जुम्लाको कनका सुन्दरी गाउँपालिका-७ का २६ वर्षीय पसल रोकाया कर्णाली आवाज डटकम अनलाइन चलाउँदै आएका थिए।
अनलाइनसँगै कर्णाली एचडी नामक युट्युब च्यानल पनि थियो।
दर्ताबिना उनले उक्त अनलाइन चलाउँथे। उनले यो काम थालेको तीन वर्ष भएको छ।
प्रहरीका अनुसार उनी पत्रकारिताका लागि अनलाइन चलाउँदैनथे। रोकाया ठगी र ‘ब्ल्याकमेलिङ’ गर्थे।
सुरूमा रोकाया जुम्लामा बस्थे। जुम्लाबाट काठमाडौं आएर उनले ठगी धन्दामा ‘धूम’ नै मच्चाएको प्रहरी अनुसन्धानले देखाउँछ।
काठमाडौंमा प्रहरीबाट छलिइरहनुपर्ने परिस्थितिबाट मुक्ति पाउन उनी एक वर्षअघि दार्जिलिङ गए। उतैबाट ठगी चलाइरहेका थिए।
काठमाडौं-दार्जिलिङ आउने-जाने गर्थे। यसै क्रममा रोकायालाई प्रहरीले शनिबार इलाममा फेला पारेको थियो।
पछिल्लो पटक विद्युतीय अपराध तथा ठगीको जाहेरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली रोकायाको पछि लागेको थियो।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार उनको नामजस्तै कर्णाली आवाज र युट्युब च्यानल ‘पसल’ हुन्।
पैसा नपाएपछि झूटा समाचार बनाएर छापिदिन्थे। भ्रमपूर्ण समाचारले आजित भएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आएका छन्।
रोकाया विभिन्न व्यक्तिहरूसँग रकम माग गर्ने र रकम नदिएपछि उक्त व्यक्तिहरूको विषयमा गलत र भ्रमपूर्ण समाचार तयार पार्थे। फोटो जोड्ने, इडिट गरी बिगारेर आफैं बाचन गरेर युट्युब च्यानलमा राख्थे।
रोकाया पटक-पटक परिसर र अन्य कार्यालयबाट पक्राउ परेका व्यक्ति हुन्।
राठौरका अनुसार रोकायाको ठगीको फेहरिस्त सार्वजनिक भएको छ।
रोकायाले नर्सिङ काउन्सिलको परीक्षामा एक युवतीलाई उत्तीर्ण गराइदिन्छु भनी सत्तरी हजार रुपैयाँ मागेका थिए।
नदिएपछि पीडितको फोटो इटिड गरे। फेक आइडी खोलेर ब्ल्याकमेल गरे। ती युवतीले विद्युतीय अपराध शीर्षकमा जाहेरी दिएकी छिन्।
रोकायाले सामाजिक सञ्जालको दुरूपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिहरूको नाम तथा फोटो प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली आइडी बनाउँथे।
जागिर लगाइदिन्छु, लोक सेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकम ‘बार्गेनिङ’ गर्थे।
पैसा नदिएपछि कर्णाली आवाजमा उक्त च्याटको स्क्रिनसट हालेर समाचार बनाउँथे। युट्युब च्यानलमा भिडिओ समाचार पोस्ट गरेर चरित्र हत्या गर्थे।
रोकायाले सिसिइभिटीको परीक्षामा पास गराइदिन्छु भनी एक पीडितबाट ७० हजार रुपैयाँ ठगेको निवेदन परेको छ।
उनले यतिसम्म गरे कि श्रीमान-श्रीमतीबीचको सम्बन्धमै उतारचढाव ल्याइदिए।
एक त्यस्ता पीडित छन्, जसलाई रोकायाले तिमीसँग बिहे हुनुभन्दा तिम्रो श्रीमतीसँग मेरो सम्बन्ध रहेको भनी भगाइदिन्छु भनेर सामाजिक सञ्जालमा पोस्ट गरेर पीडित बनाए। घर-परिवारलाई समेत डर, त्रास र धाकधम्की दिएका थिए।
अर्की एक युवतीलाई बिहे गर्ने बहानामा शारीरिक सम्बन्ध राख्दा उनले भिडिओ खिचे। उक्त भिडियो सार्वजनिक गरिदिएर युवतीलाई पीडित बनाए। सो जाहेरी पनि प्रहरीमा विचाराधीन छ।
रोकायाले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिने भनी एक जनाबाट चार लाख र अर्काबाट दुई लाख रुपैयाँ ठगी गरेको पत्ता लागेको छ।
जिल्ला समन्वय समिति कालिकोटका इन्जिनियरलाई करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भनी युट्युबमा झूटो समाचार तयार पारेको पाइएको छ।
ती इन्जिनियरको फोटो इडिट गरेर उनले ‘करोडौं भ्रष्टाचार गरेकोमा मोसो दलेर निकाला गरिएको’ भनी मोसो लगाएजस्तो बनाएर सार्वजनिक गरेका थिए।
सो प्रकरणमा पनि अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
उनले तत्कालीन निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीलाई पनि छोडेनन्।
भण्डारीले सरुवाका लागि ब्ल्याकमेल गरेको झूटो खबर बनाए। भण्डारीलाई ‘बलात्कारका आरोपी’ भनी भिडिओ बनाएर युट्युब च्यानलमा पोस्ट गरेका थिए। सो मुद्दा पनि अनुसन्धानको क्रममै छ।
रोकायाविरूद्ध नेपाल मेडिकल काउन्सिलले समेत ठगीको जाहेरी दिएको छ। सो जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विचाराधीन छ। सो मुद्दामा रोकाया फरार थिए।
रोकायाले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा आफ्नो नाममा दर्ता गरेका छन्। ती कम्पनीमार्फत् उनी ठेक्कापट्टा पनि गर्थे।
उनी शुभलक्ष्मी अस्पतालको अध्यक्ष पनि हुन्। संविधान कलेज हालसालै दर्ता गरेका छन्। जसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराइने भनिएको छ।
फेसबुकमा उनी सिटिइभिटी, अनलाइन, खबर लगायतका पेज बनाएर सक्रिय थिए। विशेषगरी उनले नर्सिङ पेशामा आवद्धहरूलाई निशाना बनाएको देखिएको प्रहरी उपरीक्षक राठौरले बताए।
सिसिइभिटी तथा नर्सिङमा नाम निकालिदिन्छु भनेर उनले यौन दुर्व्यवहार समेत गरेको पाइएको छ।
उनी नक्कली आइडी बनाएर पनि ब्ल्याकमेल गर्थे। उनले ती आइडीमा उच्च पद हासिल गरेका व्यक्तिहरूको फोटो राख्थे।
चिनजान भएजसरी आफैं च्याट गर्थे। च्याट देखाएर सम्बन्धित व्यक्तिलाई प्रभावमा पार्न खोज्थे।
यसरी प्रभावमा पार्न खोज्दा विरोध गर्नेलाई सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने गर्थे।
‘यस्तो कामधन्दा गर्न थालेको तीन वर्षमात्र भएको छ, तीन वर्षमा यतिका ठगी र अपराध गरेको पाइएको छ,’ राठौरले भने।
रोकायाउपर विचाराधीन रहेका सबै जाहेरी पल्टाएर ठगी, साइबर अपराध लगायतमा अनुसन्धान थालिएको राठौरले बताए।