१०१ वर्षीया गणेशमाया प्रजापतिले बिफर, हैजा लगायत सबै महामारी सामना गरेकी थिइन्। यो पटक कोरोनासँग पनि उनको साक्षात्कार भयो।
उमेरले ६० कटेकालाई कोरोनाको उच्च असर हुन्छ भनिएको छ। तर उनले अस्पताल नबसी यो रोगलाई जितिन्।
मध्यपुर थिमीस्थित घर पुग्दा गणेशमायाको ऊर्जा र मुस्कानले हामीलाई पर्खिरहेको थियो। उनीसँगै छोरा इन्द्रबहादुर पनि थिए। इन्द्र वडा नम्बर ६ का वडाध्यक्ष पनि हुन्।
गणेशमायासहित उनको परिवारमा चार जनालाई कोरोना देखिएको हो। छोरा इन्द्र, एक छोरी पूर्णमाया, र नाति सहजलाई संक्रमण भए पनि बुहारी, नातिनी बुहारी र पनातिमा भने देखिएन।
प्रजापति परिवारमा सबभन्दा पहिले गणेशमायाका नाति सहजलाई कोरोना देखिएको हो। सहजका साथीलाई कोरोना देखिएपछि शंकाका आधारमा उनीहरूले परीक्षण गराए। बहाखास्थित अर्को घरमा सहजलाई क्वारेन्टिनमा राखे। तीन दिनपछि रिपोर्ट शंका गरेअनुसारै पोजेटिभ देखियो।
इन्द्रका अनुसार सहजलाई पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यले पनि परीक्षण गराए। परिवारका तीन जना छाडेर अरूमा कोरोना देखियो।
'आमाका लागि भने हामीले अस्पताललाई आग्रह गरेर घरमै बोलायौं। उहाँहरूले स्वाब लिएर जानुभयो,' इन्द्रले भने।
रिपोर्ट आउनेबित्तिकै इन्द्र पनि सहजसँगै अर्को घरमा बस्न थाले। रिपोर्टअनुसार उनीहरूमा भाइरसको प्रभाव धेरै भएकाले सार्ने क्षमता बढी थियो। कम क्षमता देखिएका गणेशमाया र उनकी छोरी पूर्णमाया भने नगरपालिकानजिकै घरको माथिल्लो तलामा बसे।
उनीहरू सबैमा सामान्य रुघा–खोकीको समस्या देखिएको थियो। गणेशमायालाई खोकी त पहिले पनि लागिरहेकै हुन्थ्यो। कोरोना बेला उनले आफूले पहिले नै सामना गरेको बिफरको पीडा सम्झिइन्। त्यसको तुलनामा यसको असर उनलाई सामान्य लागेछ।
'बिफर आउँदा चार दिन लगातार ज्वरो आयो। बिस्तारै पानीको फोका बन्दै खटिरा देखिन थाले,' ७–८ वर्ष हुँदाको अनुभव साट्दै भनिन्, 'तर त्यो सानो बच्चालाई मात्र आयो, ठूलाहरूलाई आएन। केटाकेटीहरू मात्रै मरे। अहिले कोरोना भने सानो बच्चादेखि बूढासम्म सबैलाई लाग्यो। मृत्युदर पनि सबै उमेरमा छ।'
पहिलेका महामारीमा परिवारका सदस्यलाई माया र स्याहार गर्न पाइन्थ्यो। कोरोनामा त्यो परको कुरा, नजिक आउन पनि मिल्दैन। त्यसैकारण कोरानाको डरभन्दा उनलाई परिवारसँग टाढिनु परेकाले नरमाइलो लागेछ।
'त्यतिका समय हामी सँगै बसेको परिवार टाढिनुपर्दा नमज्जा भयो,' उनले भनिन्।
इन्द्रकी श्रीमती र उनीहरूका चार वर्षीय नातिलाई कोरोना नभएकाले अरू आइसोलेसन बस्दा उनीहरू भान्सामै सुते। गणेशमाया र पूर्णमायाको स्याहार इन्द्रकी श्रीमतीले नै गरिन्।
गणेशमायाका पनातिलाई बिहान उठ्नासाथ उनीसँगै खाटमा गएर चिया–बिस्कुट खाने बानी परेको थियो। त्यो बानी भरपाई कोरोना भएपछि मोबाइलले गरेछ। आजकलका केटाकेटी मोबाइल भएपछि सजिलै जो भुल्छन्!
चैत लकडाउनयता गणेशमाया ४-५ पटक मात्र घरबाहिर निस्किएकी थिइन्। झ्यालबाट बाहिर बाटो हेरिरहँदा उनको दिमागमा सोच आउँथ्यो रे– बाहिर हिँडिरहने मान्छेलाई कोरोना नहुने, हामी भित्र बसेकालाई भने हुने!
गणेशमायाका सन्तानमा इन्द्र, पूर्णमाया र अरू ५ छोरी छन्। पूर्णमायाको बिहे भएको छैन, सँगै बसेकी छन्। आइसोलेनसनमा बस्दा अरू छोरी पनि घरको तलसम्म आमा भेट्न आउँथे, उनको नजिक भने पर्थेनन्। यस्तो बेला गणेशमायालाई 'यो कस्तो रोग हो' भनेर चित्त दुख्थ्यो रे। अनि देवताहरूको नाम लिँदै उनी आफ्नो मन सम्झाउँथिन्।
उता अर्को घरमा इन्द्र र सहजको रेखदेख गर्न सहजकी श्रीमती बसेकी थिइन्। उनीहरूले कोठालाई धागोले दुई भागमा छुट्याएका थिए। धागो कटेर कोही यताउता नजाने!
त्यहाँ उनीहरूले एउटा टेबल पनि राखे। खाना त्यही टेबलमा ल्याएर राखिन्थ्यो। खाना खाएर थाल पखालेर उनीहरू घोप्ट्याउँथे।
कोरोनादेखि आ–आफ्नो परिवार नै डराउने बेलामा छिमेकीहरू नडराउने कुरै भएन। इन्द्रको परिवारले सुरुआतमै सबैलाई आफूमा कोरोना भएको जानकारी दिएका थिए। छिमेकीले भने टाढाबाटै पनि उनीलाई सक्दो सहयोग गर्ने भावना देखाएछन्।
चाहिने सामान छिमेकीले आफ्नै पैसा राखेर ल्याइदिन्थे। पैसाबाट पनि कोरोना सर्ने भएकाले त्यसको हिसाब राखिराख्नु भनेर इन्द्रले सुझाएका थिए। पछि कोरोनामुक्त भएपछि तिरिदिए।
'हामी बसेको ठाउँमा एक जना दाइले किन माथि मात्र बसेको, यहाँ तल आऊ, हामी सँगै पो बस्नु हुन्न। तिमी उता बस म गेटमा बस्छु। माथि मात्रै बस्दा बिरामी हुन्छ भनेर बोलाउँथ्यो,' इन्द्रले सम्झिए।
यसरी उनीहरूले १४ दिन र सहजले पहिलेका थप तीन दिनसहित १७ दिन आइसोलेसन बसे। त्यसपछि जाँच गराउँदा पूर्णमायाबाहेक सबैको कोरोना नेगेटिभ देखियो। पूर्णमायालाई थप चार दिन आइसोलेसन राखेर जाँच गराएपछि पूरै परिवार कोरोनामुक्त भयो।
प्रजापति परिवारमा अहिले सुकून छाएको छ।
गणेशमायाको करिब १५ वर्षअघि पत्थरी र १० महिनाअघि हर्नियाको अपरेसन भएको थियो। अरू खास समस्या नभए पनि ग्यास्ट्रिकले बेला-बेला सताउँछ। कमजोरी भएकाले उनले नियमित भिटामिन-ई खाइरहेकी छन्।
प्रजापति परिवारले कोरोना आएयता भिटामिन-सी, पोसिलो खानेकुरा, तातो पानी नियमित खाइरहेका छन्। दैनिक पानीको वाफ पानी लिइरहेका छन्।
१०१ वर्ष उमेरमा कोरोनालाई जितेकी र लामो यात्रा पार गरेकी गणेशमाया को हुन् त?
गणेशमाया थिमीकी रैथाने हुन्। 'केटी मान्छेले पढ्नु हुन्न' भन्ने बेलाको समाजमा हुर्किएकी उनले पढ्न पाइनन् नै। खेतीकिसानी, श्रीमानले बनाएको भाँडा ओसार्ने-सुकाउने र कपडा सिलाउने काम गरिन्।
'त्यतिबेला कल नभई हातैले लुगा सिलाइन्थ्यो। कपडा आफ्नै अन्दाजले काट्नुपर्थ्यो,' उनले त्यसबेलाको अनुभव सुनाइन्।
प्रजापति समुदायमा हुर्किएकी उनले लामो समय माटोसँग बिताइन्। प्रजापतिको पुर्ख्यौली पेसा माटाको भाँडा बनाउने हो। त्यस समुदायमा जति घर भए पनि बहालमा राख्ने चलन थिएन। माटाका भाँडा असार–साउनमा पानी पर्दा छोप्न पाल हुन्थेन। ती भाँडा राख्नै ठाउँ चाहिन्थ्यो।
'यो टोलमा स्थानीय बाहेक बाहिरका मान्छे हुन्थेनन्,' उनले भनिन्, 'अहिले त हामी आधा, बहालवाला आधा भइसके।'
इन्द्र पनि आफू सानो छँदाको सम्झना जोड्छन्, 'अहिले त सबै कंक्रिटका घर भए। म सानो छँदा पनि झिँगटीकै घर थिए यहाँ।'
५४ वर्षीय इन्द्रले पनि केही समय माटोको काम गरे। पछि २८ वर्षसम्म विद्यालयमा पढाए। त्यही बेला उनलाई राजनीतिमा टक बसेको थियो। ४३ सालमा निर्वाचित प्रतिनिधि भएयता उनले तीन दशक राजनीतिमै बिताइसके।
कोरोना आएयता विपत व्यवस्थापनको मिटिङ बसेर उनको वडाले गरिब एवं बहाल बस्नेलाई खाद्यान्न वितरण गर्यो। पार्टी प्यालेसमा पनि उनीहरूले केही दिन खाना खुवाए। जनचेतनाका लागि पनि काम गरिरहेका छन्।
थिमी क्षेत्रमा घना बस्ती छ। त्यहाँका पुराना घरका भर्याङ साना हुन्छन्, ट्वाइलेट पनि एउटै। यस्तोमा संक्रमित बढ्ने झनै धेरै जोखिम हुन्छ। आफूजस्तै घरमा बस्ने सुविधा सबैलाई नभएकाले कृषि विकास बैंकमा ६८ जना बस्न मिल्ने आइसोलेसन वार्ड बनाएका छन्।
आफूले नै यो रोग जितेर आएकाले यो रोगबारे भन्छन्, 'नियम पालना गर्यो भने कोरोना ठूलो कुरा होइन। यो नलाग्नु राम्रो। लागेपछि डराउनेभन्दा आत्मविश्वास बढाउनुपर्छ। लक्षण देख्दा सामान्य रूघाखोकी मात्र हो भनेर बस्नु हुन्न। अरूलाई पनि नहोस् भनेर देखाइहाल्नुपर्छ।'
गणेशमाया पनि भन्छिन्, 'नडराई राम्रोसँग बस्नू। म त निको भएँ।'