लकडाउनमै काठमाडौंका सडक मर्मत गरेर चर्चा कमाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले देशभरका अन्य सडकमा भने आँखा चिम्लिए।
यसैको एउटा उदाहरण हो, पृथ्वी राजमार्ग। यस राजमार्गको दमौली–पोखरा खण्डमा मात्र सयौं खाल्डाहरू छन्, कतिपय खाल्डा ३ वर्षदेखि पुरिएका छैनन्।
तनहुँको कोत्रेमा पृथ्वी राजमार्ग भत्किएको ३ वर्ष पुग्यो। कास्की र तनहुँको सीमावर्ती क्षेत्रमा भत्किएको सडक मर्मत सम्भारमा अहिलेसम्म सडक डिभिजन कार्यालयले चासो दिएको छैन। खाल्डाका कारण यात्रु र सडक वरिपरिका बासिन्दाले धुँवा–धुलोको सास्ती त खेप्नुपर्छ नै, सडक दुर्घटनाको प्रमुख कारण नै खाल्डा भएको ट्राफिक प्रहरीको भनाइ छ।
सडकमा परेको खाल्डाकै कारण दुर्घटनामा परेर बुधबार पोखराको बुलैदीमा २८ वर्षीय दिलिप गुरुङको ज्यान गयो। ग १६ प ५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर घाइते भएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लैजाँदा ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै, बुधबार नै बाग्लुङबाट पर्वत आउँदै गर्दा प्रदेश ०–२०१३ प ६८८८ नम्बरको मोटरसाइकल सडकमा पल्टँदा गोरखा देउरालीका २७ वर्षीय अकिल घिमिरे र पर्वतको कुश्मा निवासी २४ वर्षीय अजय सुनार घाइते छन्। उनीहरूको धवलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सडक मर्मत सम्भार नभएकै कारण दुर्घटना हुनु सामान्य घटना हुन लागिसकेको प्रहरीले बताएको छ।
कास्कीमा मात्र साउनयता भएका १५ वटा ठूला दुर्घटनामा १० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले बताए।
सडकमा भएका खाल्डाखुल्डी र चालकको लापरबाहीका कारण दुर्घटना बढेको उनले बताए।
राजमार्गमा खाल्डाबाट जोगिन खोज्दा धेरै दुर्घटना हुने, खाल्डाकै कारण सवारी साधन अनियन्त्रित भएर दुर्घटना हुने गरेको उनले बताए।
यता, सडक डिभिजन कार्यालय पोखराका प्रमुख सुनिलबाबु पन्तले यस आर्थिक वर्ष सडक मर्मत सम्भारको बजेट बाँडफाँट नै भइनसकेको बताए।
वर्षातमा धेरै सडक भत्किए पनि कुन सडक मर्मतमा कति बजेट भनेर यस वर्षको कार्यक्रम नै अहिलेसम्म नआएको उनले बताए। सडक विभागले उक्त बजेट बाँडफाँट गरेर पठाउनुपर्ने उनको भनाइ छ।
गत आर्थिक वर्ष ठेक्का लागेर काम नसकिएका मर्मत सम्भार भने मन्त्रालयबाट पुन: स्वीकृत गराएर काम अघि बढाएको पन्तले बताए।
‘राजमार्ग मर्मत सम्भारको काम एक हप्ताभित्र सुरू गर्छौं’, उनले भने, ‘दसैं अघिसम्म खाल्डो टाल्ने काम सकिन्छ।’
उनका अनुसार अहिले सहरी सडक मर्मतको काम भइरहेको छ।
सडक डिभिजन कार्यालय पोखराले पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्गको कास्की खण्ड मात्र हेर्छ। भूपी शेरचन राजमार्गमा मध्यपहाडी लोकमार्गको काम भइरहेकाले उक्त क्षेत्रमा आफूहरूको भूमिका नरहने उनले बताए।
पृथ्वी राजमार्ग अन्तर्गत कास्कीको सीमानादेखि मुग्लिनसम्म सडक डिभिजन कार्यालय दमौलीको क्षेत्राधिकारभित्र पर्छ।
तनहुँको कोत्रे खण्डमा वर्षौंदेखि सडक भत्किएको राजमार्ग मर्मत गर्न सडक डिभिजनलाई बारम्बार आग्रह गरे पनि अटेरी गरेको स्थानीयले बताएका छन्।
राजमार्गहरूमा मात्र होइन, दुई जिल्ला जोड्ने सडक र आर्थिक केन्द्रहरू जोड्ने सडक पनि वर्षौंदेखि मर्मत हुन सकेको छैन।
तनहुँको दमौलीदेखि लमजुङको भोर्लेटार जोड्ने सडक यसैको अर्को उदाहरण हो।
उक्त सडक कालोपत्रे भएदेखि एक पटक पनि मर्मत नभएको स्थानीयले बताएका छन्।
प्रदेशमा हस्तान्तरण भएका सडकको पनि मर्मत सम्भार गर्न अहिलेसम्म बजेट बाँडफाँट नै हुन सकेको छैन।
भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकीका सचिव रामचन्द्र श्रेष्ठले मर्मत सम्भार गर्नुपर्ने सडकको पहिचान नै नभएको बताए।
‘कुन सडक कति मर्मत गर्नुपर्ने छ पहिचान भइसकेको छैन’, उनले सेतोपाटीलाई भने, ‘मर्मतका लागि बजेट त छ, सडक पहिचान नभएकाले बाँडफाँट भएको छैन।’
मर्मतका लागि यसअघि नै बजेटको व्यवस्था भएका सडक छिटो मर्मत सम्भार गर्न ठेकेदार पक्षलाई पत्राचार गर्ने उनले बताए।