पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पस मा कार्यरत आंशिक शिक्षकहरुले प्रमुख र सहायक प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाएका छन्।
समान कामको समान ज्याला माग गर्दै आन्दोलनमा उत्रिएका आंशिक शिक्षकहरुले सोमबार क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालासहित सहायक क्याम्पस प्रमुखलाई गेटमै रोकेका थिए।
लामो समयदेखि आन्दोलनमा रहेपनि माग सुनुवाई नभएपछि क्याम्पस प्रमुख र सहायक प्रमुखलाई गेटमै रोकेको आंशिक शिक्षक विष्णु गौतमले बताए। ‘विगतमा भएको सहमति पनि कार्यान्वयन भएन, मागको पनि कुनै सुनुवाई भएन’, गौतमले भने, ‘अब आन्दोलन चरणबद्ध रुपमा चर्काएर लान्छौं।’
क्याम्पसमा कार्यरत आंशिक शिक्षकले गत वर्षको पुष अन्तिम सातादेखि आन्दोलन थालेका थिए। समान कामको समान ज्याला, नियमित तलब र त्रिभुवन विश्वविद्यालयले लगेको क्याम्पसका रिक्त दरबन्दी फिर्ता ल्याउनुपर्ने माग गर्दै उनीहरुले आन्दोलन थालेका थिए।
आंशिक शिक्षकले आन्दोलन थालेपछि गत वर्ष नै माघ २० गते त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत शिक्षकबीच सहमति भएको थियो।
उक्त सहमतिमा गत वर्षको फागुनदेखि नै आंशिक शिक्षकलाई नियमित तलब दिने र त्रिभुवन विश्वविद्यालयले लगेको क्याम्पसको रिक्त दरबन्दी फिर्ता ल्याउने सहमति भएको थियो। सहमतिमा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. ओमप्रसाद बराल, प्राध्यापक कृष्णप्रसाद आचार्य र उपप्राध्यापक बाबुराम दाहालले हस्ताक्षर गरेका थिए।
उक्त सहमति पश्चात आन्दोलनका कार्यक्रम रोकिएपनि कार्यान्वयन नभएपछि पुन आन्दोलन गर्न बाध्य भएको गौतमले बताए। फागुनदेखि लागू गर्ने भनेर सहमति भएपनि लागू नभएपछि फेरि आन्दोलनमा जान बाध्य भएको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले बताए।
झण्डै एक वर्षदेखि शान्तिपूर्ण आन्दोलन गर्दा समेत सुनुवाई नभएको भन्दै उनीहरुले साउन २५ गतेदेखि क्याम्पसको मुल गेटमा ताला लगाइदिएका छन्। तालाबन्दी पश्चात क्याम्पसका नियमित पठनपाठन र प्रशासनिक काम समेत पूर्ण रुपमा बन्द भएको क्याम्पस प्रमुख प्रा. डा. सरोज कोइरालाले बताए।
आन्दोलनरत आंशिक प्राध्यापक एवं शिक्षकले राखेका माग पुरा गर्न आफूसँग कुनै अधिकार नभएको क्याम्पस प्रमुख कोइरालाले बताए।
‘मैले त्रिभुवन विश्वविद्यालयलाई पटक पटक समस्या सम्वोधन गर्न भनेको छु अहिलेसम्म भएको छैन’, उनले भने, ‘क्याम्पस प्रमुख भएपनि उहाँहरुको माग सम्वोधन गर्न मलाई कुनै अधिकार छैन।’ उनले यो समस्या त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसको समस्या भएको भन्दै छिटो समाधान हुनुपर्ने बताए।
त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि लागू गर्नेगरी ल्याएको ‘अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका–२०७७’ लाई आंशिक प्राध्यापक र शिक्षकले अस्वीकार गरेका छन्।
निर्देशिकामा आंशिक शिक्षकलाई निकाल्न खोजिएको, १४ वर्षदेखि अध्यापन गराइरहेका आंशिक प्राध्यापक र शिक्षकका विषयमा नबोलेको तथा समान कामको समान ज्यालाका बारेमा केही उल्लेख नभएको भन्दै निर्देशिकालाई स्वीकार्न नसकेको पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षक विष्णु गौतमले बताए।
निर्देशिकामा आंशिक शिक्षक नराख्ने उल्लेख छ। तर भइरहेका शिक्षकलाई के गर्ने भनेर सम्वोधन नगरेको गौतमले बताए।
अहिले आंशिक प्राध्यापक र शिक्षकले प्रति कक्षा ३ सय रुपैयाँमा अध्यापन गराइरहेका छन्। जबकि दरबन्दीमा कार्यरत प्राध्यापक तथा शिक्षकले प्रति कक्षाको १ हजार ५ सय भन्दा बढी लिने गरेका छन्। पृथ्वीनारायण क्याम्पसमा मात्रै ७० प्रतिशत कक्षाभार आंशिक प्राध्यापक र शिक्षकले लिँदै आएका छन्। क्याम्पसमा अहिले २ सय २० जना आंशिक शिक्षक एवं प्राध्यापक कार्यरत छन्।
लामो समयदेखि आन्दोलनमा उत्रिएपनि त्रिभुवन विश्वविद्यालयले निर्देशिका ल्याएर झनै आन्दोलनकारीलाई चिढ्याउने काम गरेको आंशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले बताए।
‘त्रिभुवन विश्वविद्यालयले हामीलाई १४ वर्षदेखि शोषण गरेको छ’, उनले भने, ‘अब माग सम्वोधन नभएसम्म आन्दोलन छाड्दैनौं।’