प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमकमा डेढ अर्ब बढी लगानीमा सुरू भएको ‘भ्यू टावर’ निर्माणको काम सन्तोषजनक रूपमा अघि बढेको छैन।
निर्माण थालिएको एक वर्ष बित्दा भ्यू टावर जमिनभन्दा माथि उठ्न सकेको छैन।
संघीय सरकारका ठूला योजना हेर्ने कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना झापाका अनुसार हालसम्म भ्यू टावरमा ३० करोड खर्च भइसकेको छ।
तर, अहिलेसम्म भ्यू टावरको जग नै निर्माणाधीन छ।
‘अग्ला टावरका लागि जग नै महत्वपूर्ण पक्ष मानिन्छ, ठूला-ठूला खम्बा गाड्नु पर्छ, त्यो काम सकिएको छ,’ आयोजना प्रमुख राजेन्द्र खतिवडाले भने, ‘भुइँ ढलान सकिएपछि मात्र टावर माथि उठ्छ।’
भ्यू टावरको बेसभन्दा मुनि २२, ३८ र ४६ मिटरका खम्बा गाडिएको छ। यो सकिएर ढलान भएपछि मात्र भ्यू टावरले जमिन छोड्ने बताए।
लकडाउनका कारण सिमेन्ट, डन्डीलगायत निर्माण सामग्री नपाइएका कारण भ्यू टावरको काम केही ढिलो भएको उनले बताए।
‘अहिलेसम्म भुइँ तलाबाट माथि आउँछ भन्ने अपेक्षा थियो तर लकडाउनका कारण सकिएन,’ खतिवडाले भने, ‘लकडाउनकै बीचमा पनि कामचाहिँ गरियो, तर अपेक्षा गरेअनुसार भएन।’
अहिलेसम्म १८.५ प्रतिशत खर्च र २२ प्रतिशत भौतिक प्रगति भएको खतिवडाले बताए।
भ्यू टावर निर्माणको काम २०७६ साउन महिनाबाट सुरू भएको थियो। भ्यू टावरका लागि अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको थियो।
सरकारले भ्यू टावरलाई राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा राखेको छ। चालू आर्थिक वर्षमा पनि संघीय सरकारबाट ४० करोड रुपैयाँ नै विनियोजन भएको छ।
प्रधानमन्त्री ओलीले आफ्नै पहलमा दमक नगरपालिका-३ ढुकुरपानीमा ‘भ्यू टावर’लाई राष्ट्रिय महत्वको योजनामा पारी बजेट विनियोजन गराएका थिए।
भ्यू टावर चिनियाँ कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष-ओमसाई जेभीले निर्माण गरिरहेका छन्। भ्यू टावरको कुल लागत १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ (कर बाहेक) हो। कर जोड्दा यो रकम १ अर्ब ५५ करोडभन्दा धेरै हुन आउँछ।
खतिवडाका अनुसार भ्यू टावर अढाइ वर्षमा पूरा हुने गरी ठेक्कामा लागेको हो। बीचमा काम ढिलो भएका कारण समय लम्बिन सक्ने उनले बताए।
‘दुई चार महिना समय लम्बिन सक्ने देखिएको छ, हामी सकेसम्म छिट्टै काम सक्ने योजनामा छौं,’ उनले भने।
भ्यू टावरको नाम ‘फाल्गुनन्द’ रहने छ। उनी पूर्वका किराँत धर्मगुरु थिए। टावर १०० मिटर अग्लो (३० तला)को हुनेछ। यसैमा ८ तलाको स्टिल टावर पनि रहने छ।
तर, त्यो स्टिल टावरसम्म भने जान सकिँदैन। १८ तलासम्म मानिस जानसक्ने गरी डिजाइन गरिएको छ।
२१ हजार १९७ स्क्वायर फुट जमिनमा भ्यू टावर उठाइने खड्काले जनाए। भ्यू टावरका लागि पाँच बिघाका जग्गा छुट्याइएको छ।
ओलीले पहिलो पल्ट प्रधानमन्त्री भएका बेला दमक भ्यू टावर बनाउने भन्दै शिलान्यास गरी जग्गा जुटाउन दमक नगरपालिकासँग सहयोग मागेका थिए। दमक नगरपालिकाले भ्यू टावरका लागि पाँच बिघा जमिन स्थानीयबाट जुटाइदिएपछि निर्माण अघि बढेको हो। स्थानीयले नि:शुल्क रूपमा जग्गा भ्यू टावरलाई दिएका छन्।
भ्यू टावरबाट दृश्यावलोकन गर्नेमात्र नभएर व्यापारिक कम्प्लेक्स, सिनेमा हल, सेमिनार हललगायत बनाउने योजना छ।
दमक नगरपालिका–३ ढुकुरपानी विकासको दृष्टिकोणले निकै पछि परेको ठाउँ हो। ढुकुरपानी चुरेको फेदैमा छ।
दमकको सिरानमा रहेको ढुकुरपानीको ग्रामीण भेग जोड्ने मुख्य बाटो नै कच्ची छ। पूर्व-पश्चिम राजमार्गबाट उत्तर रहेको ढुकुरपानी क्षेत्रमा खानेपानी पुगेको छैन। जनता ट्युबेलको पानी पिउँछन्। २०३९ सालमा स्थापना भएको दमक नरपालिकाले पछिल्ला ३६ वर्षमा त्यहाँ खानेपानीसम्म पुर्याउन सकेको छैन।
वडाध्यक्ष नवीन बरालका अनुसार भ्यू टावर बन्ने क्षेत्रमा पक्की बाटो पुगेको छैन। भ्यू टावर दक्षिण तीन सय मिटरसम्म मात्र पिच बाटो छ।
सो वडामा खानेपानीको प्रबन्धका लागि यसपालि संघीय सरकारले ५५ करोड रुपैयाँ छुट्याएको छ।
बरालका अनुसार खानेपानी आयोजना निर्माणका लागि जग्गा संरक्षण गर्ने काम भएको छ। मंसिरसम्ममा खानेपानीका लागि ठेक्का प्रक्रिया अघि बढ्ने उनले बताए।
भ्यू टावर निर्माण सुरू भएपछि त्यहाँका स्थानीयमा खुसी छाएको उनको भनाइ छ। ‘यहाँ जग्गाको भाउ बढेको छ, पर्यटनको सम्भावना बढेपछि स्थानीय खुसी छन्,’ उनले भने।
भ्यू टावर निर्माण सकिएपछि रोजगारी पनि सिर्जना हुने उनले बताए। यो वडामा घनाबस्ती छैन। भोलि भ्यू टावर बनेपछि सहरीकरण बढ्न सक्ने उनले बताए।
‘ढुकुरपानी पछि परेको ठाउँ थियो, भ्यू टावर बनेपछि नयाँ पहिचान बन्न सक्छ,’ उनले भने।