उनी तीन दिनदेखि बझाङ जिल्ला अस्पतालमा छिन्। उनको अवस्था देखेर सँगै रहेका अरू बिरामीको पनि गह भरिएर आउँछ।
२१ वर्षीया उनको तीन वर्षअघि बिहे भएको थियो। बिहेपछि नै उनको जीवन दुःखको सागरमा डुब्यो।
‘त्यसपछि मैले कहिल्यै आफ्नो शरीर आफ्नो भन्न पाइनँ,’ उनले आइतबार सेतोपाटीसँग भनिन्, 'ससुरा र श्रीमानले मेरो बलात्कार मात्र गरेनन्, मलाई वेश्यावृत्तिसमेत गर्न लगाए।'
उनी नौ महिनाको हुँदा नै आमाले अर्काे बिहे गरेकी थिइन्। बुबा कामका लागि भारतमा बस्थे। उनी छोरीको बिहेमा समेत आउन पाएनन्। यहाँ उनका अभिभावक भनेका काका–काकी नै थिए।
उनले पढेकी छैनन्। पढ्न नजाने सरहरूले पिट्छन् भन्ने डरले स्कुल जान मन नलागेको उनी बताउँछिन्। उनी काका-काकीसँग खेतमा काम गर्न जान्थिन्। घरको काम र मेलापातमै उनको बाल्यकाल बित्यो।
१८ वर्ष पुगेपछि उनको बिहे भयो। वर्षदिन त ठिकै बिते। त्यसपछि भने घरमा कचकच सुरू भयो।
'मलाई एक वर्षसम्म किन बच्चा नजन्माएको भन्दै कराउन थाले। यसको बच्चा पाउने छाँटकाँट छैन भन्दै सासू–ससुरा दुवै मिलेर कचकच गर्थे,’ उनले भनिन्, 'म बच्चा भइहाल्छ नि भनेर भन्थेँ। उनीहरू चाहिँ मेरोमा केही खोट छ भनेर धनगढी उपचार गर्न जा भनेर जिद्दी गर्न थाले।'
उनी उपचार गर्न धनगढी आइन्। ससुराले आफन्तको घरमा बसेर उपचार गराउने भने। तर, १५ दिन धनगढी बस्दा एक दिन पनि अस्पताल लगेनन्।
उनका श्रीमान भने जहिल्यै कताकता गइरहन्थे। अस्पताल जाने हो कि होइन भनेर सोध्दा 'चुप लाग' भन्दै हप्काउँथे।
दुई साता बितेपछि श्रीमानले नै उनलाई धनगढीमा उपचार नहुने भएकाले दिल्ली जानुपर्ने कुरा सुनाए। दिल्लीमै बस्ने कान्छा ससुरा उनीहरूलाई लिन धनगढी आएका थिए।
उनी उपचारका लागि दिल्ली गइन्। कान्छा ससुराको परिवार दिल्लीमै बस्ने भएकाले उनीहरू त्यही घरमा गए। उनका श्रीमान् दिल्लीमै कमाइ पनि गर्न थाले।
दिल्ली गएको तीन महिनापछि श्रीमानले काम खोजेर अलग्गै बस्ने कुरा गरे। सुरूमा त उनले कान्छा ससुराको घरबाट अलग्गै बस्ने हो कि भन्ने सोचेकी थिइन्। पछि पो थाहा पाइन्, उनका श्रीमानले आफू मात्र अलग बस्ने भनेका रहेछन्।
केही समयमै उनलाई त्यही घरमा छाडेर उनका श्रीमान अन्तै कोठा लिएर बस्न थाले।
‘मलाई कान्छा ससुराको परिवारसँगै बस्नू भनेर आफू छाडेर गए। सँगै जान्छु भन्दा पनि लगेनन्,’ उनले रुँदै भनिन्।
एक्लै दिल्लीमा बस्नुपरेपछि उनी डराउन थालिन्।
‘यस्तो किन गर्दैछन् मलाई, श्रीमानसँग किन टाढा गराउँदैछन् भनेर डर लाग्न थाल्यो,’ उनले भनिन्, 'मैले कान्छी सासूसँग यसबारे सोधेँ पनि, तर कसैले केही बताएनन्।'
त्यसपछि श्रीमानसँग उनको भेट हुन छाड्यो। जान्छु भन्दा पनि जान दिँदैनथे। त्यसैबीच कान्छा ससुराले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले।
‘ममाथि कान्छा ससुराले बलात्कार गर्न थाल्योे। म कराएँ, चिच्याएँ, तर उनले मलाई छाडेनन्,’ उनले भनिन्।
कान्छा ससुराले बलात्कार गर्दा पनि सासू भने सुने-नसुनेजस्तो गर्थिन्। आफूले भाग्न चाहे पनि नसकेको उनले बताइन्।
यसरी कान्छा ससुराले तीन महिनासम्म पटक-पटक बलात्कार गरेको उनले बताइन्।
‘तीन महिनापछि मेरो पेटमा बच्चा बस्यो,’ उनले भक्कानिँदै भनिन्, 'म दुई जीउकी भएको थाहा पाएपछि ससुराले गर्भपतन गराउने औषधि जुसमा हालेर खुवाउन थाले। त्यो औषधिले मेरो पेट मर्ने गरी दुख्यो। तर, दुख्यो भनेर कसैलाई भन्न सकिनँ।’
उनले अगाडि भनिन्, 'मेरो शरीरबाट रगत बग्न थाल्यो। औषधिले मेरो गर्भपतन भएछ। म कमजोर भएँ। दिनभरि कोठामा रोएर बस्थेँ। घर जान पाए पनि हुन्थ्यो भनेर सोचिरहन्थेँ।’
यति हुँदा पनि श्रीमानको अत्तोपत्तो थिएन। चार महिनापछि बल्ल श्रीमानसँग उनको भेट भयो।
'मैले रुँदै-कराउँदै ससुराको कर्तुत सुनाएँ। तर, उनलाई त्यसले कुनै असर गरेन। सुने पनि नसुनेजस्तो गरेर बसे। म पागलजस्तै हुन थालेँ,’ उनले भनिन्।
कुरा सुनिदिने कोही नभएपछि उनले घरबेटी महिलालाई सुनाइन्। तिनै महिलाले उनलाई घर नपुर्याए प्रहरीमा उजुरी गरिदिने भनेपछि सासूले घर पठाइदिइन्।
घर पुग्नासाथ उनी आफूमाथि भएको बलात्कार र शोषणको घटना काका-काकीलाई सुनाउन चाहन्थिन्। तर, उनले त्यसो गर्न सकिनन्। आफ्नो पीडा मनमै लुकाएर राखिन्।
‘केही महिना माइत बसेपछि जे हुनु भयो, फेरि उतै गएर घर गरेर खान्छु भनेर म फर्किएँ,’ उनले भनिन्, 'कान्छा ससुराले पो पाप गरेको, त्यो कुरा बिर्सेर नयाँ जीवन सुरू गरौंला भन्ठानेकी थिएँ। तर, जति कोशिस गर्दा पनि नयाँ जीवन सुरू गर्न सकिनँ। उनीहरूले बच्चा नजन्माएको भन्दै एकोहोरो सरापिरहे। दिल्लीमा उपचार भएन भनेर बैंगलोर जानुपर्यो भन्ने थाले।'
उनी पुराना सबै कुरा बिर्सेर बैंगलोर जान पनि राजी भइन्।
‘कान्छा ससुराले पो त अपराध गरेको, सासू-ससुरा त आमाबुबाजस्तै हुन् भनेर म जान तयार भएँ,’ उनले भनिन्।
उनी सासू, ससुरा र श्रीमानसँगै बैंगलोर जाने भइन्। माइतीले दिएको एक तोला सुन बेचेर बाटो खर्च जुट्यो। बझाङबाट महेन्द्रनगर र गड्डाचौकी नाका हुँदै उनीहरू बैंगलोर गए। त्यहाँ पुगेको दुई सातासम्म उनीहरू नन्दको कोठामा बसे।
ससुरा काम खोज्न तमिलनाडु गए। एक सातापछि नन्द र नन्दको श्रीमानसहित उनीहरू पनि उतै गए।
उनीहरू तमिलनाडुमा धागो बनाउने कम्पनीमा काम गर्न थाले। श्रीमान् सेक्युरिटी गार्डको काम गर्थे। ड्युटी कहिले राति हुन्थ्यो, कहिले दिउँसो। श्रीमान राति काममा गएका बेला ससुराले बुहारीलाई कमजोर छौ भन्दै माया देखाएर दूध खान दिन्थे।
‘दूध खाएपछि म सुत्ने रहेछु, बेहोस भएर केही थाहा पाउँथिनँ,’ उनले भनिन्।
‘राति दूध खाएर सुतेपछि बिहान उठ्दा शरीरभरि घाउ हुन्थ्यो, छाती र गुप्तांगमा काटेको हुन्थ्यो, योनी दुख्थे, अनुहार र शरीरमा वीर्य फालेको हुन्थ्यो,’ उनले भनिन्।
दूध खाएको रात सधैं यस्तो हुन थालेपछि एकरात उनले नखाएरै सुतेजस्तो बहाना गरिन्।
‘दूधमा औषधि खुवाएर बेहोस भएपछि सुरूमा ससुरा र पछि ज्वाईंले ममाथि बलात्कार गर्ने, गुप्तांग चलाउने र शरीरमा वीर्य फाल्ने रहेछन्,’ उनले भनिन्।
उनले सबै कुरा श्रीमानलाई सुनाइन्। श्रीमानले भने वास्ता गरेनन्।
घरमा अरूलाई पनि थाहा भएपछि त उनीमाथि ससुरा र ज्वाईंले खुलेआम बलात्कार गर्न थाले।
‘गर्न नदिए मार्छु भन्थे,’ उनले भनिन्, 'नन्द र सासूलाई सुनाउँदा उनीहरू हाँसेर उडाउँथे।'
केही समयपछि उनको पेटमा फेरि गर्भ रह्यो। नन्द र उनको श्रीमान बैंगलोर फर्किए। उनलाई गर्भपतन गराउन भने। श्रीमानले पनि गर्भपतन गराउन दबाब दिए।
‘बच्चा तुहाउन श्रीमान् र ससुराले औषधि खुवाए,’ उनले भनिन्।
औषधिले नभएपछि जबर्जस्ती अस्पताल लगेर अपरेसन गरी बच्चा फालिएको उनले बताइन्। त्यही बेला उनको स्थायी बन्ध्याकरणसमेत गराइएछ।
‘बच्चा फालेको र बन्ध्याकरण गरेको कुरा त्यहाँको अस्पतालका नर्सबाट थाहा पाएँ,’ उनले भनिन्।
उनी कमजोर भएर बोल्न सक्ने अवस्थामा थिइनन्। उनलाई तीन दिन अस्पतालमा राखियो। पछि कोठामा ल्याइयो। त्यसपछि त परिवारका सबैले उनलाई झनै पीडा दिन थाले।
‘बन्ध्याकरण गराएपछि उनीहरूले पैसा लिएर अरूसँग पनि मलाई सुत्न लगाउँथेँ,’ उनले भनिन्, ‘एक दिन दुई जना नेपाली मुखमा मास्क लगाएर आए। ढोकानिर उभिएका श्रीमान् र ससुराले पैसा हातमा लिएर उनीहरूलाई मतिर पठाए।’
उनी बेहोसजस्तै भए पनि ती दुई जनाले पालैपालो बलात्कार गरे। ‘पानी खान दिनुस् भन्दा उल्टै मेरो मुखमा पिसाब फेरिदिए,’ उनले भनिन्।
उनका बुबाले ससुरालाई फोन गरिरहन्थे। छोरीको खबर कस्तो छ भनेर सोध्दा ससुराले राम्रो छ भन्थे, तर कुरा गराउँथेनन्।
‘एक दिन ससुराको मोबाइलमा बुबाको फोन आयो। मैले फोन आएको टाढैबाट देखेँ। त्यो नम्बर इँटाले भित्तामा लेखेँ,’ उनले भनिन्, 'अनि म बुबासम्म पुग्न कोठाबाट जसोतसो लुकेर भागेँ। एक जना भारतीय नागरिकसँग सहयोग मागेर बुबा भएको ठाउँमा पुगेँ।'
त्यहाँ पुगेपछि बुबाले उनलाई अस्पताल लगे। एक महिनासम्म आइसियूमा राखे।
भदौ ३ गते एउटा गाडी बुकिङ गरेर उनीहरू नेपाल आए। यहाँ १५ दिन क्वारेन्टिनमा बसे। अनि भदौ २८ गते प्रहरीकहाँ मुद्दा दर्ता गरे।
असोज २ गते प्रहरीले अस्पतालमा जाँच गर्न भन्यो। अहिले उनी अस्पतालमै छिन्।
छोरीमाथि यस्तो अपराध गर्नेलाई कारबाही हुनुपर्ने उनका काकाको माग छ। छोरीलाई न्याय दिलाउन उनी प्रहरीसमक्ष अनुरोध गरिरहेका छन्।
यो कुरा थाहा भएपछि भारतमा रहेका केही नेपालीले उनका श्रीमानलाई नेपाल फिर्ता पठाइदिएको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले उनको श्रीमान पक्राउ परिसकेको जानकारी दिए।
‘एक जनालाई पक्राउ गरेका छौं, केही फरार छन्। बाँकी भारतमै भएकाले गृह मन्त्रालयबाट समन्वय गरेर पक्राउ गर्छौं,’ डिएसपी खड्काले भने।
नेपालमै रहेका कान्छा ससुरा र कान्छी सासूलाई प्रहरीले किन पक्राउ गरेन भन्ने पीडित पक्षको प्रश्न छ।
यता अस्पतालले उनको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको छ।
‘उनी कडा डिप्रेसनमा गएकी छन्, शारीरिक समस्या केही ठिक भए पनि मानसिक रूपमा भने धेरै नाजुक छिन्,’ डाक्टर सन्दिप ओखेडाले भने, 'उनको बन्ध्याकरण गराइएको रहेछ। शरीरमा अहिले पनि चोटपटक छन्।'
उनलाई डिप्रेसनको औषधि दिनुका साथै मनोपरामर्श सेवा पनि दिइरहेको डा. ओखेडाले बताए।