२९ वर्षीय अजयकुमार रायले हिरासतमा पनि ‘सलाम’ खाइरहेका छन्।
उनी बुधबार बिहानसम्म सक्कली प्रहरीबाटै सलाम खाइरहेका थिए। प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई)लगायत प्रहरीहरू रायलाई प्रहरी निरीक्षक ठानेर तन्किन्थे।
हिरासतमा परेपछि अहिले थुनुवाले रायलाई सलाम गर्न थालेका छन्। ‘व्यंग्यात्मक’ शैलीमा थुनुवाले ‘इन्सपेक्टर सा’प भन्दै तन्किन थालेपछि राय हिरासतमा बस्न ‘तनाव’ मानिरहेका छन्।
बिहीबार पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त आफैंले उनीसँग वयान लिँदा रायले भने, ‘सबै थुनुवाले मलाई इन्सपेक्टर सा’प भनिरहेका छन्, टर्चर भयो एसपी सा’प मलाई।’
पन्त हास्दै भन्छिन्, ‘यी मान्छेसँग म आफैं वयान लिइरहेकी छु, खुवै रोचक कहानी सुनाइरहेका छन्।’
राय बारा जितपुर-सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका हुन्।
बुधबार राय प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए।
परीक्षामा उनले पढेलेखेका शिक्षकलाई गार्डसमेत राखेका थिए। ती गार्डलाई सरकारी स्केलमै ९०० (कर कट्टा हुने गरी) रुपैयाँ दिइने भनेर झिकाएका थिए। प्रहरी प्रधान कार्यालयबाट जारी गरिएका प्रश्नपत्र पनि बनाएका थिए।
उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई सहभागी गराएका थिए। तर, प्रश्नपत्रको ढाँचा भने पत्यारलाग्दो थिएन। पढेलेखेका शिक्षकले पश्नपत्रमाथि शंका गरेछन्।
तर, यता राय बकाइदा प्रहरी निरीक्षकको पोशाकमा थिए। प्रहरी नै लिने तयारी परीक्षा न हो भनेर उनीहरूले फिक्री मानेनन्।
लकडाउनका कारण प्रहरीमा परीक्षा तथा भर्ना बन्द छ। राय भने कोरोना र लकडाउनको बेला पर्सामा तयारी परीक्षा भन्दै २१ जना परीक्षार्थी भेला पारेर जाँच लिइरहेका थिए।
परीक्षा दिनेहरू भने प्रहरी, राअको सूचकमा फारम भर्न तयारी अवस्थामा रहेका व्यक्ति थिए। एक जना त निजामती सेवाका लागि खरदारमा फारम भरिसकेका थिए।
सबै लोकसेवा परीक्षाका लागि तयारी गरिरहेका व्यक्ति थिए। ‘लकडाउनका कारण परीक्षाहरू सबै रोकिएका थिए। यस्तो बेला तयारी परीक्षा दिने भनेर इन्सपेक्टर नै आएको देखेर पछिका लागि सहयोग नै होला भनेर आएछन्,’ प्रहरी नायब उपरीक्षक मनोजित कुँवर भन्छन्।
तर, यस्तो तयारी परीक्षा प्रहरीले बाहिर लिने चलन छैन। यो बुझेका केही प्रहरीले शंका लागेर रायसहित सबैलाई समातेको थियो।
प्रहरी चौकीका इञ्चार्जहरू भने ९ महिनादेखि रायसँग झुक्किरहेका रहेछन्।
पन्तका अनुसार उनी प्रहरी चौकी परवानीपुर गइरहन्थे। चौकीमा जाँदा भने उनी सादा पोशाक लगाउँथे।
अहिलेको बर्दी भने उनले काठमाडौंबाट खरिद गरेको बताएका छन्। प्रहरीको बर्दी, फुली राजधानीका केही ठाउँमा किन्न पाइन्छ, त्यो प्रहरीहरूका लागि मात्र हो। तर, रायले बर्दी कसरी झिकाए खुलिसकेको छैन।
बर्दीमा परिचय-पत्र थिएन। हिजोआज प्रहरीले बर्दीमा परिचय-पत्र झुण्ड्याउन पर्दैन। ‘उनी यति अपडेट छन् कि परिचय-पत्र झुण्ड्याउन पर्दैन भन्नेसम्म थाहा रहेछ,’ कुँवर भन्छन्।
रायले वीरगन्ज-२६ नम्बर वडामा घर छ भन्थे। आफू भने जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी रहेको प्रहरी निरीक्षक भन्थे।
जसै, प्रहरी चौकीका इञ्चार्जले नै पत्याइदिए। उनीहरूले सलाम मात्र गरिरहे, प्रहरी निरीक्षक हुन् हैनन् भन्ने आधिकारिकता परीक्षण गरेनन्।
कहिले श्रीमती बिरामी भएको, कहिले बुवाको मृत्यु भएको र कहिले बहिनीको बिहे भन्दै उनी परवानीपुर आइरहन्थे।
बुधबार पक्राउ परेको वीरगन्ज-१६ देव पार्टी प्यालेस भने वडा प्रहरी कार्यालय विर्ताअन्तर्गत पर्छ।
उनी प्रहरी चौकी परवानीपुरसँगै इनर्वा, छपकैया, नगवालगायत पुगिरहन्थे। त्यहाँ गएर उनी मिजासिलो व्यवहार गर्थे। प्रहरीसँग नजिक हुन्थे।
‘उनले उक्त क्षेत्रमा गएर प्रहरीसँग व्यक्तिगत रुपमा राम्रो सम्बन्ध विस्तार गर्ने काम गरेको बुझियो, प्रहरीबाट लाभ लिने भन्दा पनि पहिले सम्बन्ध बनाएर आफ्नो गतिविधि सञ्चालन गर्ने योजना बनाएको देखिएको छ,’ प्रहरी उपरीक्षक पन्तले भनिन्।
पन्तका अनुसार राय असार महिनामा छपकैया चौकी पुगेका थिए। यो नेपाल-भारत सीमामा पर्छ।
त्यहाँको एउटा मन्दिरमा उनकी बहिनीको बिहे थियो। त्यहाँ रायले प्रहरीहरूलाई सामेल गराए।
कोरोना महामारीका कारण सीमा सिल थियो। भारतबाट मानिस आउन रोक थियो। तर, उनले इन्सपेक्टरको पहुँच लगाएर भारतबाट १९ जना मानिसलाई बिहेमा सहभागी गराए।
परवानीपुरका सईलाई त उनले घरमै पुर्याएका थिए। ‘इन्सपेक्टरको श्रीमती सम्बोधन (साहेबनी) भनेर नमस्कारै गरियो नि,’ ती सईलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक पन्तले भनिन्, ‘प्रहरीलाई त मुर्खै बनाएका रहेछन्।’
राय साधारण परिवारका मानिस हुन्। उनको घर पनि सईले साधारण देखे। उनलाई लागेछ- इन्सपेक्टरको घर त यस्तो नहुनु पर्ने!
पन्तका अनुसार उनी एसएलसी पास पनि हैनन्। १० कक्षा पढेर छोडेका हुन्।
तर, उनै राय भने २०७२ सालदेखि प्रहरीलाई नै ‘बेवकुफ’ बनाएर हिँडिरहेको अनुसन्धानमा खुलेको छ।
उनी २०७२ सालमा सशस्त्र प्रहरीको इन्सपेक्टर भएर बारा जिल्लामा यस्तै किसिमको ठगी गरेका थिए। उनले त्यसबेला सशस्त्रको परिचय-पत्र लगायत पनि बनाएका थिए। उनले सशस्त्र प्रहरीलाई पनि झुक्यानमा पारेर लाभ लिएका थिए।
प्रहरीले उनलाई त्यसबेला पक्राउ गरेको थियो। सरकारी छाप दस्तखत किर्ते मुद्दामा उनी ११० दिन कारागार बसेर निस्केका थिए।
त्यसयताको बीचमा उनी बारा र पर्सामै बस्थे। यो बीचमा उनले ठगी धन्दा गरेको देखिएको छैन। लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भयो। आयआर्जन रोकिएको बेला आफूले थालेको पुरानो कामधन्दामा राय फर्केको शंका गरिएको छ।
यो ९ महिनाको अवधिमा रायले बारा र पर्साका १३ जनालाई ठगेको देखिएको छ। ती व्यक्तिबाट उनले तीन लाख ६१ हजार रुपैयाँ ठगिसकेको पत्ता लागेको छ।
यो परीक्षा चलाएबापत उनले दुई लाख रुपैयाँसम्म उठाउने योजना बनाएको थाहा भएको छ। गार्ड बस्ने शिक्षक पनि उनले चिनेकै व्यक्ति छन्। उनले चिनेजानेका व्यक्ति नै प्रयोग गरेकोबारे अनुसन्धान भइरहेको कुँवरले बताए। रायलाई अहिले ठगी मुद्दामा अनुसन्धान थालिएको छ।