नेहा अग्रहरीले थाहा पाइन्- ११ कक्षा पढ्ने सम्झना मण्डल (नाम परिवर्तन)ले चौंथो घन्टीमा कक्षामा बस्न छोडेकी छन्। यो लकडाउनभन्दा केही समय अघिको कुरा हो।
सयपत्री युवा क्लबकी उपाध्यक्ष नेहा १२ कक्षा पढ्थिन्। उनले सम्झनालाई किन चौंथो घन्टीको कक्षा लिन छोडेको भनेर सोधिन्।
सम्झनाले भनिन्- त्यो कक्षामा पढाउने सरले गर्दा।
'के गरे?'
'मलाई जथाभावी छुन्छन्,' सम्झनाले बल्ततल्ल भनिन्, 'यस्तो नगर्नुभन्दा मायाले गरेको भन्छन्। मैले यसो नगर्नु भनेपछि झन् बढी छुन थाले। अनि मैले ती सरको कक्षै लिन छोडें।'
त्यसपछि नेहा सम्झनालाई लिएर प्रिन्सिपल सरको अफिसमा गइन्।
सम्झनाको कुरा सुनेपछि विद्यालय प्रशासनले ती शिक्षकलाई माफी माग्न लगायो। आचरण सुधार्न भन्यो र केही समय निलम्बनसमेत गर्यो।
'अनि सम्झना कक्षामा नियमित भइन्। त्यतिमात्र होइन अप्ठेरो लागेको कुरा भन्न पनि थालिन्,' नेहाले सेतोपाटीसँग भनिन्।
सम्झनामात्रै होइन आफ्नो स्कुलमा अरू किशोरकिशोरी समस्यामा पर्दा नेहा यसरी नै सहयोग गर्छिन्। टोलछिमेकमा पनि बालबालिका र किशोरकिशोरीको मद्दतमा उनी लागिरहेकी हुन्छिन्।
'धेरैले मलाई साथी मानेका छन्,' उनले भनिन्, 'आफ्ना जुनसुकै अप्ठेरो पनि सुनाउँछन्।'
सुनसरीको दुहवी नगरपालिका-३ की १८ वर्षीया नेहा यत्तिकै सबैकी साथी बन्न सकेकी होइनन्। अरूको समस्या समाधान गर्ने हिम्मत जुटाउन उनले आफ्नै घरमा पनि संघर्ष गर्नु परेको थियो।
यो संघर्षको सुरूवात पाँच कक्षामै पढ्दा भएको थियो।
एकदिन नेहा फुर्किंदै स्कुलबाट घर गइन्।
अघिपछि साथीसँग खेल्दै घर जान मन पर्थ्यो। त्यो दिन भने आफ्ना बुवाआमालाई खुसीको खबर सुनाउनु थियो।
आफूले सुनाउन लागेको खबरले खुसी भएका बुवाआमाको अनुहार कल्पना गर्दै उनी घर पुगिन्।
खबर सुनेर आमा चुपचाप बसिन्, बुवा रिसाए।
उनी स्कुलमा गठन भएको बाल संगठनकी सदस्य बनेकी थिइन्। सदस्यमा चुनिँदा नेहाले बिर्सिसकेकी थिइन्- स्कुल जानुअघि बुवाले बनाइदिएका नियम।
उनलाई बेला-बेला बुवाले ती नियम सुनाउँथे- पढाइमा मात्र ध्यान दिनू। खुरूखुरू स्कुल जानू, कक्षा सकिएपछि फर्केर सरासर घर आउनू। धेरैसँग नबोल्नू।
त्यो दिन बाल संगठनको सदस्य भएको खबर सुनेपछि बुवाले उनलाई हप्काए।
'छोरी मान्छे भएर धेरै जान्ने हुने, छोरीले लगाममै बसेको राम्रो हुन्छ। स्कुल जाने घर आउने यताउता बरालिए ठिक हुन्न,'
छोरीका लागि सीमाना कोरिदिने संस्कारमा हुर्किएका बुवाले उनको सुरक्षाको लागि जे जानेका थिए त्यही गरे। नयाँ जमानाकी नेहाले पनि बुवाले किन यसो भनेका होलान् भनेर बुझ्नै सकिनन्। उनलाई नरमाइलो लाग्यो।
'किन छोरी मान्छे लगाममै बस्नुपर्ने?' उनले मनमनै प्रश्न गरिन्। बुवाको कुरा भने काट्न सक्दैनथिन्। तर बाल क्लबमा भएको छलफल नेहालाई निकै मन परेको थियो।
बाल क्लबको छलफलमा भनिन्थ्यो- समाज र स्कुलका हरेक गतिविधिमा सहभागी हुन पाउनु बालबालिकाको अधिकार हो।
उनका बुवाले भने यही कुरामा रोक लगाएका थिए। त्यसैले पनि उनलाई बाल क्लबका कुरा मन परेको थियो।
'बुवाको रोकटोकका बाबजुद् पनि मैले बाल क्लबलाई छोडिनँ,' नेहाले सेतोपाटीसँग भनिन्, 'तर बाहिरफेर जान त बुवाको अनुमति चाहिन्थ्यो। त्यसैले सुरूसुरूमा मैले खास अवसर भने पाइनँ।'
बालअधिकारको बारेमा भने धेरै कुरा उनले बुझिन्। उनी धाराप्रवाह बोल्न सक्थिन्। त्यसैले कक्षाहरू उक्लिँदै गएपछि भने अवसर मिल्दै गए।
कक्षा ९ मा पुगेपछि उनी बाल क्लबबाट युवा सञ्जालमा उक्लिइन्।
दुहवीमा गठन भएको सयपत्री युवा क्लबको सदस्य भएपछि नेहाले समाजबारे अझ धेरै कुरा थाहा पाइन्। महिला पुरूषको स्थान, समाजका मूल्यमान्यता, समाजमा हुने अन्धविश्वासको जडबारे थोर बहुत बुझिन्।
'बुवाले मलाई किन बाल क्लबमा सहभागी हुन रोक्नुहुन्थ्यो भन्ने कुरा मैले युवा क्लबमा सक्रिय भएपछि मात्र बुझें,' उनले भनिन्, 'छोरीले अघि बढ्नु हुन्न भन्ने गलत मान्यताका कारण पो उहाँले मलाई रोक्नुभएको रहेछ।'
सयपत्री युवा क्लबमा सहभागी भएपछि उनलाई एक पटक काठमाडौं कार्यक्रममा सहभागी हुने अवसर जुट्यो। तर उनका बुवाले स्वीकृति दिएनन्। नेहा निकै जिद्धी गरेर काठमाडौं गइन्।
नेहा काठमाडौं गएपछि गाँउमा छोरीलाई छाडा छोडेको भनेर कुरा काटेछन्। बुवाले सुन्नु परेछ।
'म फर्केपछि वहाँले घर बाहिर निस्किन पनि प्रतिबन्ध लगाउनु भयो,' नेहाले सम्झिइन्।
अधिकार के हो र नराम्रा मूल्य मान्यता के हुन् भनेर बुझिसकेकी नेहा काठमाडौंको कार्यक्रमबाट झनै निखारिएर फर्किएकी थिइन्।
उनले बुवालाई सम्झाउन सुरू गरिन्। उनले विस्तारै सम्झाउन सुरू गरेपछि बुवाले पनि बुझे। बुवा आमाले मान्दै आएको गलत मान्यता नेहाले तोडेरै छोडिन्।
'बुवाले कुरो बुझेपछि, अहिले आमाले समेत घुम्टो बाहिरको संसार देख्न थाल्नु भएको छ,' नेहाले भनिन्, 'पहिला छोरीसँग केही कुरा गर्नु हुँदैन भन्ने मान्छे आजकल पसलको हिसाबकिताब पनि सुनाउनुहुन्छ।'
नेहाका बुवा अजय अग्रहरि आफूले सुरू सुरूमा समाजकै डरले नेहालाई क्लबमा बस्नबाट रोकेको बताउँछन्।
'पहिला छोरी भनेका घरभित्रै बसेको राम्रो हुन्छ भन्थे, समाजले पनि छोरीको कुरो काट्थे। छोरीबारे नराम्रो सुन्न त कहाँ मन हुन्छ र त्यसैले बाहिर नजाऊ भनेको थिएँ,' उनले भने, 'मैले धेरै पछि बुझें छोरीले त राम्रो काम गरिरहेकी छन्।'
उनलाई अचेल आफ्नी छोरीकोबारे समाजमा गुणगान सुनेर मख्ख पर्छन्।
'पहिला कुरा काट्ने समाजले अहिले छोरीको गुणगान गाएको सुन्दा गर्व लाग्छ,' उनले भने। छोरीले समाजका लागि राम्रो गरिरहेकी छन् भनेर अहिले उनी ढुक्क छन्। कुनैदिन समाज छोरीले चाहेको जस्तो बन्ला भन्ने आश पनि उनलाई छ।
'छोरीको प्रयास ले मेरै सोचाइ बदलियो,' उनले भने, 'त्यो कुरा राम्रो लाग्छ। समाज पनि बदलिएला!'
अचेल नेहालाई लाग्छ- बुवाले आफ्ना हरेक समस्या सुन्न र बुझ्न थालेका छन्। नेहालाई कहिले कस्ता कुरामा गाह्रो हुन्छ र आफ्नो सहयोग चाहिन्छ भन्ने थाहा पाएका छन्।
एकदिन नेहा अचम्म परिन् किनभने उनका बुवाले उनलाई स्यानिटरी प्याड ल्याइदिएका थिए। उनले कहिलै यस्तो सोचेकी पनि थिइनन् रे।
'महिनावारी भएकाबेला बुवाले स्यानिटरी प्याड ल्याइदिएको देखेर म छक्क परें,' उनले भनिन्, 'बुवाआमालाई राम्रोसँग आफ्ना कुरा बुझाएको नतिजा हो यो भनेर म आफैं मख्ख परें।'
परिवारमै आएको यो परिवर्तनले नेहालाई घरबाहिर गएर काम गर्ने वातावरण बन्यो। समुदायका मानिसलाई कुरा बुझाउन अचेल उनी आफ्नै घरको उदाहरण दिन्छन्।
समाजमा परिवर्तन ल्याउन सबभन्दा पहिले परिवारमै लड्नुपर्छ वा परिवारमा नबुझ्ने कोही छन् भने सम्झाउनु पर्छ भन्ने कुरा नेहाले आफ्नै अनुभवबाट सिकिन्।
ओरेक नेपाल सुनसरीकी संयोजक शान्ति दुनुवार नेहा निकै हिम्मतिली भएको बताउँछिन्।
'नेहा मधेसी समुदायकी एक उर्जावान केटी हुन्। जसले हानिकारक मूल्य मान्यताविरूद्धमा घरबाटै संघर्ष गरेर अहिले समाजलाइ पनि सघाउँदै छिन्,' उनले भनिन्।
अहिले नेहा सयपत्री युवा क्लबको उपाध्यक्षको रूपमा समाजमा भएका कुरितिहविरूद्ध सक्रिय छन्।
बालविवाह, बोक्सी प्रथा, छुवाछुत, छोराछोरीमा विभेद, घुम्टो प्रथाको उनी खुलेर विरोध गर्छिन्। यस्ता विषयमा गाँउघरमा शिक्षा दिँदै पनि हिँड्छन्।
समाजमा कतिपयले संस्कृति विरोधी भन्दा रहेछन्। कतिले प्रशंसा पनि गर्छन्।
नेहा सामाजिक कार्यमा सक्रिय भएको दुहवी नगरपालिका- ३ का वडा अध्यक्ष माधव भण्डारीले बताए।
'उनले घरमात्र होइन, समुदायका लागि राम्रो गरिरहेकी छन्। उनी सामाजिक काममा अहिलैदेखि सक्रिय भएको देखेर हामीलाई खुब खुसी लाग्छ,' उनले भने।