बलराम सापकोटाका धेरै परिचय छन्: क्यासिनो किङ ‘बले’। गुन्डा नाइके ‘बले’। हेलिकप्टर ‘बले’।
यी नाम पछाडिका अर्थ पनि छन्। क्यासिनोमा मिटर ब्याजमा लगानी गरेर नेपालीलाई कंगाल बनाउने नामले बलरामलाई ‘क्यासिनो किङ’ भनियो।
दरबारमार्ग क्षेत्रमा रात्रीकालिन आपराधिक गतिविधिमा संलग्न रहेको अर्थ्याएर प्रहरीले गुन्डा नाइके भन्यो।
हेलिकप्टर चढेर दुलही लिन गएका हुनाले उनलाई हेलिकप्टर ‘बले’ भनियो।
अहिले बनेको परिचय अपराध गरेर अर्बको सम्पत्ति जोड्ने ‘बले’ हो।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ‘बले’विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
एक वर्ष लामो अनुसन्धानपछि सोमबार बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध विभागले मुद्दा लग्दा बलेसँग १७ करोड ४७ लाख र कक्षपतिसँग दुई करोड ४७ लाख रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना माग गरिएको छ।
बलेले आर्जन गरेको गैरकानुनी सम्पत्तिबाट विस्तार भएको अरू एक अर्बको लगानी छ। सो जफत गर्न माग गरिएको छ। एक दशकको अवधिमा ‘बले’सँग यति सम्पत्ति देखिएको हो।
‘बले’ले मानव तस्करी, हातहतियार प्रयोग दुरूपयोग, क्यासिनोमा मिटर ब्याज लगानीबाट यतिको सम्पत्ति आर्जन गर्न सफल भएकाले उनको सम्पत्तिको आयस्रोत वैध होइन भन्ने अनुसन्धानको निष्कर्ष छ।
‘बले’ साधारण परिवारका मान्छे हुन्। काभ्रेको रोशी गाउँपालिका-१० मा उनका बुवा पुरेत छन्।
सो वडाका वडाध्यक्ष दूधराज तामाङका अनुसार ‘बले’ले गाउँमा बुद्धचित्तको बगैंचा लगाएका छन्। उनको बगैंचामा ७२ बोट बुद्धचित्त फल्छन्।
यस वर्ष एक बोट ९० लाख रुपैयाँका दरले ठेकेदारले लिइसकेका छन्। यी बुद्धचित्त क्यासिनोमा मिटर ब्याज लगानी मौलाएबाट रोपिएका थिए।
एउटै व्यक्तिले यतिका बुद्धचित्तको कारोबार गर्न पाउने/नपाउने नियम छैन।
‘यो व्यक्तिले लगाएको सम्पत्ति हो, कानुनले नलगाउनु नगर्नु भनेको छैन,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल भन्छन्, ‘कहिलेकाहीँ लुटपाटका घटना हुन्छन्, त्यसमा हामीले रेगुलेट गर्छौं।’
बुद्धचित्तको कमाइबाट ‘बले’ले गाउँको मुहार फेर्ने हैन, उनी त्यो हैसियतमा पनि छैनन्। त्यसैले, यो उनको एकल कमाइ हो।
त्यही कमाइको आडमा ‘बले’ समाजमा रवाफ देखाउँछन्, बालुवाटारसम्म पहुँच बनाउँछन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै भेट्न जान्छन्।
गाउँका पुरेतको छोरा बलराम संयोगले मात्र ‘बले’ भएका होइनन्, उनी नेपाली राजनीति र प्रहरी प्रशासनमा व्याप्त भ्रष्ट प्रवृत्तिले जन्माएका एक पात्र हुन्।
‘बले’हरू जन्मने-हुर्किने ‘नेक्सस’ नेपालमा छ। त्यो ‘नेक्सस’ भनेको राजनीतिक, ब्युरोक्र्याट, प्रहरी, अपराधी र व्यापारीको हो।
पूर्वडिआइजी रमेश खरेल ‘बले’हरूलाई फ्याउरे गुन्डा भन्छन्। क्यासिनोबाट मौलाएका ‘बले’हरूको कमाउधन्दाको ढोका भ्रष्ट प्रहरीले खोलिदिएको अनुभव खरेलसँग छ।
उनले ३० वर्ष नेपाल प्रहरीमा बिताउँदा थुप्रै ‘बले’ झेलेका छन्। खरेलको बुझाइमा ‘बले’हरूलाई अर्बपति बनाउनमा भ्रष्ट प्रहरीको हात छ।
***
जनआन्दोलन सकिएपछिको कुरा हो। डिएसपी हुँदा खरेल जिल्ला प्रहरी कार्यालय काठमाडौं (हाल महानगरीय प्रहरी परिसर) हनुमानढोकामा थिए। प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा जिल्ला प्रहरी कार्यालय थियो।
विदेशीलाई मात्र भनेर खोलिएको क्यासिनोमा नेपाली छिराइन्थ्यो। कंगाल बनाइन्थ्यो। डिस्कोहरू राति २ बजेसम्म चलाइन्थ्यो। अवैध धन्दा चलाइन्थ्यो।
महिनाको अन्तिममा क्यासिनो सञ्चालक, डिस्कोका मानिस एसपीलाई भेट्न आउँथे।
सहजै भेट पाउँथे। कुरा गर्थे। निस्किन्थे। जान्थे। महिना पुगेपछि फेरि आउँथे।
ठिक त्यसैगरी वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरू पनि एसपीलाई भेट्न महिनाको अन्तिमतिर आउँथे।
कतिपयले खरेलसँग अत्यन्तै गुनासो गर्थे- सर, हामीले साह्रै दु:ख पायौं। महिना लागेको छैन, एसपीसा’बले पैसा बुझाउन बोलाइहाल्नुहुन्छ।
खरेल भन्थे- नबुझाओ न त तिमीहरू।
उनीहरू भन्थे- नबुझाएर सुखै छैन।
खरेलका अनुसार क्यासिनो, डिस्को, थेकहरूबाट प्रहरीका हाकिमहरूले महिनावारी रकम उठाउँथे। त्यो रकम काठमाडौं उपत्यका प्रहरी (मेट्रो)का डिआइजी र एआइजीकहाँ पुग्थ्यो।
‘बले जस्तैले हो त्यसरी हप्ता, महिना बुझाउने, तर के गर्नु ट्वाइसी भएपछि सकिँदो रहेनछ,’ खरेलले भने, ‘त्यसरी हप्ता, महिना उठाउने प्रहरीका हाकिम अहिले घरभित्र थुनिएर बसेका छन्। निरीह छन्। समाजसँग आँखा जुधाएर हिँड्ने हिम्मत छैन।’
खरेल प्रहरी निरीक्षक भएर एक महिना जनसेवामा काम गरेका थिए। १४ महिना नगर प्रहरीमा पनि काम गरेका थिए। तर, उनको त्यसबेला केही चल्दैनथ्यो।
क्यासिनोमा नेपाली कंगाल भएको भने उनले २०४९ सालतिर देखेका थिए- याक एन्ड यति होटलमा।
त्यसबेला खरेल पुलिस एकेडेमीमा थिए। पाँच वर्षजति त्यहीँ बसेर काम गरे। ब्याचमा अलराउन्ड फस्ट भएपछि उनलाई त्यहीँ राखिएको थियो।
एकदिन उनका साथी प्रमेश केसीले क्यासिनो जान प्रस्ताव गरे। केसी अमेरिका जाँदै थिए।
क्यासिनो छिर्दा बुफे डिनर र रेड लेबल फ्रीमा पाइन्थ्यो। ‘ऊ र म सँगै बसौं भन्ने भएपछि हामी गयौं, याक एन्ड यतिको क्यासिनोमा छिर्यौं,’ खरेल भन्छन्, ‘हामीलाई पनि फ्रीमा रेड लेबल दिए।’
त्यहाँ बस्दै जाँदा उनले नेपालीहरू क्यासिनोमा ह्वार्ह्वार्ती छिरेको देखे। छिनमै कंगाल भएर निस्केको देखे।
उनले केसीलाई भने- तिमीले केही देख्यौ? विदेशीलाई मात्र भनिएको ठाउँमा व्यापक नेपाली खेलिरहेका छन्, बुफेमा खाइरहेका छन्।
प्रमेशले भने- यसलाई कसरी रेगुलेट गर्ने?
खरेलले भने, ‘म एक पटक काठमाडौं आउँछु, यसलाई रेगुलेट गरेरै छाड्छु।’
क्यासिनो छिरेर निस्केका खरेल त्यसपछि बेचैन भएका थिए।
यसबीचमा काठमाडौंको जनसेवा, नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयमा डिएसपी भएर काम गर्दा पनि क्यासिनोमा पहिले जसरी नेपाली छिराइन्थ्यो, कायमै रह्यो। उनले नियन्त्रण गर्न सकेनन्। आफ्नो कमाण्ड-कन्ट्रोल थिएन।
‘मलाई एकदमै निरीह भएको फिल हुन्थ्यो, नेपाली दाजुभाइ दिदी-बहिनीलाई कंगाल बनाएर आएको पैसा हाकिमहरूले महिनावारीको रूपमा खान्थे। एकदिनचाहिँ म काठमाडौं प्रहरीमा प्रमुख भएर आउँछु नै आउँछु भन्ने लाग्थ्यो,’ खरेल भन्छन्, ‘क्यासिनोलाई म तह लगाएरै छाड्छु भन्ने लाग्थ्यो।’
तर, खरेल काठमाडौं आउन भने २०६७ सालमा मात्रै सम्भव भयो। जतिबेला उनी पोखरामा एसपी थिए।
पोखरा गएको सात महिना पुग्दैथ्यो। उनलाई प्रहरी प्रधान कार्यालयबाट २४ घन्टे हाजिरी पत्र आयो।
किन आयो? के भयो? पोखरामा आक्रामक रूपमा क्यासिनो बन्द गराइरहेका खरेल सुरूमा त झस्किएका थिए।
‘तर, पत्र आएपछि त जिल्ला छोड्नुपर्यो,’ उनले भने, ‘म काठमाडौं आएँ।’
रमेश चन्द ठकुरी प्रहरी महानिरीक्षक थिए। उनले खरेललाई काठमाडौं परिसरमा पठाउनका लागि सोध्दैनसोधी पोखराबाट बोलाएका रहेछन्।
माधवकुमार नेपाल प्रधानमन्त्री थिए। त्यसबेला काठमाडौंमा थेगिनसक्नु आन्दोलन थियो। माओवादीहरूले सरकारविरूद्ध देशभरिबाट कार्यकर्ता राजधानीमा थुपारेका थिए। माओवादी हड्तालले बिचल्ली हुन थालेपछि प्रतिकार समूह उतिकै सक्रिय थियो।
यस्तो बेला खरेललाई काठमाडौं बोलाइएको थियो।
‘अलिकति पनि कमजोरी भएको भए उपत्यकामा माओवादीका एउटा कार्यालय पनि रहँदैनथे, सयौं मान्छे मारामार हुन्थ्यो,’ खरेल भन्छन्, ‘त्यसलाई व्यवस्थापन गरियो, शान्तिपूर्ण तरिकाले नै आन्दोलन समाप्त भयो।’
***
काठमाडौं आउनुअघि पोखरामा खरेलले क्यासिनो अपरेसन चलाएका थिए। त्यहाँको अनुभव बेग्लै खालको छ।
उनका अनुसार पोखरामा दुई वटा क्यासिनो थिए। त्यहाँ नियमित नेपालीहरू जान्थे। त्यसरी जान दिएबापत एसपी, एसएसपी, डिआइजीले महिनावारी रकम खाने गर्थे।
खरेल आफू जानेबित्तिकै क्यासिनोमा नेपाली छिर्न बन्द गरिदिए।
हप्ता, महिना उठाउन बन्द गरिदिए। कसैले यस्तो गरेको थाहा भयो भने छोड्दिनँ भनेका थिए।
नामी होटल व्यवसायी पियुस अमात्यको पोखरामा पाँच तारे होटल थियो।
उनको क्यासिनोमा नियमित २५/२६ जना नेपाली जाँदा रहेछन्।
क्यासिनोमा प्रहरीले कडाइ थालेपछि अमात्य जिल्ला प्रहरी कार्यालय कास्की पुगे।
खरेललाई हात जोडेर अमात्यले भने, ‘खरेलहरूसँग मेरो पुरानो नाता सम्बन्ध छ, खरेलसा’प मेरा ती नियमित क्लाइन्टलाई नरोकिदिनुस्।’
हातै जोडेर र नाता सम्बन्ध केलाउन थालेपछि खरेलले अमात्यलाई ‘दाइ’ भनेर सम्बोधन गरे।
‘दाइ नाता-सम्बन्धको कुरा गर्नुभयो। तर, मबाट यो हुन सक्दैन,’ खरेलले निर्धक्क भने, ‘नेपालीहरूलाई जुवाघरमा पठाएर कंगाल बनाएर घर गृर्हस्थी बिगारेर आएको पैसा महिनावारी खान सक्दिनँ। म जुवाघरलाई अपराधीहरूको फ्याक्ट्री बनाउन दिन्नँ।’
काठमाडौंमा रहँदा खरेलले नेपालीहरूको घरबास बिग्रेको, कोही भने बलेजस्तै क्षणभरमै अर्बपति भएको देखेका थिए। उनको मन कुँडिएको थियो।
अमात्य निन्याउरो मुख लगाएर प्रहरी कार्यालयबाट निस्किए।
पोखराका दुई वटा क्यासिनो बन्द नै भए।
‘नेपाली दाजुभाइ परिवारलाई सिध्याएर महिनावारी खाने पापीहरूले?,’ खरेल भन्छन्, ‘ती कति लज्जास्पद भएर अहिले एउटा कोठामा सीमित छन्, समाजमा आँखा जुधाएर कुरा गर्न सक्दैनन्।’
खरेलका अनुसार क्यासिनोबाट महिनावारी खाने प्रहरीका हाकिमहरूले सबैतिर भ्याइदिए। रक्तचन्दन तस्करीबाट पनि खाए, डिस्को, क्याबिन रेस्टुरेन्टदेखि मेनपावरसम्म महिनावारी उठाए।
पोखरामा बन्द भएपछि क्यासिनो लत भएकाहरू काठमाडौं आउन थाले। बिहानको फ्लाइटमा आउने, दिनभरि क्यासिनो खेल्ने, साँझ पोखरा फर्किने।
काठमाडौंमा क्यासिनो खुला थिए। नेपालीलाई बकाइदा छिराइन्थ्यो। प्रहरी प्रशासन सबै मिलेका थिए।
‘म पोखराका क्यासिनोमा रेड गर्दै, काठमाडौं जाने-आउनेको रेकी गर्थेँ, एयरपोर्टमा टोली पठाउँथें,’ उनले भने, ‘त्यसरी पोखराबाट काठमाडौं जाने क्रम चलिरहँदै मचाहिँ सरुवा भएर आएँ।’
एक दिन पोखराकी गुरुङ थरकी महिला खरेललाई भेट्न पुगेकी थिइन्। जिल्ला प्रहरी कार्यालयमा उनी रूँदै पुगेकी थिइन्।
खरेललाई हात जोडेर भनिन्, ‘सर, तपाईंको कारणले मेरो श्रीमानको क्यासिनो लत छुट्यो।’
खरेलका अनुसार श्रीमान क्यासिनो जान छोडेपछि तीन महिनामा ४५ लाख जोगिएको कुरा ती महिलाले गरिन्।
‘तपाईंलाई म मेरो घरमा खसी काटेर मासु र भात खुवाउँछु भन्नुभयो, म असाध्यै भावुक भएँ,’ खरेल भन्छन्, ‘मैले आउँछु भनेर बचन दिएको थिएँ, तर जान पाइनँ।’
***
खरेलसँग काठमाडौंको अपराध, क्यासिनो, डिस्को, बारहरूको भोगाइ पहिल्यै थियो।
यसको ‘नेक्सस’ राजनीतिज्ञ, कर्मचारीतन्त्र, प्रहरी, अपराधी र व्यापारीको अत्यन्तै डरलाग्दो थियो। सबै भद्रगोल देख्थे खरेल।
काठमाडौं परिसरमा हाजिर हुन पुगेपछि उनले उपत्यका प्रहरी कार्यालयको हलमा सबै युनिटलाई सामेल गराए।
‘म कसैलाई चाकडी गरेर, रिझाएर आएको हैन, बोलाएर आएको हुँ, कोहीसँग वचन-बन्धन छैन मेरो। पहिला आन्दोलन म्यानेज गर्नुछ,’ खरेलले आफ्नो स्वभावअनुसारकै शैलीमा भने।
‘नेपालीको घर बास बिगार्ने यी क्यासिनो, डिस्को, थेक अपराध, अपराधी र तस्करीसँग पैसा खायौ भने तिमीहरूलाई पाप लाग्छ, सात पुस्ता पिरोल्छ। कुनै पनि हालतमा कम्प्रमाइज नगर्नू,’ खरेलले निर्देशन दिए, ‘म कसैलाई पनि छोड्दिनँ।’
सबै प्रहरी सशंकित भए।
सुरूवातमै उनले हप्ता-महिनावारी असुल्ने काम बन्द गराए।
त्यो ‘ब्रिफिङ’पछि हाकिमहरूसँग सम्बन्ध बिग्रिन थालिहाल्यो। एआइजी-डिआइजीहरू उनलाई देख्नेबित्तिकै रातोपिरो हुन थाले।
‘उनीहरूको त तलबजस्तो महिनावारी खाने बानी थियो। मलाई केही थिएन। शान्ति सुरक्षा कायम गर्ने, पुलिसको मनोबल उच्च बनाउनेबाहेक मेरो अरू केही थिएन,’ खरेल भन्छन्।
खरेलले महिनावारी बन्द गराएपछि क्यासिनोमा ‘रेड’ गर्न थाले।
दरबारमार्गमा रेड गर्दा महाराजगञ्जबाट प्रहरी पठाउँथे। किनभने सम्बन्धित क्षेत्रको प्रहरीले त पहिले महिनावारी खाइरहेको थियो। उनीहरूबाट धोका पनि हुनसक्थ्यो भन्ने खरेलले बुझेका थिए। सोल्टीमा अपरेसन गर्नुपरे जनसेवालाई पठाइदिन्थे।
क्यासिनो पुग्ने नेपाली ल्याएर थुनिहाल्थे। सार्वजनिक मुद्दा लगाउँथे। क्यासिनोको म्यानेजरलाई नै पक्राउ गर्थे।
विस्तारै विस्तारै त प्रहरीहरूले मजाले साथ दिन थाले। ‘म गएको ठाउँमा ९५ प्रतिशत प्रहरीले साथ दिएको देखेको छु, काठमाडौंमा पनि यस्तै भयो,’ खरेलले भने।
खरेलका अनुसार प्रहरीको चरित्र लिडरअनुसार बदलिन्छ। उनीहरूले ‘वाच’ गरिरहेका हुन्छन्। लिडर बलियो छ भने उच्च मनोबलले साथ पनि दिन्छन्। घुस खाने आँट गर्दैनन्।
काठमाडौंका आधा दर्जन बढी क्यासिनो बन्द हुन थाले। खरेललाई पैसाका लागि प्रस्ताव नआएको होइन। उनी त्यसरी आउनेलाई नराम्रोसँग हकार्थे।
‘म बलेजस्ता मानिसहरूको त्यो नेक्सस भत्काउन चाहन्थें, उनीहरूले लाखौं लाख कमाए। नेपाली जनता सडकमा आए। खुवाउने, खाने चलन थियो,’ खरेलले भने, ‘मैले भत्काइदिएँ।’
उनले क्यासिनोबाट सूचना लिनका लागि एक जना वृद्धलाई साथ लिएका थिए। उनी क्यासिनोमा लत बसेका व्यक्ति थिए। नगई नहुने बानी थियो।
काठमाडौंका हरेक क्यासिनोले पनि उनलाई चिन्थे। छिर्न दिन्थे। खरेलले ती वृद्धलाई सूचनाको स्रोत बनाए। ‘कहाँ-कहाँ नेपाली छिरेका छन्, म सूचना लिएर तु छापा मार्न प्रहरी पठाउँथें,’ उनले भने, ‘ल्याएर थुनिहाल्थें।’
क्यासिनोमा तीव्र कारबाही हुन थालेपछि एक जना पूर्वगृहमन्त्रीले उनलाई फोन गरे।
‘खरेलजी हात त हाल्नुभएको छ, तर सक्नुहुन्छ?,’ उनले प्रश्न गरे।
खरेलले भने, ‘सकुञ्जेल गर्छु। तर, म यी अपराधीसँग कम्प्रोमाइजचाहिँ गर्दिनँ।’
बहालवाला मन्त्री, सचिव, प्रहरीका सिनियर हाकिमहरू भने खरेललाई खुलेर भन्न आँट गर्दैनथे।
‘मेरो करिअर हिस्ट्री हेर्थे। उनीहरू बाठा छन्। महिनावारी खाए पनि बाठा छन्। के गरेको रमेश तिमीले चाहिँ भन्थे,’ उनले भने, ‘बाँकी कारबाहीमा यसो-उसो भन्दैनथे।’
काठमाडौंमा उनका नाता पर्ने एक जना डिआइजी थिए।
‘के गरेको खरेल? एक्लो वृहस्पति झुठो हुन्छ,’ उनले भने।
‘मबाट कम्प्रोमाइज हुन दिन्नँ। पाप गर्दिनँ,’ खरेलले जवाफ दिए।
‘कहिलेसम्म टिक्छौ?’
‘जहिलेसम्म टिक्छु, टिक्छु,’ उनले जवाफ दिए।
यसबेलासम्ममा मेट्रोका एआइजीसँग व्यावसायिक सम्बन्ध बिग्रिसकेको थियो।
‘उनीहरूलाई के थाहा थियो भने रमेश खरेल कसैलाई चाकडी गरेर आएको हैन। उसलाई ल्याइएको हो। हलचल गराउन सकिँदैन। जोरी खेल्नु हुँदैन भन्ने थियो,’ खरेल भन्छन्।
प्रहरी महानिरीक्षक रमेश चन्दले पनि खरेललाई केही भनेनन्। यसको मतलब आइजीबाट मलाई साथ छ भन्ने खरेल सम्झिन्थे।
‘अपरेसनमा चाहिँ कहिल्यै हस्तक्षेप गर्नुभएन। कहिलेकाहीँ व्यवहारचाहिँ परिवर्तन गर्नू। धेरै एग्रेसिभ जानु हुँदैन भन्नुहुन्थ्यो,’ खरेलले सम्झिए।
***
खरेल काठमाडौं आएको चार महिना पुग्दैथियो। चाडवाड नजिकिए। दसैं-तिहार आयो, क्यासिनो खुल्न पाएनन्।
खरेललाई चलाउन नसकिने देखिएपछि प्रहरीका हाकिमहरू तिलमिलाउन थाले।
दसैं-तिहारमा क्यासिनो एकदमै चल्थे। सञ्चालकहरूको दौडधुप चलेको थियो: कसरी मिलाउने? कसरी चलाउने?
यहीबेला खरेललाई तालिममा चीन पठाइयो। तालिम २२ दिनको थियो।
खरेल चीन गए। यता काठमाडौंमा हल्ला फैलियो- खरेल अब काठमाडौं परिसर फर्किंदैनन्।
खासमा उनलाई तिहारमा क्यासिनो चलाउनका लागि चीन पठाइएको रहेछ। उनी हुँदा काठमाडौंमा क्यासिनो चलाउन गाह्रो थियो। चीनबाट उतैउतै परिसर नफर्काउने षडयन्त्र बनाइएको रहेछ।
‘यो प्रहरीभित्रकै गिरोह थियो,’ उनले भने।
काठमाडौंमा खरेलको ‘वाहवाही’ थियो। खरेल नफर्किएलान् भन्ने पीर सबभन्दा बढी पत्रकारहरूले गरेछन्। खरेल चीनमा रहेकै बखत उनीहरू प्रधानमन्त्रीकहाँ डेलिगेसन गएछन्।
उनीहरूले भनेछन्, ‘काठमाडौं परिसरबाट रमेश खरेल हटाउन पाइँदैन।’
ठूला-ठूला र व्यावसायिक पत्रकारहरू नै डेलिगेसन आएको देखेर प्रधानमन्त्री माधवकुमार नेपालले खरेललाई नै पठाउने बचन दिएका थिए।
‘कति ठूलो नेक्सस रहेछ त मलाई हटाउन खोज्ने, धन्य, ती पत्रकारहरूलाई म सलाम गर्छु,’ खरेलले भने।
***
परिसर फर्केर काम गरे पनि परिस्थिति उनका लागि अनुकूल रहेन। कहिले कसले, कहिले कसले षडयन्त्रका तानाबाना बनाउँथे। सिनियर प्रहरीहरूसँग सम्बन्ध नै कायम भएन।
तर, जे भए पनि खरेल काठमाडौंमा राम्रो काम गरेकोमा मन्त्रिपरिषद बैठकले धन्यवाद ज्ञापन गरेको छ, मूल्यांकन छ भनेर ढुक्क हुन्थे।
काठमाडौंमा माओवादी आन्दोलन व्यवस्थापनमा राम्रो काम गरेको भनी त्यसबेला सरकारले मन्त्रिपरिषदबाटै काठमाडौं परिसरलाई धन्यवाद ज्ञापन गरेको थियो।
‘मन्त्रिपरिषदले नै धन्यवाद ज्ञापन गरेको जिल्ला प्रहरी कार्यालय कुनै पनि नहोला, मेरो कामको मूल्यांकन त्यस्तो थियो,’ उनले भने।
माओवादी आन्दोलन भड्किएको र प्रतिकार समूह उर्लिन पाएको भए त्यसबेलाको सरकार नै रहन्थ्यो, रहँदैनथ्यो वा परिस्थिति कति भयावह हुन पुग्थ्यो ठेगान थिएन।
खरेल यस्तो बेलामा काठमाडौं आएर क्यासिनोमाथि डन्डा चलाउँदै थिए।
क्यासिनोहरू सरकारलाई रोयल्टीसम्म बुझाउँदैनथे। खरेलकै कारण क्यासिनोमा नेपाली छिर्न बन्द भएको हो।
तर, जब एसएसपीमा बढुवा निस्कियो, रमेश खरेलको नाम छुट्यो।
जुनियर ब्याचकै भए पनि खरेल एसपी बढुवामा अगाडि परेका थिए। त्यसकारण अगाडि बढुवा भएको एसपीले किन बढुवा नपाउने तर्क उनको थियो।
तर, बढुवामा पछाडि एसपी भएकाहरू आएपछि उनले काठमाडौं परिसर छोडिदिए।
‘त्यसबेला त्यो गर्नु जायज थियो/थिएन,’ खरेलले हाँस्दै भने, ‘जे भो ठिकै भयोजस्तो लाग्यो।’
***
खरेलका अनुसार अपराध-अपराधी र राजनीतिको गहिरो सम्बन्ध छ।
यतिसम्म कि दसैं-तिहारजस्ता चाडवाडमा जेलमा भएको अपराधीलाई पनि घर पुर्याइदिने व्यवस्था हुन्थ्यो।
त्यो काम भ्रष्ट प्रहरीले गर्थे।
‘म डिएसपी हुँदाको कुरा हो, दसैं-तिहारमा जेलमा रहेका अपराधीलाई घरमा आनन्दले बस्ने, रमाइलो गर्ने बन्दोबस्त मिलाइन्थ्यो,’ खरेल भन्छन्, ‘अपराधीको संरक्षक प्रहरी भएन त?’
राजनीतिले प्रहरी प्रशासन चलाउने, प्रहरी अपराधीबाट घुस खाएर चाडवाडमा घर बस्ने सुविधा मिलाउने यहाँभन्दा ठूलो अपराधको जालो के होला!
उनी काठमाडौं परिसरमा रहँदाका अनुभव विभिन्न छन्।
खरेलले एउटा साकार पार्न नसकेको ‘भिओआइपी अपरेसन’को घटना स्मरण गरे।
काठमाडौंमा प्रविधियुक्त अपराध प्रारम्भ भएको थियो। प्रहरी सक्रिय भएपछि अन्य अपराधमा संलग्न हुन नपाएपछि प्रविधितिर छिरेको थियो गिरोह।
केन्द्रीय अनुसन्धान ब्युरो भर्खरै गठन भएको थियो। ब्युरोमा राजेन्द्रसिंह भण्डारी डिआइजी थिए। उपत्यकामा भिओआइपी कल बाइपासमा उनले आक्रामक कारबाही सुरू गरे।
यसको असर प्रहरीभित्रै र राजनीतिक तहसम्म परेको थियो।
खरेलले ललितपुर प्रहरीसँग सहकार्य गरेर पाटनमा निगरानी बढाए। सूचना संकलन गर्दै जाँदा काठमाडौं मण्डिखाटारमा एउटा गिरोह फेला पारे।
त्यहाँ कल बाइपास हुन्थ्यो। त्यो नेपाली कांग्रेसका नेताको घर थियो।
‘उहाँ एकदमै पावरफुल नेता हुनुहुन्थ्यो, नामचाहिँ नभनौं,’ खरेलले भने।
ती नेताको घरमा भिओआइपी कल बाइपासको गिरोह बस्थ्यो।
सूचना संकलन र प्रमाण जुटाएपछि खरेल मानसिक रूपमा ‘रेड’ हान्न तयार भए।
उनले सिधै प्रहरी महानिरीक्षक रमेश चन्दलाई भने, ‘सर, जय नेपाल। यहाँ यस्तो छ, आज म रेड गर्छु।’
‘खरेल, नो…नो… नो…। पख, म तिमीलाई खबर गर्छु,’ चन्दले भने।
तर, खरेललाई खबर आएन।
‘पछि सोबारे बुझ्दा सम्बन्धित घरवालालाई भनेर त्यो घरबाट बाइपास गराउने गिरोह हटाइएछ,’ खरेलले भने।
***
खरेल परिसरमै थिए। मेट्रोमा एआइजी परिवर्तन भए।
एक जना ठग, जसलाई खरेलले महिनौंदेखि खोजिरहेका थिए। मेट्रोमा एआइजी फेरिनेबित्तिकै ती ठग बाहिर निस्किए।
उनलाई लागेको रहेछ- मेट्रोको एआइजीले मलाई जोगाउँछ।
तिनै ठग एक दिन महाराजगञ्ज वृत्तमा पुगेछन्। ड्युटीमा रहेका बर्दीधारी प्रहरीलाई कुटपिट गरेछन्।
त्यो खबर खरेलकहाँ आयो। उनले वृत्तका तत्कालीन प्रहरी नायब उपरीक्षक दीपक थापालाई फोन गरे।
‘त्यसलाई थुनेर सार्वजनिक मुद्दा चलाऊ। अपडेट मलाई गराऊ। तिमीले थेग्न सकेनौं भने म हनुमानढोकामा ल्याएर थुन्छु,’ खरेलले निर्देशन दिए।
‘जय नेपाल सर,’ थापाले भने।
मेट्रोका तत्कालीन एआइजीले थापालाई ५१ पटक फोन गरेछन्। छोड्दे… छोड्दे… भनेछन्।
थापा खरेललाई ‘अपडेट’ गराइरहेका थिए।
‘कुनै हालतमा नछोड। परिसरको कमाण्डर म हुँ,’ खरेलले ढाडस दिए।
तर, पनि थापालाई फोन आउन छोडेन।
अनि उनले भनेछन्, ‘खरेल सा’पले नछोड्नु भन्नुभएको छ।’
मेट्रोका एआइजीले खरेललाई फोन गरे। ल्याण्डलाइन नम्बरबाट फोन आयो।
‘रमेश सा’प त्यसलाई छोडिदिन भन्नुस्,’ एआइजीले भने।
‘प्रहरी पिट्नेलाई छोड्ने? म छोड्दिनँ सर,’ खरेलले भने।
‘तपाईं एआइजी कि म एआइजी?,’ एआइजीले प्रश्न गरे।
खरेलले भने, ‘म काठमाडौंको एसपी हुँ। तपाईं एआइजी हो। मलाई लाग्छ, तपाईंलाई एसपी हुने रहर पुगेको छैन।’
एआइजीको फुली फालेर, एसपीको फुली लगाएर मेरो चियरमा आउनुस्। अनि कुरा गरौंला,’ खरेल कड्किए।
एआइजी रिसले चुर भए। ल्याण्डलाइन फोन ड्याङ्ङ राखिदिए।
खरेललाई पारो चढ्यो, एआइजीसँगको कुराकानीबारे आइजीलाई रिपोर्ट गरिदिए।
‘सर, एआइजी सा’पले यसो भन्नुभयो,’ खरेलले सुनाए।
‘कस्ता छन्, सालेहरू, मेरो ब्याचकै यस्ता छन्,’ चन्दले पनि रिसाएको भावमा भने।
चन्द गृहमन्त्रीकहाँ रहेछन्। काठमाडौंको एसपीले फोन गरेको भनेपछि उठाएर बोलेका रहेछन्।
‘उहाँले गृहमन्त्रीलाई रिपोर्ट गर्नुभएछ। मन्त्रालयले सिडिओलाई फोन गरेर घटना के हो वास्तविक बुझ्नुस् भनेर अह्राएछ,’ खरेल भन्छन्।
त्यसपछि सिडिओले अधिकृत र राष्ट्रिय अनुसन्धानका मान्छे महाराजगञ्ज पठाए छन्।
टोलीले महाराजगञ्ज गएर अनुसन्धान गरेछ।
‘खरेलले गरेको काम ठिक छ, भनेर रिपोर्ट दिएछन्। कारबाही गर्नुपर्ने नै केस रहेछ,’ रिपोर्ट दिनेले गृहमन्त्रीलाई भनेछन्।
मन्त्रीले एआइजीलाई बोलाएर गाली गरेछन्, ‘तपाईं प्रहरीलाई पिट्ने मान्छेलाई छोड भन्ने?’
त्यसपछि त खरेलसँग एआइजी तर्किन नै थाले।
***
अर्को एक दिन यस्तो भयो कि खरेल राष्ट्रिय सुरक्षा समितिको बैठकमा थिए। काठमाडौं परिसरको प्रमुखलाई परिषदको मिटिङमा बोलाउने चलन थियो।
सुरक्षा समितिको मिटिङ चलिरहँदा गृहमन्त्रीलाई फोन आयो- गौशाला वृत्तको इन्सपेक्टरलाई तुरुन्तै कारबाही गरियोस्।
गौशालामा प्रहरी निरीक्षक सन्तोषसिंह राठौर थिए। अहिले उनी सर्लाहीको एसपी छन्।
राठौरले सार्वजनिक ठाउँमै एक जना कालोबजारी गर्ने व्यापारीलाई झापड हानिदिएछन्।
पोखरामा खरेलसँग काम गरेका थिए राठौरले। राठौर राम्रा अधिकृत हुन् भनेर खरेलले नै गौशाला वृत्तमा ल्याएका थिए।
‘मिटिङ चलिरहेको थियो, गृहमन्त्रीज्यूले आइजीलाई निर्देशन दिनुभयो, तुरुन्त हटाउनुस्। कारबाही गर्नुस्,’ गृहमन्त्रीले भने।
‘हवस् हजुर,’ आइजीले भने।
तर, खरेल एकछिन् … मेरो केही कुरा छ भनेर हात उठाएर उभिए।
‘उसलाई हटाउनुको सट्टा मलाई हटाउनुस्। त्यो घटनाको जिम्मा म लिन्छु,’ खरेलले भने।
सबै चुपचाप भए।
मिटिङ सकिएपछि खरेल सरासर गौशाला गए। राठौरलाई भेटेर सार्वजनिक ठाउँमा त्यसरी नपिट्न भने। सबैलाई सामेल गराएर सम्झाए।
‘व्यक्तिगत रूपमा मैले उसलाई राम्रो गरिस् भनेर प्रशंसा गरेको थिएँ,’ खरेलले भने, ‘बदमासलाई झापड हान्दा प्रहरीले गल्ती गरेको मानेर कारबाही गर्नू? अनि भोलि कालोबजारीयाले मैले प्रहरी हटाएँ भन्दै छाती फुलाएर हिँड्ने परिस्थिति बनाइदिनू? मैले मसँग काम गरेको बहादुर प्रहरीलाई यसरी संरक्षण गर्थें।’
***
रमेशचन्द ठकुरी सुडान घोटालामा मुछिएपछि आइजीबाट हटे। रवीन्द्रप्रताप शाह आइजी भए।
उनले खरेललाई पर्सामा जिम्मेवारी दिए।
पर्सा जानेबित्तिकै खरेलले पुराना अपराधका फाइल खोतले। काशीराम तिवारी हत्याकाण्डको फाइल खोलेर अनुसन्धान अघि बढाए।
अनुसन्धान अधिकृत डिएसपी थिए- दिवेश लोहनी।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध तत्कालीन माओवादीले आह्वान गरेको अनिश्चितकालीन आमहड्ताल जारी थियो। २०६७ साल वैशाख १८ बाट सुरू हड्ताल २३ गतेसम्म पुग्दा धेरै जिल्लामा प्रतिकार सुरू भइसकेको थियो।
त्यसैदिन वीरगञ्ज एकाएक चर्चामा आयो। हिन्दु यूवा संघका कार्यकर्ताले वैशाख २३ गते बिहान माओवादी आमहड्ताल प्रतिकार गरेपछि वीरगञ्ज तातेको थियो। माओवादीको प्रदर्शनस्थल घन्टाघर घेरेर संघका कार्यकर्ताले आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्यो। त्यसक्रममा प्रभु साहसहित ६४ माओवादी कार्यकर्ता घाइते भएका थिए।
माओवादीविरूद्ध प्रतिकार गर्ने समूहको नेतृत्व गरेका थिए, तिवारीले। माओवादी प्रदर्शनमा प्रतिकार गरेको दुई महिना नपुग्दै २०६७ असार १२ गते उनै तिवारीको गोली हानी हत्या गरिएको थियो। माओवादीविरुद्ध प्रतिकारमा उत्रिँदा निशानामा पारिएकामध्येबाट तिवारीको हत्या गरिएको थियो।
असार १४ गते काशीरामकी श्रीमती बबिताले छ जनाको नाम किटान गर्दै जाहेरी दिइन्। पर्सा जगन्नाथपुर–२ का जालिम मियाँ र बारा साबिक प्रस्टोका गाविसका बृजकिशोर कुसवाह, रौतहट जमुनिया-८ का फिरोज भन्ने सियाराम कुसवाह, वीरगन्जका मुकेश सर्राफ, पर्सा रामगढवाका सुरेश पटेल र भेडियारीका बलिराम साहको नाम जाहेरीमा थियो। प्रहरीले जालिम र वृजकिशोरलाई पक्राउ गरे पनि हत्यामा संलग्नताबारे तथ्य फेला नपरेपछि उनीहरूलाई जमानीमा छोडेको थियो। तत्कालीन अवस्थामा अनुसन्धान यतिमै रोकिएको थियो।
२०६८ जेठमा खरेल पर्सा प्रहरी प्रमुख बनेर गएपछि काशीराम तिवारी हत्या मुद्दा ब्यूँतियो।
रोहित भनिने अमन कुशवाहको नाम तिवारी हत्यामा जोडिएपछि २०६८ भदौमा प्रहरीले उनलाई पक्रियो। बयानमा अमनले तत्कालीन मन्त्री प्रभु साह र उनका स्वकीय सचिव सियाराम कुशवाहललाई पोले। उनीहरू दुबैसँग बसेर बनाएको योजनाअनुसार दुई लाख रुपैयाँ नगद सम्झौतामा आफूले बाइक चलाएको र पछाडि बसेका सियारामले तिवारीलाई तीन गोली हानेको बयान कुशवाहले दिए।
त्यसैलाई आधार मानेर तिनै जनाविरुद्ध प्रहरीले अभियोगपत्र तयार पार्दा बहालवाला मन्त्री साह हत्यामा तानिए। हत्यामा नाम आएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो।
‘बहालवाला मन्त्रीको नाम बिनाआधार राख्न हामीलाई बहुला कुकुरले टोकेको थिएन,’ खरेल भन्छन्, ‘तर, हामीले गरेको मेहनत खेर गयो।’
प्रधानमन्त्री बाबुराम भट्टराईले आइजिपी शाह र खरेललाई बालुवाटारमै बोलाएर साहको नाम हटाउन अनुरोध गरेका थिए। तर, आइजिपी शाहले ‘यो केस अब रमेश खरेलको हातमा छैन’ भनेपछि मुद्दा अभियोजनकर्ता सरकारी वकिलकहाँ भट्टराईले दबाब छेडे।
भट्टराईको दबाबमा अभियुक्त किटान गरिएकामध्येबाट साहको नाम सरकारी वकिलको कार्यालयले हटाइएको थियो। जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साले साहको नाम झिकेर उक्त मुद्दाको फाइल अदालतमा पेश गरेको थियो।
साहमाथि तिवारी हत्याको अभियोग लागेपछि उनकै मन्त्रालयका एक सह–सचिवले पैसा दिएर मुद्दा सामसुम पार्न खोजेको पीडित परिवारले पत्रकार सम्मेलनै गरेर बताएका थिए। भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सह–सचिव नगेन्द्र झाले आफूलाई नगद ८ लाख रुपैयाँ दिएर ‘हत्यारा चिन्दिनँ’ भन्न लगाएको काशीकी पत्नी बबिता तिवारीले बताएकी थिइन्। तिवारीको हत्या हुँदा झा पर्सामा प्रमुख जिल्ला अधिकारी थिए।
***
खरेल पर्सामा रहँदै एसएसपी बढुवामा नाम निस्कियो।
चुनावी सरकार गठन भएको थियो। उपेन्द्रकान्त अर्याल भर्खर प्रहरी महानिरीक्षक नियुक्त भएका थिए।
भर्खरै आइजी नियुक्ति भएका अर्याल आफ्नो कार्यकालमा प्रहरीमा केही सुधार होस् भन्ने चाहन्थे।
तर, काठमाडौंको प्रहरी नेतृत्व दर्बिलो देखेनन्। यसबेला उनले खरेललाई सम्झे। खरेललाई उनी अत्याधिक मन पराउँथे।
एक दिन खरेललाई भेट्न बोलाए।
‘रमेश, म आइजी भएको फिल नै भएन,’ अर्यालले भने।
‘कम्तीमा आइजी भएपछि तरंग आओस्, कानुनी राज्यको स्थापना होस्, अपराधीहरू भागुन् न,’ उनले भने।
‘एक पटक गइसकेको ठाउँमा म जान्नँ सर,’ खरेलले भने।
खरेलले पहिलो पटकको प्रस्ताव अस्वीकार गरेपछि पनि अर्यालले जोड गरिरहे। दोस्रो पटक अनुरोध गरे। खरेलले जान तयार भएनन्।
तेस्रो पटक पनि भनेपछि खरेल जान राजी भए। माया गर्ने स्वभाव भएको आइजीले तीन पटक अनुरोध गरेपछि आफू काठमाडौं परिसर जान तयार भएको खरेल बताउँछन्।
अर्याल सबैतिर मिलाएर हिँड्न सक्ने खुबी भएका, खरेल जताततै भत्काउने। उनी कसैले भनेको मान्दैनथे।
खरेल आइजीको अनुरोधमा एसएसपीको रुपमा दोस्रोपटक काठमाडौं गएरै छोडे।
खरेल काठमाडौं गएको सात दिनमै अर्यालले भने, ‘रमेश, तिमीले टेन्सन दियौ यार!’
खरेललाई नराम्रो लाग्यो। ‘मलाई उहाँले प्रोटेक्ट गर्न सक्नुहुन्न भन्ने त्यहीबेला लागेको थियो,’ खरेलले भने।
खरेल काठमाडौंमा दोस्रो पटक गएपछि तिनै क्यासिनोहरूमा बढी ‘रेकी’ गर्न थाले। क्यासिनो चलाउनेहरू त भेट्नै गए। उनीहरूको मनोबल निकै बढेको रहेछ।
२०६७ सालमा एक पटक थुनेका ‘बले’ खरेललाई भेट्नै पुगे। ‘बले’ भेट्न आएको थाहा पाउनेबित्तिकै खरेलले ढोकामा बस्ने प्रहरीलाई अह्राए, ‘लकअपमा थुनिदेउ।’
‘बले’ भेट्न गएकै निहुँमा खरेलबाट थुनिए।
‘मभन्दा अगाडि यसरी क्यासिनो चलाउने, अपराधी, मिटरब्याजी भेट्न जाँदा अरूले थुनिदिएको भए बलेहरू अर्बपति हुन्थेनन् होला,’ खरेल भन्छन्, ‘पैसा खाएर, महिनावारी चलाएर बलेहरू जन्माइयो।’
अर्यालको बुझाइ थियो, काठमाडौंमा आक्रामक पुलिसिङ सुरू भएपछि त्यसको असर ७५ जिल्लामै पर्छ। अरूले पनि खरेल पुलिसिङ सिक्लान्।
खरेल भने बालकृष्ण ढुंगेललाई पक्रन लागे। जतिबेला राज्य संयन्त्रलाई ढुंगेल लुकाएको आरोप लागिरहेको थियो।
‘सर, म ढुंगेललाई समातेरै छोड्छु,’ अर्यालकहाँ प्रस्ताव राखे।
‘रमेश, नगर, नगर। आगोको भुंग्रोमा हात नहाल,’ अर्याल भन्थे।
अर्याल आफू त आइजी भए। उनका ब्याचीहरू डिआइजी नै थिए। उनीहरूलाई सम्मानजनक र न्यायोचित तरिकाले बढुवा गर्नुपर्ने चुनौती थियो।
एक दिन खरेललाई भेट्न बोलाएर सोधे- रमेश, तिमी आइजी भएको भए कस-कसलाई बढुवा दिन्थ्यौ?
अर्यालले किन यसो भने उनै जानुन्। तर, खरेलले खरर्र भने, ‘राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, यादव अधिकारी, सुशीलवरसिंह थापा…।’
अर्यालले मुन्टो मात्र हल्लाए। खरेलले भने, ‘खुट्टा नकमाउनुस्, बरू तपाईंको आइजी पद जाओस्।’
तर, पछि बढुवा हुँदा भण्डारी, शाह र शर्माको नाम क्रमश: आयो। अरू आएनन्।
‘उहाँले दबाब थेग्न सक्नुभएन होला, व्यापारी बिचौलियाको सिफारिसका मान्छे बढुवामा आए,’ खरेलले भने।
अर्याल भन्थे, ‘रमेश, आफ्नो स्वार्थका लागि कोरीको पनि पाउ मोल्नुपर्छ।’
खरेल जवाफ दिन्थे, ‘तपाईं मोल्नुस्, म मोल्दिनँ।’
***
काठमाडौं प्रहरीमा खरेल दोस्रो पटक पुगेको चार महिना मात्रै पुग्दैथियो।
एक दिन पुलिस क्लबमा कार्यक्रम राखिएको थियो। भ्रष्टाचारविरोधी कार्यक्रम थियो।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे प्रमुख अतिथि थिए। भ्रष्टाचारविरूद्ध प्रखर खरेललाई पनि निम्ता थियो।
एआइजी बढुवाको रस्साकस्सी टुंगिएकै थिएन। बिचौलियाहरू ब्रिफकेश लिएर शक्तिकेन्द्र धाइरहेको सूचना पाएका खरेलले त्यो कार्यक्रममा मन्त्रीलाई हेर्दै भाषण गरे, ‘अहिले एआइजी बढुवाका लागि ब्रिफकेश बोकेर शक्तिकेन्द्र धाउने काम भइरहेको छ, तपाईंकहाँ पनि आउलान्, मन्त्रीज्यू भ्रष्टचारीलाई प्रोमोसन नदिनूस्।’
गृहमन्त्री वामदेव गौतम थिए। खरेलसँग पहिलेदेखि हार्दिक सम्बन्ध नभएका गौतम खरेललाई काठमाडौं प्रहरीबाट जसरी पनि हटाउन चाहन्थे।
खरेलले यस्तो बोलेपछि त आइजी अर्याललाई गौतमले भने, ‘पुलिसको युनिफर्म लगाएर यस्तो बोल्न पाइन्छ?’
खरेललाई तुरुन्तै कारबाही गर्नुपर्ने दबाब गौतमको थियो। अर्यालले खरेललाई निवास बोलाए।
‘रमेश, तिमीले मलाई कति टेन्सन दिएको, अझ बढी टेन्सन दिने?,’ अर्याल रून थाले।
‘भेट्न बोलाएर आइजीसा’प रोएपछि म पनि सँगसँगै रोएँ,’ खरेलले भने।
यसपछि त खरेलमाथि प्रहरी अधिकारीहरू नै कारबाही गर्न दबाब दिन थाले।
विज्ञानराज शर्माको नेतृत्वमा छानविन समिति गठन भयो। जसै खरेललाई कारबाही केही नभए पनि काठमाडौं परिसरको प्रमुखको जिम्मेवारीबाट हटाइयो।
खरेललाई कारबाही गर्नुपर्ने जोड गर्नेमध्ये गणेश राई पनि थिए।
सिनियर अफिसरहरूको मिटिङमा उनले भनेका थिए, ‘रमेश खरेललाई कारबाही गर्नुपर्छ।’
राजेन्द्रसिंह भण्डारीले किन कारबाही गर्ने? उसले ठिकै त भनेको हो भन्दै प्रतिवाद गरे।
पछि एआइजी बढुवा हुँदा राईको नाम छुट्यो।
त्यसपछि उनी भन्न थाले, ‘रमेश खरेलले ठिकै भनेको रहेछ।’
***
‘बले’लाई अर्बपति बनाउनमा प्रहरीको भूमिका रहेको खरेलको बुझाइ छ।
अहिले प्रहरीहरू कसै न कसैको बन्धन र दायित्व लिएर पोस्टिङमा जान्छन्।
खरेल काठमाडौंमा पहिलोपटक भएका बखत काठमाडौंको एसपी निकै पावरफुल ठानिन्थे।
मन्त्री, प्रधानमन्त्रीसँग ठूलै मिटिङ भइरहेको छ भने आइजीले काठमाडौंको एसपीको फोन आयो भने कुरा बन्द हुन्थे। दुई मिनेटमा प्रधानमन्त्रीलाई भेट्न पाइन्थ्यो।
‘अहिले १० ठाउँमा धाएर जाने चलन छ। त्यसबाट के अपेक्षा गर्ने?,’ खरेलको बुझाइ छ।
अहिले सबैले पैसा खुवाएरै पोस्टिङमा जान्छन् भन्न सकिँदैन। तर, काठमाडौंमा ठूला-ठूला ठग छन्। नवराजकुमार बनेका छन्। ठूला मुद्दामा दलाली गरिरहेका हुन्छन्। पैसाको चलखेल भइरहेको हुन्छ।
‘तर, प्रहरीले ठूला अपराधीलाई सक्दैनन्। पहिले वृत्तहरूमा काठमाडौंको चिफले भनेका मान्छे आउँथे। अहिले आइजीले पनि पठाउन गाह्रो हुन्छ। त्यस्तो भएपछि पुलिसिङ कसरी राम्रो हुन्छ?,’ खरेल भन्छन्।
खरेलका अनुसार इमानदार सरकार भयो भने त्यसको असर तल पनि पर्दै जान्छ। सरकार ठूला-ठूला नीतिगत भ्रष्टाचारमा डुबेको बेला काठमाडौंमा बल्लतल्ल गएको मान्छले पनि सम्झिन्छ- यही हो मौका।
नियत नै नभए पनि मानसिकता मैले चाहिँ किन नगर्ने भन्ने हुन जान्छ। त्यसले अन्ततोगत्वा प्रहरीको कामकारबाहीमा असर पर्ने खरेल बताउँछन्।
‘नेपालमा संस्थागत रूपले अपराध, अपराधी, तस्करको संरक्षण भइरहेको छ, हामीले ब्रेक गर्न सकेनौं भने देश कुन भिरालोमा पुग्छ, हामी कहाँ जाकिन्छौ थाहा छैन,’ खरेल भन्छन्, ‘दर्जनौं ‘बले’हरूको जन्म हुन्छ।’
यो पनि हेर्नुहोस्
गुण्डा नाइके ‘बले’सँग एक अर्बको अवैध सम्पत्ति