नेपालको शुक्लाफाँटा निकुञ्जबाट दुई हात्ती भारतीय वन क्षेत्रमा पुगेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार नेपालबाट गएका दुई भाले हात्ती भारतीय पिलिभित र खटीमा क्षेत्रमा पुगेका छन्।
यी हात्ती १५ सेप्टेम्बरमा पिलिभितका जंगल क्षेत्रमा प्रवेश गरेका थिए।
नेपालका हात्ती गएपछि भारतको उत्तराखण्ड वन विभागले सूचना जारी गर्दै सतर्क रहन भनेको छ।
विभागले हात्तीलाई पछ्याउने काम गरिरहेको बताइएको छ तर हात्ती फेला परेका छैनन्। स्थानीयले हात्तीका पाइला भने देखिएको बताएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ।
खोजी कार्य सुरू गरेको वन विभागले खटीमा, किलपुरा आवादी क्षेत्रबाट हुँदै हाइवे पार गरेर नत्था ताल संरक्षित वनमा गएको पाइला देखिएको बताएको छ।
नेपालबाट आएका हात्तीहरू मत्ता भएको र उनीहरूलाई भेटाउन मुस्किल भएको भारतीय अधिकारीहरूले जनाएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ४ देखि १० ओटा रैथाने हात्ती रहेको निकुन्जका सूचना अधिकारी उत्तम कुमार चौधरीले बताए। उनले मौसमी हात्ती भारतको सीमावर्ती क्षेत्रमा पर्ने दुधवा राष्ट्रिय निकुञ्ज हुँदै आउने गरेको बताए।
उनका अनुसार शुक्लाफाँटामा आउने मौसमी हात्ती ४० देखि ८० को समूहमा हुन्छन्।
‘बाहिरबाट आउने हात्ती समूहमा आउँछन् तर यहाँ ४-५ ठाउँमा छुट्टिएर बस्छन्,’ उनले भने।
यसरी आएका हात्ती निकुन्जका हात्तीथला, कालापानी, ढक्का तारापुर क्षेत्रमा बस्छन्। यस्तै मालुमेला घाँसे मैदानमा पनि हात्तीले बासस्थान बनाउँछन्।
‘बेल्डाँडी एरियामा भारतको सीमा जोडिएकाले यसै करिडोर भएर हात्तीहरू भारत जाने गरेका छन्,’ चौधरीले भने।
उनका अनुसार बेल्डाँडीको पारीपट्टि भारतीयको ठूलो उखु खेती छ। त्यही खान शुक्लाफाँटाबाट रैथाने र मौसमी हात्ती पारि जान्छन्।
‘हात्तीहरूको आवतजावतमा राजनीतिक सीमानाले रोक्दैन,’ उनले भने, ‘नेपाल भारतका सीमावर्ती वनमा हात्ती आउने- जाने गर्छन्।’
हात्ती प्रायः एकै करीडोरबाट आउने जाने गर्छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट हरिभद्र आचार्यले हात्तीले मानवीय क्षती नगरोस् भनेर दुवै देशका कर्मचारीबीच समन्वय हुने गरेको बताए।
‘हात्ती त आउने जाने गरिरहन्छ। यसले मानवीय क्षति नगरोस् भनेर बेलाबेला समन्वय हुने गरेको छ,’ उनले भने।
नेपालमा बाघ र गैंडाजस्तो हात्तीको गणना नभएको इकोलोजिस्टहरू बताउँछन्।
आचार्यले केही अनुसन्धानले नेपालमा २०० को संख्यामा हात्ती रहेको देखाएको बताए।
‘हात्तीको बासस्थान ४ देखि ५ सय किलोमिटर वरपर हुन्छ,’ उनले भने।
नेपालमा पुरानो चारकोशे झाडी हात्तीको महत्वपूर्ण वासस्थान मानिन्छ। अहिले भारतको सीमावर्ती वनबाट झापा, कोशीटप्पु वन्यजन्तु आरक्ष, सिन्धुली, पर्सा हुँदै हात्ती नेपाल आउने गरेका छन्।
त्यहाँबाट चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जसम्म हात्ती आउने-जाने गर्दछन्। यो बाटो हिँड्न उनीहरू भारतीय सीमावर्ती वनको बाटो पनि प्रयोग गर्दछन्।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र बाह्रैमास हात्ती भेटिन्छन्।
धान, गहुँ र मकै पाक्ने सिजनमा हात्तीहरू बस्तीमा समेत आउँछन्। हात्तीले वन नजिकका बस्तीमा बाली नोक्सान गर्नका साथै केही मानवीय क्षती पनि गरेका छन्।