पोखरामा गत वर्ष भएको हाडनाता बलात्कारको घटना सोमबार मात्रै सार्वजनिक भएको छ।
पीडितले बच्चा जन्माएपछि बलात्कारका विरुद्ध उजुरी आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। बलात्कार आरोपी २१ वर्षीय युवकलाई सर्लाहीबाट आइतबार पक्राउ गरी पोखरा ल्याइएको उनले बताए।
पीडित बालिकाले भदौ २९ गते छोरा जन्माएकी थिइन्। बालिका घरमा एक्लै भएको अवस्थामा गत पुस २ गते राति करिब साढे ९ बजे डर धम्की देखाएर ती युवकले बलात्कार गरेका थिए।
भतिजी नाता पर्ने बालिका बलात्कृत भएपछि गर्भ रहेको र भदौ २९ गते बच्चा जन्मिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।
बलात्कारका अभियुक्त युवकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले समय दिएको छ। बुबासँग पोखरा बस्ने ती बालिकाले यसअघि उक्त घटनाका बारेमा बाहिर बताउन नसकेको प्रहरीले जनाएको छ।
साउन यता मात्र पोखरामा २७ वटा बलात्कार सम्वन्धी घटना भएको प्रहरीले जनाएको छ। साउन यता बलात्कारका घटना १७ वटा, बलात्कार प्रयास ५ वटा र बाल यौन दुराचारका घटना ५ वटा दर्ता भएको डिएसपी हमालले बताए।
घटनामा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी छानविन गरिरहेको र केही मुद्धा अदालतमा दर्ता गरिसकेको डिएसपी हमालले बताए।