सप्तरीको डाक्नेश्वरी नगरपालिका- ७ स्थित ललितपुर गाउँकी फूलमाया (परिवर्तित नाम) लाई बलात्कार गर्ने दुई जना, बलात्कार गर्न सहयोग गर्ने दुई जना र मुद्दा मिलाउन पञ्चायती बस्ने १० जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
बलात्कारमा संलग्न चार जनालाई २२ वर्ष र पञ्चायती बस्ने १० जनालाई ७ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा दायर गरेको हो।
बलात्कार गर्ने दुई बालक छन्। उनीहरूको नाम सरकारी वकिल कार्यालयले परिवर्तन गरेर राम र श्याम राखिदिएको छ। उनीहरूलाई सघाउने गाउँकै धरमदेव र विष्णु मण्डल थिए।
ललितपुर गाउँकी १८ वर्षीया फूलमायाले आफू बलात्कारमा परेको भोलिपल्ट आत्महत्या गरेकी थिइन्। भदौ २९ गते बिहान खेतमा पानी लगाउन जाँदा राम र श्यामले उनलाई पिछा गरी बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।
यो घटनाको उजुरी दिन हिँड्दा दस जना अरू गाउँलेले पञ्चायती बसेर मिलापत्र गर्न दबाब दिएपछि उनले आत्महत्या गरेको जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा भनिएको छ।
राम र श्यामले फूलमायालाई बलात्कार गरेकोमा सातदेखि दस वर्षसम्म, सामूहिक बलात्कार गरेकोमा थप पाँच वर्षसम्म, आत्महत्या दुरूत्साहनमा पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना, उजुरी गर्नबाट रोकेकोमा दुई वर्षसम्म कैद सजाय हुनुपर्ने सरकारी वकिलको माग छ।
बलात्कार गरेपछि पञ्चायती बोलाएर मिल्न दबाब दिएको कारण फूलमायाले आत्महत्या गरेको भन्दै सरकारी वकिलले उनीहरूलाई आत्महत्या दुरूत्साहनको कसुर पनि लगाएको हो।
दुवै जनालाई बलात्कार, सामूहिक बलात्कार, आत्महत्या दुरूत्साहन र प्रहरीकोमा उजुर गर्न रोकेकोमा हुने सजाय जोड्दा २२ वर्ष कैद हुन्छ। राम र श्याम बालक भएकाले त्यसको आधा सजाय हुने कानुनी व्यवस्था छ।
फूलमायालाई बलात्कार गर्न सहयोग गरी आफूले समेत बलात्कार गर्न तम्सिएका विष्णु मण्डल र धरमदेव मण्डललाई भने यी सबै कसुरमा २२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग सरकारी वकिलले गरेको छ।
बलात्कार गर्न अरूलाई सहयोग गर्ने मतियारलाई बलात्कार गरे सरहको कैद सजाय हुने कानुनी व्यवस्था छ। त्यसैले राम र श्यामलाई जस्तै उनीहरूलाई पनि २२ वर्ष सजाय माग गरिएको महान्यायाधिवक्ता कार्यालयका (सरकारी वकिल कार्यालयहरूको तालुक निकाय) प्रवक्ता सञ्जीव रेग्मीले बताए।
राम र श्याम बालक भएकाले आधा सजाय भए पनि उनीहरूलाई त्यो छुट छैन।
बलात्कारको घटना गाउँमै मिलाउन र प्रहरीसम्म जानबाट पीडितलाई रोक्न पञ्चायती बस्ने दस जनालाई जनही सात वर्षसम्म कैद सजाय माग गरिएको छ।
अभियोगपत्र अनुसार, शत्रुधन मण्डल, उचितलाल भन्ने उजितलाल मण्डल, झमेली मण्डल, रामजी भन्ने बेचन मण्डल, वंशराज मण्डल, विदेश्वर मण्डल, सत्यनारायण मण्डल, जयकान्त मण्डल, देवु मण्डल र वासुदेव मण्डलले पञ्चायती बसेर पीडकबाट पीडितलाई २५ हजार रूपैयाँ जरिवाना भराउने निर्णय गरेका थिए।
उनीहरूले फूलमायालाई बलात्कारको उजुरी प्रहरीमा नलैजान दबाव दिएर आत्महत्या दुरूत्साहन गरेको सरकारी वकिलको जिकिर छ।
बलात्कार गर्ने, राम र श्याम अनि पञ्चायती बस्ने जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डल पक्राउ परेका थिए। उनीहरूलाई अभियोगपत्रका साथ अदालतमा पेश गरिएको प्रवक्ता रेग्मीले बताए।
अरू फरार अभियुक्तलाई भने वारेण्ट जारी गर्न माग गरिएको छ।