तनहुँको ब्यास- ७ दमौलीका ७ वर्षीय दिप्सन श्रेष्ठ मंगलबार दिउँसो घर वरिपरि खेलिरहेका थिए। उनका बुबा पवन र आमा बिनिता घरमा थिएनन्। दिप्सनले छिमेकी सोविता परियारलाई देखे। सोविताले उनलाई बोलाइन्। दिप्सनले दाइलाई भेटाइदिनु न भन्न थाले।
सोविताका छोरा र दिप्सन खेल्ने साथी थिए। सोविता दमौलीमा कवाडीसम्बन्धी काम गर्थिन्। अहिले भने उनका छोरा कास्कीको बाघमारास्थित घरमा छन्। दिप्सनले दाइलाई भेटाइदिनु भनेपछि सोविताले बालकलाई लिएर हिँडिन्। मंगलबार दिउँसा ३ बजे कास्कीको बाघमारास्थित आफ्नो घरमा ल्याइन्।
दिप्सनका बुबा-आमाले यसबारे जानकारी पाएनन्। घर आउँदा त छोरा नै गायब। उनीहरुले तत्काल प्रहरीलाई खबर गरे।
छिमेकीले एउटा महिलाले लिएर गएको भनेपछि अपहरणको आशंकामा प्रहरीले ती महिलाको पहिचान गरेर खोजी तीव्र पारे। खोजतलासका क्रममा बुधबार बिहान सोविताको बाघमारास्थित घरमा पनि प्रहरी टोली पुगेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए।
प्रहरी टोली पुग्दा बाघमारामा ती महिला र बालक दिप्सन घरमा थिएनन्। उनीहरू बिहानै दमौली फर्किएका रहेछन्। बालकको खोजीमा जिल्ला प्रहरी कार्यालय दमौलीको गेटमै सार्वजनिक सवारी चेकजाँच कडा पारिएको थियो। बिहान करिब ८ बजेतिर सार्वजनिक बसमा ती महिला र बालक भेटिए।
बसबाट उद्धार गरेर बालकलाई परिवारको जिम्मा लगाएको डिएसपी तिमिल्सिनाले बताए। ती महिलालाई भने सोधपुछका लागि हिरासतमै राखिएको छ। अपहरणको आशंका गरिए पनि अहिलेसम्मको अनुसन्धानमा अपहरण पुष्टि हुन नसकेको डिएसपी तिमिल्सिनाले बताए।
‘अपहरण पुष्टि हुन सोही बमोजिमको कारण चाहिन्छ’, उनले भने, ‘बालककै इच्छामा गएर फर्कँदै रहेछन्। हामीलाई पो तनाव!’ ती महिलाले बुधबार बिहान घर ल्याउँदै गर्दा प्रहरीले पक्रेको बयान दिएको तिमिल्सिनाले बताए। घरमा कोही नभएको कारण परिवारलाई जानकारी दिन नसकेको पनि महिलाले प्रहरीलाई बताएकी छिन्।
अपहरणको कारण पुष्टि नभएकाले मुद्दा अगाडि नबढाउने निष्कर्षमा तनहुँ प्रहरी पुगेको छ। बालकका परिवारले पनि मुद्दा अगाडि बढाउन नचाहेको डिएसपी तिमिल्सिनाले बताए।
बालकले पनि प्रहरी र अभिभावकसामु दाइलाई भेट्न गएको भनेका छन्। प्रहरी हिरासतमा रहेकी सोवितालाई केही सोधपुछ गरेर छोडिने डिएसपी तिमिल्सिनाले बताए।