रौतहटकी १७ वर्षीया रोबिना मन्सुरी बुधबार मृत भेटिइन्। उनको मृत्यु हत्या हो वा आत्महत्या हो भन्ने यकिन भइसकेको छैन।
पोष्टमार्टमको लागि रोबिनाको शव अहिले नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा राखिएको छ।
रोबिनाको शव बुधबार साँझ केही व्यक्तिहरूले बोकेर दुर्गाभगवती गाँउपालिका– ४का स्थानीय जर्नेल कवारीको घरमा छाडेर गएको भन्ने सूचना प्रहरीले पायो। शव छाडेर जाने व्यक्तिहरू बाहिरका अरु कोही नभएर रोबिनाकै परिवारका सदस्यहरू रहेको प्रहरीले जनाएको छ।
शवलाई छाडेर जाने रोबिनाकी काका ३३ वर्षीय फुल महमद मन्सुरी, ४५ वर्षीय नसिरूद्दिन मन्सुरी, काकी ४० वर्षीया सहनाज खातुन र मामा ४० वर्षीय लाल महमद मन्सुरी थिए।
उनीहरूमध्ये फुल महमद र सहनाज खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अरू भने फरार छन्।
रोबिनाका प्रेमी १८ वर्षीया जुनैद कवारी दाइ जर्नेल कवारीको घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार मृतक प्रेमिका र कवारीको घर करिब ५० मिटर टाढा छ।
रोबिनाको परिवारले घरमा कोही नभएको मौका छोपी शव छोडेर जाने सोचेका रहेछन्। तर उनीहरूले शवलाई कवारीको घरमा लैजाँदै गर्दा जर्नेलकी श्रीमती २२ वर्षीया जहिना खातुन लगायत केही स्थानीयले देखे।
सोही स्थानकी २४ वर्षीया हुस्नतारा खातुन, ३५ वर्षीया शकिला खातुन, २४ वर्षीया जहिना खातुन त्यस घटनाको प्रत्यक्षदर्शी थिए।
जहिनाले उनीहरूलाई रोक्न खोजेपछि हातपात समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए।
मृतक परिवारले शवलाई जुनैदको घरमा लगेर छाड्नुको कारण भने रोबिना र जुनैदबीचको प्रेम सम्बन्ध नै कारण रहेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।
रोबिना र जुनैद लामो समयदेखि प्रेम सम्बन्धमा थिए। जुन रोबिनाको परिवारलाई स्वीकार्य थिएन। रोबिनाको परिवारले उनीहरूलाई प्रेम सम्बन्ध अगाडि नबढाउन पटक पटक चेतावनी समेत दिएको अनुसन्धानबाट खुलेको छ। तर उनीहरूले मानेका भने थिएनन्।
यही कारण दुई परिवारबीच तथा आ–आफ्नै परिवारमा पनि विवाद हुने गर्थ्यो। त्यसैले उनीहरूले रोबिनाको मृत्युपछि जुनैदलाई फसाउनका लागि यस्तो गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले बताए।
रोबिनाको घाँटीमा डोरी जस्तो देखिने डोब पनि थियो। जसले गर्दा उनको मृत्यु वा हत्या भन्ने खुल्न सकेको छैन।
‘पक्राउ परेका व्यक्तिहरूसँग बयान लिन पाएका छैनौं। उनीहरूले पनि बोलेका छैनन्,’ डिएसपी श्रेष्ठले भने, ‘उनीहरूले घाँटीमा कसेको पनि हुनसक्छ र आत्महत्या गरेपछि फसाउने नियतले पनि त्यसरी घरमा लगेको हुनसक्ने देखिएकोले हत्या वा आत्महत्या खुल्न सकेन।’
मृतकका बुबा लाल महमद धुनियाँ भने डेढ वर्षदेखि कामको शिलशिलामा भारतको पञ्जाबमा छन्। उनकी आमा भने बुधबार खेत गएकी थिइन्।
प्रहरीले सोधपुछको लागि प्रेमी जुनैद, भाउजु जहिना खातुनलाई पनि नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले बताए। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटबाट म्याद थप गरिएको छ।