मेक्सिकोका दुई युवा पदयात्राका लागि लकडाउन हुनुभन्दा ५ दिनअघि मात्र नेपाल आएका थिए। उनीहरूको लक्ष्य थियो अन्नपूर्ण आधार शिविर पदयात्रा जाने। जब चैत ११ गतेदेखि लकडाउन भयो, उनीहरू यतै थुनिए।
छोटो समयका लागि चैत पहिलो साता नेपाल उत्रिएका उनीहरू स्वदेश फर्कन चाहेनन्। कोरोना भाइरसबाट जोगिन मेक्सिकोमा भन्दा नेपालमै सुरक्षित होला भनेर बसे। जब लकडाउन खुल्यो, उनीहरू अन्नपूर्ण आधार शिविर पदयात्रा जान खोजे।
अन्नपूर्ण आधार शिविर जान कम्तिमा ७ दिन पदयात्रा गर्नुपर्छ। उक्त पदमार्गको द्वारमै पर्ने घान्द्रुकका स्थानीयले सरकारले पदमार्ग खुला नगरेसम्म पर्यटक भित्र्याउन चाहेका छैनन्।
स्थानीयले पर्यटन व्यवसायीलाई तत्काल पर्यटक नपठाउन भनेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताए।
अन्नपूर्ण आधार शिविर पदयात्रा असम्भव बनेपछि मेक्सिकोका दुई युवाले गन्तव्य फेरे, मर्दी हिमाल पदयात्रा गर्ने।
उनीहरू पोखराबाट अष्ट्रेलियन क्याम्प, लान्द्रुक, फरेष्ट क्याम्प हुँदै हाइक्याम्प (३५५० मि) उचाइमा पुगे। हाइक्याम्पबाट माथि भ्यूप्वाइन्ट पुगेर फर्किए।
मर्दी पदमार्गमा नेपाली र विदेशी पर्यटक देखिन थालेको हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक रवीन्द्र पौडेलले बताए।
उनका अनुसार, बुधबारमात्र ४ जना विदेशी पर्यटकले मर्दी पदमार्गको भ्यू प्वाइन्टबाट प्याराग्लाइडिङ गरे।
जर्मन र पोल्याण्डका उनीहरू मर्दीको भ्यूप्वाइन्टबाट उडेर माछापुच्छ्रे गाउँपालिकाका भेंडाबारीमा ल्याण्डिङ गरेका थिए।
सरकारले कात्तिक १ देखि मात्र पदमार्गहरू खुलाउने निर्णय गरेको छ। त्यसका लागि विदेशबाट आउने पर्यटकले अनिवार्य ७ दिन क्वारेन्टिन बस्नुपर्ने र पिसिआर रिपोर्ट नेगेटिभ चाहिने बताएको छ।
सरकारले पदमार्ग खुला गर्नुअघि नै पदयात्रामा गएकाले हुनुपर्छ, उनीहरूले अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र नेपाल पर्यटन बोर्डले जारी गर्ने टिम्स कार्ड बोकेनन्। अनुमति नै नलिई विदेशीले संरक्षित क्षेत्रमा पदयात्रा गरिछाडे।
त्यसो त एक्याप र टिम्सको चेकपोष्टहरू अहिले पनि बन्द नै छन्। पदयात्रा जाने मोहले झण्डै ७ महिनादेखि पोखरामै बसेका विदेशी पर्यटकलाई चेक गर्ने निकाय कोही भएन।
पर्यटन प्रहरी पोखराका अनुसार अहिले पनि पोखरामा २ सय जना विदेशी छन्। मर्दी हिमाल पदयात्रा व्यवसायी समितिका सचिव राजकुमार तामाङले नेपाली र विदेशी पदयात्रीहरू पदयात्रामा आउन क्रम बढेको बताए।
मेक्सिकोका दुई युवा हाइक्याम्पमा तामाङले चलाएको होटल फिष्टेलमा बसेका थिए। पदमार्गमा अहिले नेपाली पदयात्रीको समूह पनि देखिन थालेका छन्।
मर्दी पदमार्गमै केही दिनअघि ८ जनाको नेपाली समूहले पदयात्रा पूरा गरेर फर्किएका छन्।
हाइक्याम्पस्थित होटल स्नोल्याण्ड झण्डै ७ महिना बन्द भएपछि अहिले खुलेको छ। होटलका सञ्चालक रवीन्द्र पौडेलले होटल बन्द हुँदा पोखरा झरेर बसेका थिए। अहिले नेपाली पदयात्रीले आग्रह गरेपछि होटल खुलाउन हाइक्याम्प पुगेको उनले बताए।
‘ट्रेकिङ आउनुपर्यो, बस्न खान पाइन्छ कि पाइँदैन भनेर धेरैले सोध्नुभयो’, उनले भने, ‘त्यसपछि पाइन्छ भनेर होटल खोल्न हाइक्याम्प आएँ।’
पदयात्रामा आउने पर्यटकलाई बस्न खान असुविधा नहोस् भनेरै आफूले होटल चलाएको पौडेलले बताए।
त्यसो त पर्यटकहरू हेलिकप्टरमार्फत् दृश्यावलोकन गर्न समेत जान थालेका छन्। ७ महिना लामो बन्दपछि गत साता प्रभु एयरको हेलिकप्टरले पर्यटकलाई दृश्यावलोकनमा लगेको थियो।
हेलिकप्टरमा मर्दी हाइक्याम्प पुगेका पर्यटक १ घण्टा बिताएर हेलिकप्टरमै फर्किएको पौडेलले जानकारी दिए।
पदयात्रामा पर्यटक देखिन थाले पनि नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नियमन गरेको देखिएको छैन।
सरकारले कात्तिक १ गतेदेखि मात्र पदमार्ग खोल्ने भनेकाले त्यही दिनदेखि टिम्स कार्ड वितरण गर्ने तयारी गरेको नेपाल पर्यटन बोर्ड, पोखराका प्रमुख काशीराज भण्डारीले बताए।
पदमार्ग नखुलेसम्म टिम्सका चेकपोष्ट बन्द नै रहने भन्दै उनले अहिले नै लुकिछिपी गएका पर्यटकलाई सम्झाउनुको विकल्प नभएको बताए।
बोर्डले पदयात्रामा व्यक्तिगत रूपमा जाने पर्यटकलाई टिम्स कार्ड जारी गर्छ भने समूहमा जानेलाई टानले जारी गर्छ। अब पदमार्ग खुल्दा कुन विधिबाट टिम्स कार्ड जारी गर्ने भन्नेबारे पनि यकिन हुन नसकेको भण्डारीले बताए।
यता, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पनि संरक्षित क्षेत्रभित्र अनुमति नै नलिई विदेशी पर्यटक जान थालेकोबारे अनभिज्ञता प्रकट गरेको छ।
एक्यापका निर्देशक राजकुमार गुरुङले चेकपोष्टहरू बन्द नै रहेकाले लुकिछिपी पदयात्रामा जाने विदेशीका बारेमा जानकारी नआएको बताए।
उनले पदमार्गमा छड्के चेक बढाउने बताए।
सरकारले कात्तिक १ गतेमात्र पदमार्ग खुला गर्ने निर्णय गरेकाले त्यसअघि पदयात्रीलाई अनुमति दिन नसकिने एक्यापका निर्देशक गुरुङले बताए।
टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले धेरै पर्यटकले पदयात्रामा जान खोजे पनि पदयात्रा नखुल्दासम्म एजेन्सीले बुकिङ नलिएको बताए।
व्यक्तिगत रूपमा लुकिछिपी जाने पर्यटकको चेकमा नियामक निकायले कडाइका साथ नियमन गर्नुपर्ने उनको धारणा छ।
सरकारले कात्तिक १ देखि पदमार्ग खुला गर्ने भएपछि पर्यटकको चाप बढ्ने व्यवसायीले अपेक्षा गरेका छन्।
उनीहरूले कोरोना भाइरसबाट जोगिन सरकारले नै बढी सावधानी अपनाउनुपर्ने बताएका छन्।
पदमार्गमा सीमित संख्यामा मात्र पर्यटकलाई पठाउन र स्वास्थ्य सावधानी कडाइका साथ लागू गर्न व्यवसायीले आग्रह गरेका छन्।
मर्दी हिमाल पदमार्ग व्यवसायी समितिका अनुसार उक्त पदमार्गभर ४५ वटा होटल छन्। पदमार्गमा होटल भएको अन्तिम स्थान हाइक्याम्पमा ३ सय जना पर्यटक राख्न सकिने समितिका सचिव तामाङले बताए।
व्यवसायी र पर्यटकको सुरक्षाका लागि नेपाल पर्यटन बोर्डले स्वास्थ्य मापदण्ड अपनाउनेबारे तालिम दिएको छ।
सरकारले बनाएको मापदण्ड अनुसार होटलका कोठा प्रयोग भएपछि कम्तिमा २४ घण्टा खाली राख्ने र पूर्ण रूपमा सरसफाइ गर्नुपर्छ।
यसका लागि पदमार्गमा जाने पर्यटकलाई क्षमता अनुसार पठाउन र चेकपोष्टहरूमा कडाइका साथ चेक गर्नुपर्ने तामाङले बताए।
मर्दी पदमार्गमा यसअघि वर्षेनी क्षमताभन्दा धेरै पर्यटक जाने गरेका थिए। उनीहरूलाई कोठा नपुगेर डाइनिङ टेबलमा समेत सुताउनुपर्थ्यो। लकडाउन घोषणा भएकै दिन पनि पदमार्गभरि पर्यटक थिए।
धेरैजसो पर्यटक गन्तव्यमा नपुगी फर्कन बाध्य भएको हाइक्याम्पस्थित होटल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदीप गौतमले बताए।
यसअघि पनि विदेशीभन्दा नेपाली पदयात्रीको चाप बढी हुने मर्दीमा स्वास्थ्य मापदण्ड पूरा गर्न पनि जति क्षमता हो, त्यति नै पर्यटक पठाउनुपर्ने गौतमले बताए।
‘पदयात्राका लागि धमाधम अनुमति दिने अनि पर्यटक आइसकेपछि व्यवसायीले राख्यो भन्न मिल्दैन’, उनले भने, ‘अनुमति दिँदा नै सीमित संख्यामा दिनुपर्छ।’
मर्दी पदमार्ग पर्यटन व्यवसायी समितिका सचिव राजकुमार तामाङले पनि स्वास्थ्य मापदण्ड सरकारले नै कडाइका साथ लागू गर्नुपर्ने बताउँछन्।
‘हामीले कसैलाई पनि बास बस्न दिन्नौं भन्न मिल्दैन’, उनले भने, ‘सरकारले नै पालैपालो पदयात्रीलाई पठाउनुपर्छ।’