पुष्पलाल डंगोल चराको चित्र बनाउँछन्। पहिलेपहिले उनी कागज र क्यानभासमा विभिन्न चराका आकृति कोर्थे। अचेल भने चराको चित्र चराकै प्वाँखमा बनाउँछन्।
उनी प्वाँख चित्रको अभ्यास गरिरहेका छन्।
तीन दशकदेखि चराको चित्र बनाइरहेका पुष्पलालको परिवारै यसमा जोडिएको छ। उनीहरूको परिवारै चराको चित्र बनाउने भनेर परिचित छन्। उनका बुवा हिरा, भाइ ईश्वर र बहिनीहरू मिना र प्रतिमा सबै चराकै चित्र बनाउन पोख्त छन्।
करिब चार वर्षअघि उनीसँगै बुवा, भाइ, बहिनीहरूले सामूहिक चित्रकला प्रदर्शनी गरेका थिए। त्यही प्रर्दशनीमा केही नौलो कला गर्ने उद्देश्यले काम गर्दा पुष्पलालको दिमागमा प्वाँखको आइडिया फुरेको रहेछ।
'लामो समय एउटै शैलीको काम गर्दा दिक्क पनि भइन्छ। त्यही भएर नयाँ काम गर्दा रिफ्रेस हुन्छ,' करिब तीस वर्षदेखि चराको चित्र बनाइरहेका उनले भने।
चराको चित्र बनाउने पेसामा लाग्नुको श्रेय उनका बुवा हिरालाई जान्छ। उनैका पाइला छोराछोरीले पछ्याए।
सुरूआतमा हिरा चराका चित्र बनाउँथेनन्। पौभा चित्रकलामा रमेका थिए। सन् १९७० मा पंक्षीविद रोबर्ट फ्लेमिङसँगको भेटले भने पौभाबाट उनको चित्र मोह चरामा ढल्कियो।
त्यतिबेला फ्लेमिङ 'बर्डस् अफ नेपाल' किताब प्रकाशनका लागि चराका चित्र बनाउने कलाकार खोजिरहेका थिए। कलाकार खोजिदिने जिम्मा पाएका लैनसिंह बाङ्देलले हिरा र हेम पौडेललाई भेटाइदिएका थिए।
५० वर्षअघि अहिलेजस्तो इन्टरनेट सुविधा नहुँदा चराको चित्र बनाउने काम सजिलो थिएन। अनुसन्धानका लागि विभिन्न ठाउँ पुग्दा फ्लेमिङ कलाकारहरूलाई कहिले सँगै लग्थे त कहिले ती चरा मारेर त्यसभित्र कपास, औषधि राखेर नमूना लिएर आउँथे। त्यही हेर्दै कलाकारहरू किताबका लागि चित्र कोर्थे।
किताबको काम सकियो। हिरालाई भने चरा चित्र मोहले छाडेन। धेरैले उनको चित्र हेर्दै प्रशंसा पनि गर्थे, 'कस्तो साँच्चिकै जस्तो चरा बनाउनु भएछ।'
यस्तो प्रतिक्रियाले उनी झनै हौसिन्थे। सायद, लामो समयदेखि बनाउँदै आएको पौभा कलाबाट उनी विश्राम खोजिरहेका थिए। अहिले भने उनले जीवनबाटै विश्राम लिइसके।
हिरा बिते पनि उनका सन्तानले यो काम निरन्तरता दिइरहेका छन्। तर अचेल ईश्वर र पुष्पलाल मात्र पूर्ण रुपमा चित्रकलासँग जोडिएका छन्। पुष्पलाल स्वतन्त्र कलाकार हुन्। ईश्वर स्कुलमा चित्रकला पनि सिकाउँछन्। दुई छोरी भने कहिलेकाहीँ प्रदर्शनी हुँदा मात्र जोडिन्छन्।
पुष्पलालका अनुसार उनीहरू सानो हुँदा हिराले चराको स्केच बनाएर रङ भर्न छाडिदिन्थे। आफू भने कृषि विकास बैंकमा जागिरे थिए। दिनभर काम गरेर बेलुकी घर फर्किँदा छोराछोरीले चित्रमा रङ भरिसकेका हुन्थे। यसरी नै उनीहरूमा चित्रकलाप्रति मोह जाग्यो।
पुष्पलाल सन् १९९८ तिर विदेश गएका थिए। १२ वर्षसम्म उनले त्यहीँको रेस्टुरेन्टमा काम गरे। लामो समय चित्र बनाउन नपाउँदा उनलाई फेरि आफ्नो पुर्ख्यौली पेसामा फर्किन सक्दिनँ कि जस्तो लागेको थियो। फर्किएपछि उनले अझ नयाँ शैलीमा चराका 'लाइफ साइज' चित्रहरू बनाउन थाले। यो भनेको वास्तविकतामा जत्रो आकारका चरा हुन्छन्, त्यति नै आकारको चित्रमा पनि।
यस्तो चित्र बनाएपछि उनीहरूको विशेषता, आकार, कहाँ बस्छन् लगायत चित्र हेरेरै थाहा हुन्छ। जस्तो, सर्पेन्टेड इगल चरा ढुंगा नै ढुंगा भएको ठाउँमा, उचाइमा बस्छ।
यस्तो चित्र बनाउँदा धेरै सतर्कता अपनाउनु पर्ने पुष्पलाल बताउँछन्। चराबारे जान्नेहरूले चित्रका कमीकमजोरी सजिलै थाहा पाउने भएकाले चुनौतीपूर्ण हुन्छ।
एकपटक पुष्पलालले हिमाली प्युरा भन्ने चरालाई रूखमा राख्ने सोचेछन्। पछि उनले थाहा पाए, त्यो चरा त रूखमै नबस्ने रहेछ।
'उनीहरू बारे सबै जानेर चित्र बनाउनुपर्छ। जानकारीका लागि किताब त कहिले गुगलबाट अध्ययन गरिन्छ,' उनले भने, 'एउटा चरा बनाउनै दुई–तीन हप्ता लाग्छ।'
उनी चरा अवलोकनका लागि पनि जान्छन्। 'बर्ड कन्जर्भेसन नेपाल' मार्फत कहिले पोखरा, रानीवारी, चितवन लगायत विभिन्न ठाउँ पुग्छन्। नेपालमा आधिकारिक रूपमा ८ सय ८६ प्रजातिका चरा दर्ता छन्। ती सबैको विस्तृत जानकारी नभए पनि तिनका प्रजातिबारे आफूले जानेको पुष्पलाल बताउँछन्।
यिनै अध्ययनबाट उनी केही चराका विशेषता पनि सुनाउँछन्, 'क्रसबिल भन्ने चराको चुच्चो क्रस हुन्छ। रानी चरा रातो र पहेँलो जोडी भएर बसेका हुन्छन्। यिनीहरू रुखमा बस्दा फलफूल जस्तै झुप्पो–झुप्पो देखिन्छन्। उड्दा रुखै नांगो जस्तो देखिन्छ।'
चार वर्षअघि प्वाँखको काम गर्दा उनले सुरूमा १०-१२ वटामा काम गरेका थिए। जसमा चिल, किङफिसर लगायत चरा बनाए।
उनले चित्र बनाउने प्वाँख भने चिल र परेवाका हुन्। परेवाका प्वाँख सजिलै पाए पनि चिलका ठूला–ठूला प्वाँख भेटाउन गाह्रो हुन्छ। उनका साथीहरूले कतै घुम्दा वा गाउँघरतिर पुग्दा उनलाई कोसेलीका रूपमा ल्याइदिन्छन्। उनी त्यसलाई संकलन गरेर राख्छन्, मन लागेका बेला चित्र कोर्छन्।
कागज र क्यानभासमा जस्तो प्वाँखमा चित्र बनाउन सजिलो भने छैन। पहिले त प्वाँख मिलेको हुनुपर्छ, बिग्रेकोमा गर्दा काम मात्रै बिग्रन्छ। स्केच कोर्न पनि मिल्दैन। रङ पनि एकै पटकमा बस्दैन। रङ भर्दै, सुकाउँदै, फेरि रङ भर्दै, सुकाउँदै...तीन–चार पटक यस्तो गरेपछि बल्ल तयार हुन्छ।
एउटा प्वाँखमा कोर्नै करिब ४ घन्टा लाग्छ। यसलाई उनले ४ देखि ८ हजार रूपैयाँसम्म बेच्छन्। पुष्पलालले अहिलेसम्म करिब सय प्वाँखमा चित्र बनाइसके।
'यसलाई धेरैले मन पराउनु भएको छ। नयाँ नयाँ काम गर्यो भने मान्छेलाई पनि मन पर्ने रहेछ,' उनले भने।
उनी चरासँगै हिउँ चितुवा, बाघ, ब्ल्याक प्यान्थर लगायत जनावरका चित्र पनि अर्डर बमोजिम बनाउँछन्। विशेषगरी ती चित्र होटल, रेस्टुरेन्ट र बैंकहरूलाई बेचिरहेका छन्।
पुष्पलाललाई पहिले जस्तै परिवारसँग सामूहिक प्रदर्शनी गर्ने रहर छ। आफूले बनाएका चित्र बिक्री गरिने भएकाले राम्रो संकलन छैन। त्यसैले निकै तयारी चाहिने उनी बताउँछन्।
'एउटा चित्र बनाउनै दुई तीन महिना लाग्छ। एक वर्ष जति राम्ररी तयारी गर्यो भने बल्ल एउटा प्रदर्शनी गर्न सकिन्छ। सबै कुरा मिल्यो भने चाँडै त्यो दिन आउनेछ,' उनी आशावादी सुनिन्छन्।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी