वरिपरि जंगल, बीचमा लाम्चो आकारमा बनेको छ रूपाताल।
पोखराका तालमध्ये यो तेस्रो ठूलो हो। ताल वारिपारिको जंगलका कारण पनि यो ठाउँ जैविक विविधताले धनी छ। जंगलका वन्यन्तुको प्यास यही तालले मेटाएको छ। रूपातालमा १ सय ७५ प्रजातिका माछा पाइन्छन्। स्थानीय सहकारीले माछाको बिक्री वितरण र संरक्षण गर्दै आएका छन्।
‘तालैतालको शहर’ उपमा पाएको पोखरामै ताल संरक्षणको मुद्दा पेचिलो छ। यसको ज्वलन्त उदाहरण हो- फेवाताल। फेवाताल दिनप्रतिदिन खुम्चिँदो छ।
मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालकै नियति दोहोरिन नदिन 'रूपाताल संरक्षण एकीकृत विकास परियोजना' कार्यान्वयनको चरणमा छ। यो योजना कार्यान्वयन भएपछि रूपाको आकार बढ्ने छ भने पानी चार गुणा थपिनेछ। त्यसपछि पोखराको पर्यटन फेवातालबाट रूपातालतर्फ सर्ने स्थानीयवासीको आशा छ।
'रूपाताललाई पर्यटकीय केन्द्र बनाउने गरी संरक्षण र विकासका योजना ल्याएका छौं,' रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सेतोपाटीसँग भने, 'यो योजना कार्यान्वयन भएपछि पोखरा आउने पर्यटक एक पटक रूपातालमा बास बस्न आउने छन्।'
रूपाताल संरक्षणमा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले चासो दिएका थिए। पोखराको लेखनाथ घर भएका सुवेदीले आफ्नो कार्यकालमा रूपाताल संरक्षणका एकीकृत योजना अघि बढाए। मन्त्रिपरिषदको २०७३ मंसिर १२ गतेको बैठकबाट रूपाताल संरक्षण एकीकृत विकास परियोजना स्वीकृत गराए।
परियोजनाले तालको क्षेत्रफल १२२ बाट बढाएर १८४ हेक्टर पुर्याउने लक्ष्य लिएको छ। जसका लागि ९९५ रोपनी व्यक्तिगत जग्गा अधिग्रहण गर्नु पर्नेछ।
अहिले जग्गा अधिग्रहणको काम भइरहेको परियोजनाका प्रमुख तुलसीराम भट्टराईले बताए। जग्गा अधिग्रहणका क्रममा हालसम्म करिब ५ सय रोपनी जग्गाको मुआब्जा बाँडिएको उनले जानकारी दिए।
परियोजनाले रूपातालमा पानीको मात्रा अहिलेभन्दा झन्डै चार गुणा बढाउने परिकल्पना गरेको छ। अहिले रूपातालमा २२ लाख ७० हजार क्युबिक मिटर पानी छ। परियोजना बनेपछि ७८ लाख ६० हजार क्युबिक मिटर पानी हुने भट्टराईले बताए।
यस्तै तालका हालको गहिराइ ३ देखि साढे ४ मिटरमात्र छ। परियोजनाले ६ देखि ९ मिटरसम्म गहिराइ बनाउने योजना लिएको भट्टराईले बताए। उनका अनुसार तालको चौडाइ हाल रहेको ८५४ मिटरबाट परियोजना सकिँदा ८७४ मिटरसम्म फैलाउने योजना छ।
पोखराको फेवा ताल र बेगनास तालमा यसअघि नै बाँध लगाए पनि रूपा तालमा भने अहिलेसम्म बाँध बाँधिएको छैन। तालको क्षेत्रफलदेखि गहिराइ बढाउन यही परियोजनामार्फत् बाँध बाँध्न लागिएको परियोजना प्रमुख भट्टराईले बताए।
‘रूपातालमा अहिलेको भन्दा ४ मिटर उचाइ बढ्ने गरी ६ सय मिटर लामो र बाँध बनाउँछौं,' भट्टराईले भने, 'यही बाँधले तालको क्षेत्रफल र गहिराइ बढाउँछ।'
तालमा बाँध बाँधेर मात्र संरक्षण हुन सक्दैन। फेवातालमा वर्षेनी खहरे खोलाहरूले ल्याउने ढुङ्गा, गिटी, माटोलगायत बाढी र पहिरोले ताल पुरिने क्रम द्रुत छ यस्तै हालबाट जोगाउन रूपाताल संरक्षण एकीकृत परियोजनाले अहिले नै काम थालेको इञ्जिनियर कृष्णबहादुर बिकले बताए।
रूपातालको मुख्य पानीको स्रोत तालबेसी खोला, कुसुन्दी खोला, दोभान खोलालगायत खोला र खोल्साहरूमा चेक ड्याम बनाउन थालिएको छ। हालसम्म ६१ वटा चेक ड्याम बनाएको इञ्जिनियर बिकले बताए। जाधार क्षेत्रमा गएका पहिरो रोक्न बायो-इञ्जिनियरिङ गरिएको छ भने खोला नियन्त्रण गर्न तालदेखि २ किलोमिटरसम्म किनारामा बाँध लगाएको छ।
रूपाताल पुरिनबाट जोगाउन बनाइएका बाँध यसपटकको बाढी र पहिरोले नै भरिएका छन्। बाँधमा भरिएका डुङ्गा, गिटी, बालुवा स्थानीय पालिकालाई निकाल्न दिने योजना रहेको परियोजनाले जनाएको छ। जसले स्थानीय तहलाई आम्दानीको बाटोसमेत खोलेको छ।
रूपाताल संरक्षणका लागि बनाएको बृहत्तर परियोजनाले पर्यटन विकासका खाका पनि कोरेको छ। लेखनाथमा कार्यालय स्थापना गरेर २०७३ पुसदेखि सुरू भएको यो परियोजना १० वर्षमा सक्ने लक्ष्य छ। परियोजना सकिँदा तालको पारिपट्टी अर्थात् रूपा गाउँपालिकातर्फ २ लेनको पक्की मोटर बाटो बन्नेछ। यसअघि नै ट्रयाक खोलिएको मोटर बाटो २ लेन चौडाइ बनाएर कालोपत्रे गर्ने योजना रहेको इञ्जिनियर बिकले बताए।
यता तालको पोखरातर्फको क्षेत्रमा भने साइकल गुडाउन सकिने गरी ४ किलोमिटर ‘फुट ट्रेक’ निर्माण थालिएको छ। पचभैया सामुदायिक वनको फेद हुँदै ताल किनारैकिनार घुम्न मिल्ने फुट ट्रेक बन्ने छ। यति लामो 'फुट ट्रेक' पोखराका अन्य ताल किनारमा अहिलेसम्म बनेको छैन।
पर्यटकीय पूर्वाधारसहित ताल संरक्षणको एकीकृत योजनाको कुल लागत ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ रहेको आयोजना प्रमुख भट्टराईले बताए।
'रूपाताल संरक्षण परियोजना सफल भएपछि अरू तालहरू पनि यसरी नै संरक्षण गर्नुपर्छ भनेर सन्देश जानेछ,' उनले भने, 'ताल पुरिनबाट जोगाउनमात्र होइन, पर्यटन विकासमा पनि कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले काम गरिराखेका छौं।’
अन्य तालमा बाँध लगाए पनि संरक्षणका एकीकृत कार्यक्रम नहुँदा अतिक्रमण हुनुका साथै पुरिँदै पनि गएको भट्टराईले बताए।
सरकारले बनाउँदै गरेको ताल संरक्षण एवं पर्यटकीय पूर्वाधारका योजना सँगसँगै रूपा गाउँपालिकाले तालमाथि झोलुङ्गे पुल बनाउने योजना अघि सारेको छ।
‘अहिले भन्दा ४ गुणा पानी भरिने तालमाथि झोलुङ्गे पुल बनाउँदा स्थानीयलाई वारिपारि गर्न सहजमात्र हुने छैन,' रूपा गाउँपालिकाका अध्यक्ष ओझाले भने, ‘पर्यटकका लागि आकर्षक गन्तव्य पनि बन्नेछ।’
रूपाताल संरक्षण एकीकृत विकास परियोजना सकिँदा लाम्चो आकारको रूपाताल अझै लामो बन्नेछ। त्यसपछि मोटरबोटमा बसेर ताल घुम्न, तालकिनारमा पदयात्रा वा साइक्लिङ गर्न र एकान्तवासका लागि सहयोग पुग्ने ओझाले बताए।
रूपातालको एकीकृत संरक्षणका योजनाले स्थानीय व्यवसायी पनि खुसी छन्। माछा पालन गर्ने कृषि सहकारी माछा पाल्ने क्षेत्र बढ्ने भएकाले खुसी छन् भने पर्यटन व्यवसायीलाई पर्यटकको चाप बढ्ने आशा छ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल बल्छी थापेर पर्यटकले नै माछा मार्न पाउने गरी कार्यक्रम बनाउनु पर्ने बताउँछन्।
अहिले बनिरहेको फुट ट्रेक किनारमा साइक्लिङ र पदयात्रा गर्ने पर्यटकलाई खाने र बस्ने ठाउँ बनाउन सरकारले सार्वजनिक जग्गा व्यवसायीलाई लिजमा दिनुपर्ने उनले बताए। परियोजनाको काम हेर्दा उनी निकै उत्साहित छन्।
'संरक्षणका योजनाले पर्यटनलाई टेवा त पुर्याउँछ नै,' ढकालले भने, 'संरक्षणका योजना सकिएपछि पर्यटकले दिन बितेको पत्तै पाउने छैनन्। यो परियोजना सकिएपछि फेवाताल हेर्न आउने पर्यटक रूपाताल हेर्न आउँछन। पोखराको पर्यटन नै सिफ्ट गर्छ।’
परियोजना पुरा भएपछि फेवातालमा भन्दा धेरै पर्यटक रूपातालमा आउने उनले बताए। बेगनासताल पनि नजिकै भएको र घुम्ने ठाउँ पनि धेरै भएकाले रूपातालमा पर्यटकको चाप बढ्ने उनको आकलन हो।
रूपातालको संरक्षण योजना समयमै सकिनेमा भने उनलाई चिन्ता छ।
‘नेपालमा धेरै योजना समयमा सकिँदैनन्,' ढकालले भने, 'रूपातालको परियोजना पनि समयमै सकिनेमा भने विश्वस्त हुन सकिँदैन।’