डा. गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारलाई दबाव दिने उद्देश्यले पाटनको दरबार स्क्वायर परिसरमा कलात्मक प्रस्तुति गरिएको छ।
सोलिडारिटी फर जिकेसी अलायन्सले आयोजना गरेको यस प्रस्तुतिमा रविन्द्र श्रेष्ठको क्यानभास, राजन काफ्लेको मूर्तिकला र युवराज घिमिरेको नेतृत्वमा शिल्पी अभिनय गरिएको थियो।
यस प्रस्तुतिले सरकारलाई सम्झौता कार्यान्वयन गर्न दबाव पुग्ने विश्वास लिइएको शिल्पी थ्रियटरका नाटक निर्देशक घिमिरेले बताए।
सरकारले केसीसँगको सम्झौता कार्यान्वयन नगर्दा शिक्षा तथा स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा बेथिति मौलाएको र सो बेथितिकै कारण उत्पन्न अवस्थालाई अभिनयमार्फत् आज प्रस्तुत गरिएको उनले बताए।
डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत् छन्। यसअघिका सम्झौता कार्यान्वयन नगरेकोमा उनी जुम्लामा अनसन बसेका थिए। सरकारले उनलाई असोज ६ गते काठमाडौं ल्याएको थियो।
तस्बिरहरू: