकहाँ जान्छु भन्दा जाऊ भन्न उनीहरूले पनि सक्दैनथे।
डर, त्रास, धम्की, अनिद्रा र मानसिक यातनाले उनी थाकिसकेकी थिइन्। घरमा बस्दा उनी डरले र सोचाइ बढी भएर काम्न थालेकी थिइन्। एउटा कोठाबाट अर्को कोठामा जानसमेत सकस हुने गरेको उनले बताइन्।
'त्यो बेला मलाई मरिदिउँ कि भन्ने समेत लागेको थियो,' उनले भनिन्, 'उसकी श्रीमती र मेरी आमा दुवैले यो कुरा बाहिर गयो भने तेरो बिहे हुन्न कि भन्थे। आमालाई समेत कति टेन्सन भयो भने केटाहरू माग्न आएको आयै छन्, बिहे गरेर जाऊ बरू भन्नुभयो।'
उनलाई पनि उनीहरूको कुरामा विश्वास भयो।
'मलाई कसैले बिहे गरेन भने भन्ने लागेर म चुप भएँ,' उनले भनिन्, 'त्यसमाथि उसले कतिखेर मलाई बलात्कार गर्छ भन्ने डर मनमा पालेर बाँच्नु निकै गाह्रो हुने रहेछ।'
लकडाउनपछि त मोहनले निगरानी गर्ने क्रम झन् बढ्यो। उनी भने कतिखेर आएर के गर्ने हो भन्ने सोचेर आत्तिन थालिन्।
जाहेरीमा उल्लेख भएअनुसार गत असार २४ गते राति ८ बजेतिर उनको घरमा आएर मोहनले जबर्जस्ती गर्न खोजे।
'राति मेरो घरमा आएर दुवै हात समातेर अश्लील बोल्ने र शारीरिक सम्बन्ध राखौं भन्दै आफूतिर तानेर जबर्जस्ती गर्न खोजेको थियो। मैले दुवै खुट्टाले धकेलेर उम्कन सकेँ,' जाहेरीमा उल्लेख छ।
त्यसपछि भदौ ११ गते राति उनको कोठाबाहिरको झ्यालमा मोहन देखा परे। झ्यालमा ढ्याङढ्याङ हाने। उनी चिच्याएपछि मोहन भागे।
'मलाई रातभर निद्रा लागेन। त्यो दिन रातको १२ बजेपछि ऊ फेरि मेरो झ्यालमा आएर त्यसरी नै चिहायो,' उनले भनिन्, 'म चिच्याएपछि फेरि भाग्यो।'
त्यो रात उनको मनमा धेरै कुरा खेले। आफ्नो भविष्य, बिहे, जागिर, पढाइ र यातना।
यी सबैबीच एउटा कुरा उनको मनमा आयो- अब म सहेर बस्दिनँ, बरू जिन्दगीभर बिहे नै गर्दिनँ। प्रहरीकोमा जान्छु, न्याय नपाएसम्म लड्छु।
यो कुरा उनको मनले निधो गरेरै भनेको थियो।
उनले बिहानै उठेर सबै कुरा आफ्ना साइँला अंकललाई बताइन्। अंकलले गाउँका जान्ने सुन्ने मान्छे र वडाध्यक्षलाई भने।
त्यसपछि गाउँका मानिस जम्मा भए। उनीहरूको पनि मोहनकी श्रीमतीको जस्तै उत्तर थियो- खासै केही गरिसकेको रहेनछ, त्यसैले प्रहरीमा नजानू।
अंकलले भने प्रहरीमा उजुरी दिए। स्थानीय प्रहरी आएर उनको कुरा सुन्यो र भन्यो- पिछा लागेको मात्र हो रहेछ, यस्तोमा उजुरी लिन मिल्दैन। पक्राउ गर्न पनि मिल्दैन।
जिल्लाको प्रहरीले पक्राउ आदेश दिएपछि मात्र मोहन पक्राउ परे।
प्रहरीले पक्राउ गरेको भोलिपल्ट भदौ १४ गते वीणाले लिखित जाहेरी दिइन्। अनुसन्धान क्रममा उनको साक्षी बस्न पनि कुनै गाउँले तयार भएनन्।
धन्न मोहनले ढोका हानेको रात सुन्दरबजार नगरपालिका वडा नम्बर ७ की सदस्य लक्ष्मी पोखरेललाई उनले सबै घटना सुनाएकी थिइन्। लक्ष्मी आएर साक्षी बसिदिइन्।
वीणा निकै जोखिममा रहेको देखेपछि साक्षी बसेको लक्ष्मीले बताइन्।
'रातभर ढोका ढकढक गर्न आउँछ, यसरी त मलाई बाँच्न गाह्रो हुन्छ भन्दै पीडितले एकदिन राति २ बजे मलाई फोन गरिन्। त्यो रात पनि मोहनले उनको झ्याल ढकढकाएको रहेछ,' उनले सेतोपाटीसँग भनिन्, 'पछि बुझ्दा थाहा पाएँ, पिछा गर्ने, मानसिक तनाव दिने गर्दो रहेछ। उनकी साथीले समेत मलाई भनिन्- पिसाब फेर्न बाहिर निस्किनसमेत डराउँदी रहिछन् भनेर।'
त्यही पनि गाउँलेहरू साक्षी नबसेको देखेर आफैं अचम्ममा परेको पोखरेल बताउँछिन्।
'ती नानी निकै जोखिममा भएको थाहा पाएर पनि कोही साक्षी बस्न मानेनछन्। मेरो घर त अर्को गाउँमा हो। छोरीहरूको लागि हामी नबोल्ने हो भने उनीहरू कसरी सुरक्षित रहन सक्लान् भनेर मैले थाहा पाएको कुरामा साक्षी बसिदिएको,' उनले भनिन्, 'अहिले उनलाई साथ नदिने हो भने दोषीले प्रोत्साहन पाउँछन्। महिलाहरू सधैं जोखिममा पर्छन्।'
यो घटना गाउँमा राजनीतिकरण भइसकेको उनले बताइन्।
'यस्तो घटनालाई पनि कांग्रेस र कम्युनिस्ट भनेर कित्ताकाट गर्ने काम भएको रहेछ। सुनेर दिक्क लाग्यो,' उनले भनिन्, 'ती नानीलाई यहाँ गाह्रो भएर अंकलको घर गएकी छन्। पीडकलाई अदालतले छाडेपछि त गाउँमा फर्किन पनि डराएकी छन् रे भनेको सुनेकी छु।'
वडाध्यक्ष जयराम रेग्मीले पीडितको संरक्षण नै आफ्नो कर्तव्य भएको बताए।
'घटना बाहिर आएपछि पीडितसँग सुरूमा सोध्न म गएको थिएँ। त्यति बेला उनलाई मसँग सबै कुरा भन्न पनि सकस भयो होला। हामीलाई पनि कुन तहको अपराध भएको हो भन्ने थाहा भएन,' उनले भने, 'यो घटनामा आरोप लागेका व्यक्तिलाई अदालतले धरौटीमा छाडेको छ। यही कारणले पीडित घर आउन डराएको हो भने उनको सुरक्षाका लागि कहाँ के गर्नुपर्छ त्यो म जिम्मा लिन्छु। उनी घर आउन डराउनुपर्दैन।'